पाँच अर्ब ७७ करोड विगो र जरिवाना माग गर्दै १८ जनाविरुद्ध मुद्धा

Dec 11, 2018 Merolagani

विदेशी मुद्रा अपचलन,राजश्व छली र हुण्डी काराेबारकाे अाराेप

नवीन ढुङ्गाना । राजश्व चुहावटमा संलग्न १८ जनालाई कैद र ५ अर्ब ७७ करोड विगो जरिवाना मागसहित राजश्व अनुसन्धान विभागले मुद्धा दायर गरेको छ ।

राजश्व अनुसन्धान विभाग हरिहर भवनले भिन्दा भिन्दै घटना र आरोपमा संलग्न केही सरकारी अधिकारीसहित व्यापारीक फर्महरुलाई देशका जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।                                                    

लामो अनुसन्धान पछि विभागले राजश्वछली, विदेशी मुद्रा अपचलन, सुन तस्करी तथा राजश्वछलीको मतियार बनेको आरोपमा उनीहरु विरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

 राजश्व छलेर करोडौंको सामानको भन्सार पास

राजश्व अनुसन्धान विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा टिमुरेका भन्सार अधिकृतसहित ६ जनाविरुद्ध राजश्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।

नेपाल चीन सीमा नाका रसुवाको टिमुरे भन्सार कार्यालयका तत्कालिन भन्सार अधिकृत पवित्रकुमार खड्का र भन्सार जाँचकी धिरजकुमार थापाको मिलोमतोमा आयातित सामानको परिणाम कम षणा गरेर राजस्वछलीमा सघाएको विभागले जनाएको छ ।

सोही प्रकरणका माल सामान पैठारीकर्ता मितेरी इन्टरनेशनलका सुमन श्रेष्ठ, उनका सहयोगी रन्जन त्रिपाठी, पैठारीमा संलग्न सवारी धनी धनबहादुर तामाङ र चालक डम्बरबहादुर श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

उनीहरुबाट ७५ करोड ५९ लाख बराबरको विगो माग दावी तथा जनही ३ वर्ष कैद सजाय दावी गरिएको विभागले जनाएको छ ।

मलेसियामा नेपालीले कमाएको पैसा भारत हुंदै जनकपुर

विदेशी र नेपाली मुद्रा अपचलन गरेर हुण्डी कारोबार गरी राज्यलाई नोक्सान पुर्याएको आरोपमा पाँच जना विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्धा दायर गरेको छ । 

मनिट्रान्फरको आडमा जनकपुर क्षेत्रमा हुण्डी व्यवसायमा संलग्न अरुण कुमार दास, रोशन कुमार महरा, विष्णुदेव राउत, महादेव राउत र विन्देश्र्वर राउत विरुद्ध धनुषा जिल्ला अदालत जनकपुरमा मुद्धा दायर भएको विभागले सोमबार जनाएको छ ।

आरोपीत पाँच जनालाई जनही ३ वर्ष कैद र ४१ करोड ३२ लाख ९८ हजार ९२४ रुपैयाँ जरीवाना माग गर्दै मुद्धा दायर गरिएको विभागले जनाएको छ । आरोपीत मध्ये अरुण कुमार दासको हकमा १३ करोड ७७ लाख ६६ हजार ३०८ रुपैयाँ विगो समेत कायम गरिएको छ ।

अरोपीतहरुबाट सजाय र विगो गरी कुल २ अर्ब २० करोड ४२ लाख ६० हजार ९२८ रुपैयाँ माग दावी गर्दै मुद्धा दायर भएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपालीले कमाएको पैसा अवैध बाटो भएर नेपाल आउने सुराकी पछि प्रहरीले धनुषामा विशेष अप्रेशन थालेको थियो ।

फलतः २०७४ जेठ पहिलो साता ५५ लाख नगदसहित धनुषाका विभिन्न स्थानबाट ५ जना पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा हुण्डी कारोबारका मुख्य नाइके विष्णुदेव रावत रहेको खुलेको थियो । उनी महिनामा दुई पटक मलेसिया आउने जाने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो ।

