एभरेष्ट इन्स्योरेन्सको साधारण र संस्थापक शेयर उस्तै हो ? मूल्य समायोजन रद्ध हुने संकेत

Nov 15, 2018 Merolagani

नेपालको शेयर बजारमा पहिलो पटक एभरेष्ट इन्स्योरेन्स (EIC) को संस्थापक शेयर बिक्रीमा आउन लाग्दा संस्थापक र साधारण शेयरको विवाद चुलिएको छ। बुधबार १०५ प्रतिशत संस्थापक हकप्रदलाई साधारण शेयर मूल्यमा समायोजन गरेपछि बजारमा नयाँ तरङ्ग पैदा गरेको हो ।

बुधबार नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक हकप्रदलाई साधारण शेयरमा समायोजन गरिएको थियो ।

पहिलो पटक भएको यस्तो समायोजनले एक थरी लगानीकर्ता समस्यामा परेका छन् भने अर्का थरीलाई सस्तोमा शेयर किन्ने मौका मिलेको छ ।

तर अब निष्काशन हुने संस्थापक हकप्रद शेयर साधारण शेयरको मूल्यमा समायोजन भएपछि संस्थापक शेयरको हैसियत के हुने भन्ने बहस सुरु भएको छ। साधारण शेयरमा संस्थापक हकप्रदलाई समायोजन गरिएबाट बुझ्न सकिने कुरा यो हो कि इन्स्योरेन्सको संस्थापक शेयरको पनि दोस्रो बजारमा साधारण शेयर सरह कारोबार हुन्छ, त्यो पनि साधारण शेयरकै मूल्यमा कारोबार खुलेर ।

मंगलबार एभरेष्ट इन्स्योरेन्स खरिद गरेकाहरुले १०५ प्रतिशत संस्थापक हकप्रद शेयरको मूल्य समायोजन भएपछि ठूलो रकम गुमाएका छन् । शेयरमूल्य समायोजनका क्रममा नै साधारण शेयरको मूल्य धेरै तल आएको छ ।

मूल्य समायोजन पश्चात पनि बुधबार मूल्य समायोजनको अन्यौलताकै कारण तिब्र गतिमा इन्स्योरेन्सको शेयरमूल्य तल झरेको थियो । जसका कारण मंगलबारसम्म इन्स्योरेन्सको शेयर धारण गरेकाहरुले ठूलो नोक्सानी व्यहोरेका छन् ।

तर समस्या र वास्तविकतालाई आँकलन गर्नेहरुले मौकाको रुपमा सदुपयोग गर्दै बिहीबार एभरेष्टको शेयर मूल्यमा सर्किट लगाएका छन् । १० प्रतिशतले शेयर मूल्य बढेको छ भने संस्थापक शेयरमा आवेदन गर्नुपर्ने लगानीकर्ताहरु टाउकोमा हात लगाएर बसिरहेका छन् ।

यही सन्दर्भमा बिहीबार लगानीकर्ताको टोली नेप्से पुगेर मूल्य समायोजन त्रुटीपूर्ण रहेको भन्दै ध्यानाकर्षण गराएको छ। पहिलो विषय साधारण शेयर मात्र भएको कम्पनीमा संस्थापकको विषयलाई किन जबरजस्ती गराइयो भन्ने प्रश्न उठाउँदै बजारमा संस्थापक शेयरको हैसियत के हुने भन्ने विषय सार्वजनिक गर्न लगानीकर्ताहरुले नेप्सेको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा नेप्सेले संस्थापक शेयर सूचीकरण भए पश्चात साधारण शेयरको मूल्यको ५० प्रतिशत मूल्यमा संस्थापक शेयरको कारोबार गराउने जवाफ दिएको छ । मेरोलगानीसँग कुरा गर्दै नेपाल इन्भेष्टर्ष फोरमका कोषध्यक्ष अञ्जिब तुलाधरले नेप्सेको भनाईले मंगलबारसम्म कम्पनीको शेयर धारण गरेकाहरु दोहोरो मारमा परेको बताए ।

यस सम्बन्धमा पुनरबिचार गरी मूल्य समायोजन प्रकृयाको त्रुटी हटाउन लगानीकर्ताले गरेको मागमा नेप्सेले कम्पनीबाट समस्याको कथन सहितको पत्र लिएर आउन भनेको तुलाधरले बताए ।

उनका अनुसार कम्पनीले अहिलेको मूल्य समायोजनबाट समस्या भएको पत्र आएको खण्डमा नेप्सेले साधारण शेयर मूल्यको समायोजन रद्ध गरी समायोजन हुनु पहिलोको मूल्यमा नै कारोबार सुचारु गराउने छ ।

नेप्सेको भनाई अनुसारको कागजात लिनका लागि अहिले लगानीकर्ताको टोली हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्सको कार्यालय पुगेको छ ।

एभरेष्ट इन्स्योरेन्सले यस अघि नै नेप्सेलाई साधारण शेयरमा संस्थापक हकप्रदको मूल्य समायोजन नगर्न आग्रह गरिसकेको थियो । मेरोलगानीसँगको कुराकानीमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद गौतमले मूल्य समायोजन प्रकृया गलत भएकाले आफ्नो कम्पनीका लगानीकर्ता समस्यामा परेको भन्दै यसमा पुनरबिचारका लागि नेप्सेसँग आग्रह गरेका छन् ।

त्रुटीपूर्ण मूल्य समायोजन र यस पछिका घटनात्रमले एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार स्थगन भई पछिल्ला २ दिनमा भएको शेयर कारोबार रद्ध हुने सम्भावना बढेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।