आयल निगमका पूर्व कार्यकारी प्रमुख खड्का बिरुद्ध भ्रष्टाचार मुद्धा दायर

Jan 07, 2019 merolagani

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन अभियोगमा मुद्धा दायर भएको छ । खड्काले १८ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

 
खड्काले गैरकानूनी रुपमा आर्जन गरेको एक करोड ६ लाख ४ हजार रुपैयाँ बिभिन्न कम्पनीको शेयर खरिद र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा दुई करोड ७१ लाख ५३ हजार समेत गरी २५ करोड २८ लाख भेट्टिएको अख्तिायारले जनाएको छ ।

त्यसैगरी घरजग्गा खरिदमा ११ करोड ६१ लाख, ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाख रुपैयाँ र व्यक्तिगत रूपमा दिएको सापटी १ करोड २५ लाख ६० हजार र विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटमा एक करोड ८० लाख १६ हजार रुपैयाँ बराबर खर्च गरेको अख्तियारले फेला पारेको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग एक करोड १७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च २५ लाख, गाडी खरिदमा एक करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।

खड्काले २०६९ साल चैतदेखि अहिलेसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार, जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, ऋण सापटीबाट ५ करोड ३३ लाख ३६ हजार, घर भाडाबाट १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा पाएको आर्थिक सुविधा वापत २९ लाख २२ हजार, पेन्सनबाट १४ लाख ७८ हजार, विप्रेषण आयबाट ८ लाख २६ हजार, गाडी बिक्रीबाट ३५ लाख, छोरा बुहारीको पारिश्रमिकबाट ११ लाख गरी जम्मा ७ करोड ४४ लाख ५६ हजार रुपैयाँका साथै सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ चैतसम्ममा देखिएको विभिन्न शीर्षकको आय १ करोड २० लाख रुपैयाँसहित ८ करोड ६४ लाख ६९ हजार आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
खड्काको स्रोत खुलेको आय ८ करोड ६४ लाख ६९ हजार रुपैयाँ मात्र छ । त्यसैगरी अख्तियारको अनुसन्धानमा पुख्र्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको समेत भेटिएको छ । दुई वटा घर खरिदका लागि आंशिक भुक्तानी दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पनि अख्तियारले फेला पारेको हो ।

खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्तिमध्ये अमिता लामा सोदेम्बा र आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाएको आरोप अख्तियारको छ । अमिता लामा सोदेम्बाको नाममा जम्मा ७ करोड ५४ लाखको सम्पत्ति लुकाएको अख्तियारले फेला पारेको छ ।

खड्काले सिजी डेभलपर्सले निर्माण गरेको हात्तिगौडास्थित सिजी हिल्समा ३ करोड २५ लाखमा घर खरिद गरेका छन । यसैगरी बूढानीलकण्ठमा ४० लाख ११ हजारको ८ आना जग्गा खरीद गरेको पनि भेटिएको छ । ८४ लाख ४६ हजारमा टक्सन गाडीसमेत खरीद गरेका छन् ।

सिजी डेभलपर्सले निर्माण गरेको ३ करोड पाँच लाख रुपैयाँको हाउजिङ खरीद गरेको पनि भेटिएको छ । अमिता लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेकोसमेत भेटिएको छ ।

बुढानिलकण्ठमा रोडशो रियलस्टेट प्रालिले निर्माण गरेको घर खरिद गर्नको लागि बैना बापत ८९ लाख ८९ हजार भुक्तानी दिएको र रोडशोले पत्रसहित यो रकम बराबरको गुड फर पेमेन्ट चेक अख्तियारमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ अदालतमा पेश भएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।