पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १८ लाख कित्ता शेयर निष्काशनकाे लागि कम्पनीले बोर्डबाट अनुमति पाएको हो।
हाइड्रोपावर कम्पनीले अघि नै काठमाडौं क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
ग्रिनलाईफले निष्काशन गर्ने आईपिओका लागि केयर रेटिङ्ग नेपालबाट क्रेडिट रेटिङ्ग गराएको छ । कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि जारी गर्ने आईपिओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।
कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको ग्रिनलाईफ हाइड्रोपावरमा संस्थापक समूहतर्फ जारी पूँजीको ८० प्रतिशत अर्थात एक अर्ब ४४ करोड रुपैयाँ पूँजी चुक्ता भैसकेको छ । पहिलाे चरणमा स्थानीयलाइ निष्काशन आईपिओ बाँडफाँडपछि दोस्रो चरणमा पनि हाइड्रोले थप १८ लाख कित्ता सर्वसाधारणमा निष्काशन गर्ने जनाएकाे छ।
कम्पनीले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले गत भदौ पहिलो साता आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो। कम्पनीले २०७४ पुस ३० गते सम्पन्न आठौं वार्षिक साधारण सभामा स्थानीयका लागि आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।