मलेसियामा इम्पेक्स नाम गरेको संस्था स्थापना गरेर रावतले नेपाली कामदारको रकम जम्मा गर्ने काम गर्ने गरेको धनुषा प्रहरीले जनाएको छ । विष्णुदेवले मलेसियामा जम्मा गरेको पैसा र विवरण भाइवर र म्यासेन्जरमा आफ्ना भाई विन्देश्वर राउतलाई पठाउने गर्दथे ।

धनुषाको सबैलामा मनिट्रन्फर खोलेर बसेका विन्देश्वरले विभिन्न व्यक्तिमार्फत दाजुबाट प्राप्त अवैध रकम वितरण गर्दै आएका थिए । उनीहरु विरुद्ध कार्तिक २९ गते धनुषा जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो ।

पन्ध्र किलो सुन तस्करी

गोरखा र रसुवा जिल्लाका विभिन्न नाका भएर सुन तस्करी गरेको अभियोगमा विभागले ३ जना विरुद्ध सम्बन्धीत जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । गोरखाको चुमनुब्री ३ फिलिमबाट बरामद १० किलो ७७६.१  लाल सुन र पैठारीकर्ता गोरखा छेकम्बार ७ का छिरिङ्ग ङटुप र लोप्साङ्ग तेन्गे लामामाथी विभागले गोरखा जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

गोरखा छेकम्बार ७ का उनीहरु माथि सुन चोरी पैठारी गरी राजश्वछली गरेको तथा विदेशी विनिमय अपचलनको कसुरमा ५४ करोड २७ लाख ५७ हजार १०५ रुपैयाँ विगो तथा जरिवाना माग दावी गरिएको विभागले जनाएको छ ।

उनीहरुले तस्करी गरेको सुनको बजार मूल्य ४ करोड ९३ लाख ४१ हजार ५५५ रुपैयाँ बराबरको भएको विभागले उल्लेख गरेको छ । उनीहरुमाथि कात्तिक २७ गते मुद्धा दायर भएको थियो । यस्तै ५ किलो सुन सहित काठमाडौं र नुवाकोटको सिमानामा पक्राउ परेका परेका रसुवाका २० वर्षीय किशोर बहादुर तामाङ्ग विरुद्ध पनि मुद्धा दर्ता भएको छ ।

पचास हजार पाउने आसमा चीनबाट रसुवा हुंदै काठमाडौं भित्रिएको सुनको भरिया बनेका उनीमाथि विभागले सुन तस्करी गरेर राजश्व छलेको र विदेशी विनिमय अपचलन गरेको आरोपमा मुद्धा दायर गरेको हो ।

दुवै कसुरको दावी गर्दै विभागले तामाङ्गसंग विगो र जरिवानासमेत गरेर १२ करोड ४५ लाख २५ हजार रुपैयाँ  र ३ वर्ष राजश्वछली तथा ३ वर्ष विदेशी विनिमय अपचलन आरोपमा ६ वर्ष कैद सजाय माग गरेको छ । उनी विरुद्ध पनि राजश्व विभागले कात्र्तिक २७ गते नै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

कहाँबाट अायाे ९४८ थान बढी ज्याकेट

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएको भन्दा ९४८ थान बढी ज्याकेट फेला परे पछि सुभाना इन्टर नेश्नल बिरुद्ध विभागले मुद्धा दर्ता गराएको छ ।

सामान पैठारीकर्ताले भन्सार बिन्दुमा उल्लेख गरेको र भन्सार पास भए पछि सामानको परिणामा ठूलो अन्तर पाए पछि चोरी पैठारी आरोपमा पैठारीकर्ता भरतबहादुर अर्याल र सुशिला पाण्डे विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

उनीहरुलाई जनही ३ वर्ष कैद र  १२ लाख ५ हजार ९२० रुपैयाँ विगो र जरिवाना रकम कायम गरिएको विभागले जनाएको छ । 

पैठारीमा प्रयोग भएको सवारीका चालक र धनीलाई पनि अभियोग लगाईएको छ । उनीहरु विरुद्ध कात्र्तिक २८ गते काठमाडौं जिल्ला अदालतमा मुदा दायर भएको थियो ।

उल्लेखित मुद्धाहरुबाट २२ करोड ५७ लाख ९८ हजार  १३९ रुपैयाँ धरौटी दाखिला भएको राजश्व अनुसन्धान विभागले जनाएकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।