चालू आर्थिक वर्षको प्रथम त्रैमासमा अवधिमा पूँजी वृद्धि भएको रकमलार्इ अधिकतम सदुपयोग गर्दै वाणिज्य बैंकहरुले कर्जा लगानी तथा विस्तार गरेर ब्याज आम्दानीमा बढाउँदा प्रतिशेयर आम्दानी सुधार भएकाे छ ।
समिक्षा अवधिमा निक्षेप भन्दा कर्जा लगानीमा अधिकांश बैंक केन्द्रीत बनेपछि एक दर्जन वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशत हाराहारीमा पुगेको छ । उनीहरुले थप पूँजी संकलन नगरि कर्जा विस्तार गर्न सक्ने अवस्था छैन ।
एकातिर बैंकहरुले आफ्नो खुद नाफा बढाएपछि शेयरधनीलाई वितरण गर्ने लाभांश क्षमतामा विस्तार भएको छ भने अर्कोतिर निक्षेपको ब्याजदरमा सहमति गर्ने वाणिज्य बैंकहरुले ऋणीसँग चर्को कर्जाको व्याजदर असुली गरेर नाफा वृद्धि गरेको आरोप पनि बैंकहरुलाई सँगसँगै लाग्ने गरेको छ ।
चालू आर्थिक वर्षको प्रथम त्रैमासमा २८ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंकले आफ्नो प्रतिशेयर आम्दानी २.७६ गुणा अर्थात १७५ प्रतिशतले बढाएको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ १५ पैसा कायम भएको छ । अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा १३ रुपैयाँ ८४ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३१ पैसाले बढेको हो ।
* प्राविधिक त्रुटीवश राष्ट्रिय वाणिज्य बैंककाे प्रतिशेयर अाम्दानी त्रैमासिक मात्र उल्लेख हुन पुगेकाे छ ।बैंककाे वार्षिक इपिइस ४९ रूपैयाँ ७२ पैसा हुन अाउँछ ।
कुमारी र मेगा बैंकले पनि आफ्नो प्रतिशेयर आम्दानी दोब्बर बढी अर्थात एक सय प्रतिशत भन्दा धेरै बढाएका छन् । नेपाल बंगालादेश, एनसीसी, जनता, कृषि विकास, सनराइज, बैंक अफ काठमाण्डू, सानिमा र राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी पनि ५० प्रतिशत बढीले वृद्धि भएको छ ।
स्टाण्डर्ड चार्टड बैंकको प्रतिशेयर आम्दानी सबैभनद्या धेरै अर्थात ३६.६२ प्रतिशतले घटेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले प्रतिशेयर आम्दानी गत वर्ष वितरण गरेको शतप्रतिशत बोनसअघि गणना गरिएको थियो । सोही कारण चालू आर्थिक वर्षको प्रथम त्रैमासमा गत वर्ष यसै अवधिको तुलनामा ठूलो अन्तरले इपिएस घटेको देखिएको हो । यद्यपी बैंकको प्रतिशेयर आम्दानी भने ३१ रुपैयाँ ६६ पैसा रहेको छ ।
सिभिल, नेपाल बैंक, एनएमबि बैंक र नेपाल एसबिआई बैंकको पनि गत वर्ष यसै अवधिको तुलनामा चालू आर्थिक वर्षको प्रथम त्रैमासमा इपिएसमा ह्रास आएको छ ।
वितरण योग्य नाफा (फ्रि प्रोफिट) मा इन्भेष्टमेन्ट बैंक लिडर
एनएफआरएस रिर्पोट अनुसार वाणिज्य बैंकले आर्जन गरेको खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात बाँकी रहेको नाफालाई वितरणयोग्य नाफा भनिन्छ ।
चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा २७ वाणिज्य बैंकलाई पछाडि छाडेर नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब पाँच करोड वितरण योग्य नाफा (फ्रि प्रोफिट) कमाएको छ ।
इन्भेष्टमेन्ट बैंकभन्दा धेरै नाफा आर्जन गरेका राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको भने राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा व्यवस्था गनुृपर्ने रकम उच्च हुँदा लाभांश क्षमतामा संकुचन आएको छ ।
नबिलको ९३ करोड र राष्ट्रिय वाणिज्य बैंकको ७२ करोड बढीको लाभांश क्षमता कायम भएको छ । नेपाल बैंकले पनि करिब ९८ करोडको लाभांश क्षमता छ ।
चालू आवको प्रथम त्रैमासमा प्रभु बैंकको ६४ करोड, एनआइसी एशिया ६१ करोड र ग्लोबल आइएमईको ५१ करोड बढीको लाभांश क्षमता बनेको छ । सेञ्चुरीको सबैभन्दा कम २० करोडको लाभांश क्षमता छ । नेपाल एसबिअार्इ बैंक र एभरेष्ट बैंककाे लाभांश क्षमता गत अावकाे प्रथम त्रैमासभन्दा घटेकाे छ ।
नेपाल बंगालदेश, मेगा, सिभिल, लक्ष्मी, जनता, सनराइज, नेपाल एसबिआई, र नेपाल क्रेडिट एण्ड कर्मस बैंकको पनि लाभांश क्षमता पनि ३० करोडभन्दा कम रहेको छ ।
जनता बैंकको लाभांश क्षमता उच्च बढ्यो
गत वर्ष यसै अवधिको तुलनामा चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जनता बैंकको लाभांश क्षमता सबैभन्दा धेरै बढेको छ । गत आवको प्रथम त्रैमासमा ६ करोड ४८ लाख रुपैयाँमात्र रहेको बैंकको लाभांश क्षमता करिब चार गुणा अर्थात २९५ प्रतिशत बढेर २५ करोड ६० लाख पुगेको छ ।
जनता बैंकका यो लाभांश क्षमता अन्य ४ वाणिज्य बैंकहरु नेपाल बंगालदेश, मेगा, सिभिल, र लक्ष्मी बैंकको भन्दा बढी हो ।
सिभिल, एनआईसी एशिया, सिद्धार्थ, कुमारी, प्रभु, र मेगा, बैंकले पनि आफ्नो लाभांश क्षमता १०१ प्रतिशतदेखि १८८ प्रतिशतसम्मले विस्तार गरेका छन् ।
राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।