मर्जरको हल्ला चलाएर बढाइयो गरिमा विकास बैंकको शेयरमूल्य, के भन्छ धितोपत्र बोर्ड ?

Dec 23, 2018 Merolagani

पछिल्ला केहि दिन यता शेयर बजार घट्दै गर्दा गरिमा विकास बैंक (GBBL) को शेयरमूल्य अस्वभाविक रुपमा बढाइएको छ। केहि व्यक्तिको स्वार्थका कारण मर्जरको हल्ला चलाएर शेयर मूल्य तिब्र गतिमा बढाइएको छ। यो विषयलाई धितोपत्र बोर्डले गम्भिर भन्दै छानबिन हुने बताएको छ ।

कुनै पनि संस्थाका बीचमा मर्जर भए पनि नभए पनि औपचारिक निर्णय अनि त्यसको सूचना सार्वजनिक नभई सूचना चुहावट गरेर सामान्य लगानीकर्तालाई फसाउने काम विगतमा पनि नभएका हैनन् ।

अहिले गरिमा विकास बैंकको हकमा पनि यो अवस्था जबरजस्ती उत्पन्न गराइएको छ । जसले सिमित व्यक्तिको स्वार्थ पूरा हुँदा आम लगानीकर्ता फसने जोखिम बढाएको छ ।

केहि दिन पहिले बजारमा एकाएक हल्ला चल्यो, ‘गरिमा विकास बैंकका एक जना सञ्चालकले भनेको, एउटा ठूलो वाणिज्य बैंकसँग गरिमा मर्ज हुने निश्चित भयो रे ।’ यो हल्ला एक कान दुई कान मैदान भनेझैँ चुलियो ।

अझ ‘८० प्रतिशत स्वाप समेत निश्चित भैसक्यो’ भन्दै एकथरी धमाधम शेयर मूल्य बढाएर आफ्नो शेयर बेचिरहेका थिए । अर्कातिर हल्लाको पछि लाग्नेहरु गरिमाको शेयर किन्न नै नपाउने अवस्थामा पुगे जसरी उच्चदरमा धमाधम शेयर किन्न थाले ।

जति माग आउँदै गयो धमाधम बजारमा बढ्दो मूल्यमा गरिमा विकास बैंकको शेयर सप्लाई आईरह्यो । अर्थात हल्ला चलाउनेहरुले बढ्दाे मूल्यमा धमाधम आफ्नो शेयर बेचिरहे। यो क्रम आइतबारसम्म निरन्तर चलिरहेको छ। आइतबार मात्र बजार खुलेको पहिलो घण्टासम्ममा अधिक शेयर कारोबार हुने कम्पनीको शिर्ष १० भित्र गरिमा विकास बैंक पनि परेको छ । 

केहि दिन अघिबाट गलत हल्लाको आडमा बढाइएको गरिमा विकास बैंकको शेयर मूल्यको गति यस्तो देखिन्छ ।

 

जहाँ एकाएक १७३ रुपैयाँ प्रतिकित्ताको शेयरमूल्यलाई २०३ रुपैयाँ पुर्याइएको छ । आइतबार मात्र गरिमाको शेयर मूल्य साढे ७ प्रतिशतले बढाइएको प्रष्ट देखिन्छ । माग अधिक भएको गरिमाको शेयरमा सप्लाई पनि उत्तिकै देखिन्छ ।

 

 

यस सम्बन्धमा मेरोलगानीले गरिमा विकास बैंकका उच्च अधिकारीहरुलाई सोध्यो, ‘के गरिमा कुनै वाणिज्य बैंक सँग मर्जरमा जाने निश्चित भएको हो ?’

उताबाट जवाफ आयो, ‘हामी आफ्नो अस्तित्वमा बस्ने योजना अनुसार अघि बढिरहेका छौं । मर्जरको विषयमा ‘म’ पनि उच्चारण नभएको अवस्थामा मर्जर कसरी सम्भव हुन्छ ?’

फेरी मेरोलगानीले सोध्यो, ‘बजारमा यो हल्लाले शेयर मूल्य अचाक्ली बढेको छ । हल्ला तपाईहरुकै सञ्चालकहरुले फैलाउनु भएको भन्ने अर्को हल्ला छ नि ? शेयर स्वाप ८० निर्धारण भएको छ रे त ?’

हामीले विषय नै प्रवेश नगरेको विषयमा चलेको हल्लाले चिन्तित बनाएको छ । यस्तो केहि हैन । जहाँसम्म सञ्चालकबाट हल्ला चलाइएको भन्ने कुरा छ, व्यक्ति पहिचान भएको खण्डमा बैंकले आन्तरिक मात्र हैन कानूनी रुपमा कार्वाही प्रकृया अघि बढाउँछ । र यस विषयमा धेरै फोन आएर जवाफ दिँदा हैरान भएको अवस्था छ । विषय प्रवेश नै नभएको अवस्थामा शेयर स्वापको विषय सान्दर्भिक छैन ।’

शेयर बजार सुधारका लागि लामो समयदेखि चर्को आवाज उठेपछि अहिले सुधारका कामहरु अघि बढेका छन् । यसै क्रममा पहिले सुधार गर्नु पर्ने विषय सूचनाको चुहावट तथा गलत हल्ला फैलाउने क्रमलाई निरुत्साहित पार्नुपर्ने देखिएको छ ।

के भन्छ धितोपत्र बोर्ड ?

यस अघि पनि बजारमा चल्ने अफवाहका विषयमा धितोपत्र बोर्डलाई जानकारी नभएको हैन । गरिमा विकास बैंकको मर्जरको हल्लाका विषयमा सामान्य जानकारी आएको बोर्डले जनाएको छ ।

बोर्डले भनेको छ, हल्लाको जानकारी आएको छ । यसलाई बोर्डले गम्भिर रुपमा लिएको छ । वास्तविकता के हो भन्ने विषयको खोजी हुन्छ ।

आम लगानीकर्तालाई असर पार्ने हल्लाले बजार बिगार्ने भन्दै बोर्डले त्यस्ता तत्वलाई कार्वाहीको दायरामा ल्याउने पनि बताएको छ । 

नियामक निकायका साथै सम्बद्द सबै पक्षले गरिमा विकास बैंकका साथै अन्य कम्पनीहरूको पनि भित्री कारोबारको अनुसन्धान गरि निरूत्साहित गराउन कडा कारवार्ही गर्नै पर्छ । यसो हुन सकेको खण्डमा मात्र आम लगानीकर्ताहरू बजारमा आफू सुरक्षित भएको महसुस गर्न सक्दछन् भने  नियामक निकायले  उनीहरूमा विश्वासको वातावरण पनि जगाउन सक्दछ । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।