यही सफ्टवेरको कमजोरीका कारण राष्ट्रिय वाणिज्य बैंकमा एउटा यस्तो अपराध घट्यो जो कहिल्यै सुनिएको थिएन ।
काठमाडौंका एक व्यक्तिले बैंकमा रहेको आफ्नो डलर खातामा ७८ हजार ३८० रुपैयाँ ५० पैसा नेपाली रकम डिपोजिट गरेर डलर ७८ हजार ३८०.५० सेन्ट झिक्न सफल भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।
नेपाली रकम डलर खातामा जम्मा गरेर विनिमय नभई सोही बराबरको रकम डलरमा झिक्नबाट रोक्न अन्तर बैंकिङ्ग सेवामा प्रयोग भएको सफ्टवेर असफल देखिएको छ । जसले गर्दा नेपाली ७८ हजार डिपोजिट गरेर डलर ७८ हजार (करिब ८८ लाख नेपाली) झिक्न सम्भव भयो ।
दुई वाणिज्य र ३३ विकास बैंकमा 'पूमाेरी'
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक तथा ३३ वटा विकास बैंकमा 'पूमाेरी' सफ्टवेर मार्फत अन्तर बैंकिङ्ग सेवा प्रदान हुँदै आएको मर्कन्टायल नेपालले जनाएको छ ।
'राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र ३३ विकास बैंकमा 'पूमाेरी' सफ्टवेर मार्फत अन्तर बैंकिङ्ग सेवा प्रभाह भई रहेको छ । एउटै सफ्टवेरको कुन भर्सन कुन बैंकमा प्रयोगमा छ भन्ने तथ्य सार्वजनिक गर्न मिल्दैन ।' मर्कनटायल नेपालले बतायो । राष्ट्रिय वाणिज्य बैंकका अनुसार 'पूमाेरी प्लस ३' मा यो कमजोरी देखियो ।
सफ्टवेरमा भएको कमजोरी
विदेश यात्रामा रहंदा प्रयोगमा आउने डलर खातामा नेपाली रुपैयाँ तेस्रो पार्टी ट्रान्फर मार्फत नहुनु पर्ने थियो । अर्थात सफ्टवेरले ई बैंकिङ्ग मार्फत खातामा पठाइएको रकम स्वीकार नै गर्नु नपर्ने हो । तर 'पूमाेरी प्लस ३' ले ई-सेवा एवं मोबाइल बैंकिङ्ग मार्फत ट्रान्फर गरेको नेपाली रकम खातामा स्वीकार गर्यो ।
ठिक छ पैसा त स्वीकार भयो तर भुक्तानी विनिमय प्रचलन अनुसार नेपाली रकमलाई डलरमा विनिमय गरेर गरिनु पर्ने हो, तर त्यसो भएन ।
वाणिज्य बैंकमा रहेको आफ्नो खातामा सञ्जय कुमार श्रेष्ठले पटक पटक गरेर नेपाली रूपैयाँ ७८ हजार ३ सय ८० रुपैयाँ ५० पैसा पठाए र त्यसलाई बैंकको सीस्टमले डलर ७८ हजार ३ सय ८०.५० सेन्ट मानिदियो र डलर नै भनेर झिक्न पनि अनुमति दियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानक्रममा रहेका श्रेष्ठले एक वर्षमा ४३ पटक यस्तो कारोबार गरेर ७८ हजार नेपालीलाई ७८ हजार डलर बनाएका थिए ।
सफ्टवेरमा नियन्त्रण
हाल सम्मको अनुसन्धानमा बैंकिङ्ग ठगि आरोपमा पक्राउ परेका सञ्जय कुमार श्रेष्ठ ह्याकर होइनन् । सूचना प्रविधि विषय पढेका व्यक्ति पनि होइनन् । उनी सामान्य नागरिक हुन् । उनले आफ्नो डलर खातामा ई-सेवा एवं मोबाइल बैंकिङ्ग मार्फत नेपाली रकम ट्रान्फर हुन्छ की हुन्न वा भयो भने भिसा कार्डबाट निकाल्न मिल्छकी मिल्दैन भन्ने प्रयास गरेका मात्र थिए ।
तर सजिलै भए पछि त्यसैलाई पैसा आर्जन गर्ने अपराधको बाटो बनाए । अर्थात सजिलै सामान्य नागरिकले पनि निक्षेप तान्न सक्ने अवस्थामा सफ्टवेर छ ।
मर्कन्टायल नेपालको दावी अनुसार उसले बैंकहरुलाई 'पूमरी' इन्जिन मात्रै बिक्री गरेको हो । सफ्टवेरमा पूर्ण नियन्त्रण बैंककै हुन्छ । तर राष्ट्रिय वाणिज्य बैंकले गरेको दावी फरक छ । सफ्टवेरमा आउने सबै समस्या नियान्त्रणमा बैंकको मात्रै पहुँच हुँदैन ।
भर्सन अपग्रेड, केही अनौठा समस्या समाधानका लागि मर्कनटायललाई नै बैंकले अनुरोध गर्छ । कुनै समस्या एकै छिनमा त केही एक दुई दिन तथा केही महिनौँसम्म पनि लाग्न सक्छ । राष्ट्रिय वाणिज्य बैंकको डलर खाताको समस्या पत्ता लागेको २ घण्टापछि मर्कनटायलले सुल्झाएको बैंकले बतायाे ।
जब राष्ट्र बैंकले पत्याएन
राष्ट्रिय वाणिज्य बैंकमा भएको घटनाबारे केन्द्रीय बैंक जानकार नै होला भन्ने ठानेर मेरोलगानीले थप अनुसन्धान प्रगतिबारे प्रवक्ता नारायण प्रसाद पौडेललाई सम्पर्क गरेको थियो । कुनै बैठकका लागि हत्तारमा रहेका बताएका पौडेलले सुरुमा यस्तो हुनै नसक्ने जिकिर गरे ।
घटना विवरण, आरोपी पक्राउ र प्रहरीको अनुसन्धान सम्मको कुरा अवगत गराए पछि पौडेलले बुझ्ने प्रयास गर्ने बताए । उनका अनुसार कुन बैंकमा कुन सफ्टवेर मार्फत अन्तर बैंकिङ्ग सेवा प्रभाह भई रहेको छ भन्ने विवरण राष्ट्र बैंकको जानकारीमा हुँदैन ।
...[७८ हजार जम्मा गरेर ८८ लाख झिक्न मिल्ने बैंकिङ्ग प्रणाली !]...
राष्ट्रिय वाणिज्य बैंकमा सुल्झियो, ३४ बैंकमा जोखिम कायमै
राष्ट्रिय वाणिज्य बैंकले आफ्नो कमजोरी सुधार गरिसकेको छ । बैंक अहिले प्रहरी समन्वयमा घटनाको सबै कोणबाट अनुसन्धानमा लागि परेको छ । यो घटना बैंकिङ्ग वृतमा परेर सिक्ने समस्याको रुपमा चित्रित भएको छ ।
राष्ट्र बैंकले नै नपत्याउने गरी राष्ट्रिय वाणिज्य बैंकमा समस्या देखिई सकेको छ । कतै अरु बैंकमा पनि नेपाली रकमलाई सहजै डलर बनाउन मिल्ने सफ्टवेर कमजोरी यथावतै छ की ?