निजीकरण मुद्धालाई छाडेर पूँजीवृद्धि गर्दै नेप्से

Jan 11, 2019 Merolagani

नेप्सेलाई आधुनिक र तिब्र प्रतिष्पर्धी बनाउन भन्दै नेप्सेमा रहेको नेपाल राष्ट्र बैंक र सरकारको स्वामित्व घटाउने बहस र योजना बनेको लामै समय भैसकेको छ। तर नेप्से निजीकरणको मुद्धालाई छाडेर नेपाल स्टक एक्सचेञ्जले चार वर्षपछि बोनस बाँड्न आइतबार ३७ औं वार्षिक साधारण सभा डाकेको छ ।

आर्थिक वर्ष २०६९/७० मा बोनस बाँडेको नेप्सेले पाँचौं आर्थिक वर्षमा आएर अहिले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने भएको हो । त्यस यताका वर्षहरुमा नेप्सेले शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्दै आएको छ। 

नेप्सेले आर्थिक वर्ष २०६९/७० मा ५० प्रतिशत बोनस वितरण गरेर ३० करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको थियो। उसले यसअघि आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ दुबैमा नेप्सेले ५० प्रतिशत नगद लाभांश र २०७१/७२ मा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७०/७१ मा भने नेप्सेले कुनै लाभांश बाँडेको थिएन ।

पूर्व अर्थमन्त्रीदेखि धितापत्र बोर्डका अध्यक्षसम्मले नेप्से निजीकरणको विषयलाई आफ्नो सार्वजनिक अभिव्यक्तिमा राखेर भाषण गर्ने गरेका छन् । तर प्रकृया भने अझै बढ्न सकेको छैन। 

हरेक साधारण सभामा नेप्सेलाई आधुनिक बजारसँग तिब्र प्रतिष्पर्धी बनाउन नेप्सेमा रहेको शेयर निजीकरण गर्ने मुद्धाले प्राथमिकता पाउने गरेको छ । तर जसरी साधारण सभा सकिन्छ त्यसरी नै यो मुद्धाले पनि किनारा पाउने गरेको छ । अहिलेकाे साधारण सभामा याे विषयले कतिकाे महत्व पाउला त्याे भने हेर्न बाँकी नै छ ।

नेपाली पूँजी बजारको नियामक निकायमध्येको एक स्टक एक्सचेञ्जले चार वर्षपछि आएर फेरि पूँजी बढाउन लागेको छ । समयानुकुल नेप्सेको पूँजी नभएको महसुस गर्दै उसले ६६.६७ प्रतिशत बोनस बाँडेर ५० करोडमा पूँजी वृद्धि गर्न लागेको हो ।  नयाँ स्टक एक्सचेञ्जकाे भित्र्याउने कुराकाे सरगर्मीले पूँजीबजार तातेकाे अहिलेकाे समयमा  नेप्सेले पूँजीवृद्धि गरेर कुन बाटाे हिड्न खाेजेकाे हाे स्पष्ट पार्न जरूरी छ ।

नेप्सेले पुस २९ गते आइतबार आफ्नो कार्यालयमा सिंहदरबार प्लाजामा दिउँसो ४ बजे ३७ औं वार्षिक साधारण आह्वान गरेको छ। सभामा चुक्ता पूँजीको ६६.६७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।

हाल ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेप्सेको प्रस्तावित ६६.६७ प्रतिशत बोनस शेयरपश्चात ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

नेप्सेमा नेपाल सरकारको सबैभन्दा बढी ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३४.६०, एनआईडिसीको ६.१२ प्रतिशत र ब्रोकर संघको ०.६२ प्रतिशत शेयर स्वामित्व रहेको छ।

नेप्सेले सूचीकृत कम्पनीहरुबाट प्राप्त गर्ने शुल्क तथा कमिशन रकम घटेपछि नेप्सेको मुनाफा भने पछिल्ला केही वर्षदेखि नै घटिरहेको छ । नेप्सेले आर्थिक वर्ष २०७२/७३ मा मा ४७ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको नेप्सेले २०७३/७४ मा ३७ करोड २० लाख मात्र नाफा आर्जन गर्यो । गत आथिक वर्षमा नेप्सेको कमाई अघिल्लो आर्थिक वर्षको भन्दा ११ करोड १९ लाख घटेर २६ करोड एक लाखमा संकुचित बनेको छ।

नेपाल स्टक एक्सचेन्ज विक्रम सम्वत २०५० पुसमा स्थापना भएको थियाे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।