बैंकको साधारण सभाले हाल प्रवाह गरिरहेको सेवालाई अभिवृद्धि गर्दै आफैँ वा सहायक कम्पनी मार्फत आफ्नो सेवा प्रवाहको दायरालाई बढाउने जनाएको छ ।
बैंकको साधारण सभाले बैंकले आफैं वा सहायक कम्पनी स्थापना गरि बीमा व्यवसाय (जीवन तथा निर्जीवन), भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी, हेज फण्ड, क्रेडिट रेटिङ्ग, स्टक ब्रोकर, मर्चेन्ट बैंक, वित्तीय प्रविधि (फिन्टेक) लगायतका कार्यहरु गर्नका लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
त्यसैगरि बैंकले वैदेशिक रणनीतिक साझेदारीमा जान सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्ने र सो सम्बन्धि आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ ।
यसका साथै सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गरेको छ ।
बैंकले हालसम्म ८८ वटा शाखा कार्यालय लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवा तसमेत गरी जम्मा १४२ स्थानवाट बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।
डा.बिरेन्द्र प्रसाद महतो अध्यक्ष चयन
उक्त साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.बिरेन्द्र प्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निवार्चित गरेको छ । साथै, उक्त साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले डा.बिरेन्द्र प्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ ।
बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्ममा.३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ असोज मसान्त सम्ममा ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी ७१ अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ ।