सहकारीमा तीन खर्ब दुई अर्ब बचत, दुई खर्ब ७२ अर्बकाे ऋण लगानी

Jan 11, 2019 RSS

नेपालका सहकारीमा तीन खर्ब दुई अर्ब रुपैयाँ बचत सङ्कलन भएको छ। राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो। सङ्कलित रकममध्ये दुई खर्ब ७२ अर्ब रुपैयाँ ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिए।

राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताए ।

कूल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान चार प्रतिशत

विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा आबद्ध रहेको बताउँदै खनालले कूल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान चार प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत रहेको बताए। ६३ लाख शेयर सदस्य रहेको सहकारीमा महिलाको सङ्ख्या ५१ प्रतिशत रहेको महासङ्घले जनाएको छ ।

मिश्रित अर्थव्यवस्था रहेको नेपालको संविधान २०७२ ले सार्वजनिक, निजी सहकारी क्षेत्रको सहभागिताले आर्थिक समृद्धिको परिकल्पना गरेको सन्दर्भमा सहकारीमार्फत उद्यम विकासमा भूमिका खेल्नुपर्ने निष्कर्षका साथ अहिले तीन सय बढी सहकारीकर्मीहरू उद्यम प्रवर्द्धनका लागि काठमाडौंमा भेला भएका छन् ।

भेलामा सहभागी महासङ्घका सल्लाहकार हरिकृष्ण उपाध्यायले सहकारीबाटै समृद्धि हासिल गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे। प्रभावकारी र दिगो सहकारीका लागि सदस्यहरू धेरै हुनुपर्ने, आर्थिक समुन्नतितर्फ गएको हुनुपर्ने र राम्रो प्रशासनको आवश्यकता हुनुपर्ने उपाध्यक्षको भनाइ थियो ।

सहकारी सामाजिक व्यवसाय भएकाले यसबाट लघु, मझौला तथा ठूला उद्यम प्रवर्द्धन गरी स्वरोजगारको सिर्जना गर्दै आर्थिक उन्नति गर्न सकिने छ । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले तीन खम्बामध्येको एक खम्बाको औचित्य पुष्टि गर्नुपर्ने आजको आवश्यकता रहेको औंल्याए ।

सहकारी ढाँचाले छरिएर रहेको श्रम, सीप र पूँजीलाई एकत्रित गरी सहकारी उद्यम प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छ । सहकारी क्षेत्रको योगदानलाई उल्लेख्य वृद्धि गरी साना, मझौला तथा ठूला उद्यम प्रवर्द्धन गर्नु आजको अपरिहार्य आवश्यकता भएकाले राज्यको ध्यान जानुपर्ने सहकारीकर्मीको भनाइ छ ।

सहकारीको विकासका लागि सकारात्मक सोचको विकास जरुरी रहेको भन्दै राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष दीपक प्रकाश बाँस्कोटाले साना किसानको आर्थिक जीवनस्तर उकास्न सहकारीको ठूलो योगदान रहेको बताए।

राज्य, समाज र पूँजी निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका हुन्छ। साना किसानको सारथी बनेको सहकारी उनीहरूको ऋण लगानी र बचत सङ्कलनमा सहयोगी भूमिका खेल्दै आए पनि ठूला उद्यम विकासमा अझै जान सकेको छैन ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले नवीन प्रविधिलाई अवलम्बन गरी उद्यम व्यवसायको विकास गर्नुपर्ने उल्लेख गर्दै परम्परागत व्यवसायलाई विविधिकरण गरी उत्पादन, वितरण र सेवाको क्षेत्रमा सहकारीको भूमिका वृद्धि गर्नुपर्नेमा जोड दिए।

कार्यशालामा छलफल जारी

राष्ट्रिय सहकारी महासङ्घद्वारा काठमाडौंमा आयोजित ‘उद्यम प्रवर्द्धन राष्ट्रिय कर्याशाला’ विषयक दुईदिने गोठीमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल जारी छ ।

बिहीबारदेखि जारी दुईदिने कार्यशालामा भूमि व्यव्स्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ‘सहकारी उद्यमशीलता प्रवर्द्धनका लागि विद्यमान कानूनी व्यवस्था’का विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

यस्तै पूर्वमन्त्री गणेश शाहको ‘उद्यमशीलता विकासमा नवीन प्रविधिको प्रयोग’, योग विज्ञान विशेषज्ञ डा. राजु पौडेलको ‘व्यावसायिक सफलताका लागि सकारात्मक सोचको विकास’, अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालका कार्यक्रम संयोजक नवीन कर्णको ‘सहकारी–सहकारीबीचको व्यवसाय : सम्भावना र चुनौती’ तथा उद्यमशीलताका जानकार तारा ढकालको ‘सहकारीमार्फत लघुउद्यम प्रवर्द्धन’ का विषयक कार्यपत्रमाथि छलफल जारी रहेको महासङ्घले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।