पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयन लगायत दर्जनौ बजार सुधारका कार्यक्रम संचालन गरिरहेको सन्दर्भ जोड्दै देशको समष्टिगत आर्थिक अवस्था तथा पछिल्लो समयमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
बोर्डका प्रवक्ताले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै धितोपत्र खरीदबिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको अवस्थाका बारेमा आधारभूत र प्राविधिक विश्लेषणसहित आवश्यक जानकारी लिन र हल्लाको पछाडि नदौडन समेत आग्रह गरेका हुन् ।
नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली कात्तिक २० गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिरहेका बेला बोर्डको यस्तो विज्ञप्ति आएको हो ।
धितोपत्र बोर्डले पूँजीबजारमा पछिल्लो समय अन्यौलको रुपमा रहेको भ्याटको समस्यालाई समधान गरिएकोे, पूँजीबजारमा उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न नीतिगत रुपमा ५० करोड रुपैयाँ वा सो भन्दा बढि चुक्ता पूँजी भएको प्राइभेट कम्पनीलाई पब्लिकमा जान प्रोत्साहन गर्न ३ वर्षको लागि आयकरमा १० प्रतिशत छुटदिने व्यवस्था गरिएको लगायतका बिषय उल्लेख गरेको छ ।
यस्तै १ अर्ब वा त्यस भन्दा बढि पूँजी भएका कम्पनीहरुलाई पब्लिकमा रुपान्तरण भई पूँजी बजारमा सुचिकृत हुनुपर्ने व्यवस्था गरी बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको धितोपत्र बजारमा क्षेत्रगत जोखिमलाई कम गर्ने प्रयास गरिएको समेत बताएको छ ।
धितोपत्र शुल्कमा कटौती गरी लगानीकर्ता मैत्री बनाई बैकल्पिक लगानी कोषको नियमावली मार्फत प्राईभेट इक्युटी, भेन्चर फण्ड र हेज फण्ड प्रबेश गराई कम्पनीहरुलाई चाहिने दिर्घकालीन कोषको व्यवस्था गर्न लागिएको छ । यसका साथै निकट भविष्यमा धितोपत्रको दोस्रो बजार कारोबार पुर्णरुपमा अनलाइन मार्फत गर्ने व्यवस्था गर्न लागिएको छ ।
यसरी नेपाल सरकार र बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको, देशको समष्टिगत आर्थिक अवस्था तथा पछिल्लो समयमा सुचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक नै देखिन्छ । बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।