एप्पलका सीईओ टीम कुकले चीनको अर्थव्यवस्थामा कमजोरी र नयाँ आइफोनको विक्री आशा गरे अनुसार नभएका कारण आय अनुमान घटाइएको बताएका छन् । विगत १५ बर्षमा पहिलोपटक एप्पलको अनुमानित आयमा कमी गरिएको हो ।
टीम कुकको आय अनुमानको घोषणापछि एप्पलको शेयरमा बुधबार ७ प्रतिशतभन्दा बढीको गिरावट आएको थियो । एप्पलको वितरक कम्पनीको शेयरले पनि यस्तै नोक्सान बेहोर्नु परेको छ । एप्पलको मेमोरी प्रोड्यूसर बनाउने कम्पनी एसके हाईनिक्सको शेयरमा ४.३ प्रतिशतको गिरावट देखियो । एप्पलको चिप र डिस्प्ले भएको सामसङको शेयरमा २ प्रतिशतले गिरावट आयो ।
एप्पलले गत बर्षको नोभेम्बरमा सेप्टेम्बर त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै नयाँ प्रोडक्ड बनाउने गति मागभन्दा कम हुनसक्ने बताएको थियो । साथै आगामी समयमा आइफोन, आइप्याड वा कम्प्युटरको विक्रीको आँकडा पेश नगरिने पनि घोाषणा गरिएको थियो । सेप्टेम्बर त्रैमासमा आइफोनको विक्री केबल ०.४ प्रतिशतले बढेको थियो ।
आइफोन एप्पलको प्रमुख उत्पादन हो । कम्पनीको राजस्वमा आइफोन विक्र्रीको दुई तिहाई हिस्सेदारी रहेको छ । एप्पलले सन् २००७ मा आइफोन लन्च गरेको थियो । एप्पल विश्वको सबैभन्दा ठूलो कम्पनी हो । अगस्ट २०१८ मा यसको बजार पूँजीकरण एक ट्रिलियन डलर पुगेको थियो । एजेन्सी