पूर्ण अनलाईन कारोबार प्रणालीले राम्रो काम गर्छ भन्ने कुरा प्रमाणित नभएसम्म सफ्टवेयर कम्पनीलाई दिन बाँकी भुक्तानी रोक्ने र उससँग भएका सम्झौतापत्र लगायतका सबै कागजात सार्वजनिक गर्नुपर्ने ।
पुँजी बजारको बिकास र विस्तारका नाममा आमरण अनसनसम्म बसेर रेकर्ड बनाएको शेयर लगानीकर्ता दवाब समूहले सोमवार नेप्सेमा बुझाएको ज्ञापनको तेश्रो बुँदा हो यो । यसलाई मात्र किन यहाँ उल्लेख गरिँदैछ भने बिगत केहीदिन देखि आशा र बिश्वास गरिएको अनलाइन प्रणालीले सारा लगानीकर्तालाई हैरान बनाएपछि लगानीकर्तामा देखिएको चरम निरासाको समाधान के होला भन्ने यतिबेला बहस हुन थालेको छ ।
करिब चारमहिना अघि शुरु भएको अनलाइनप्रणालीमा शुरुभएदेखि नै प्राविधिक समस्या देखिए । कुनैपनि नयाँ काम शुरु गर्दा केही न केही समस्या सबैतिर हुन्छ, यहाँपनि भएको हुनसक्छ भन्ने सोचमा लगानीकर्ता पुगे । प्रणालीमा देखिएका प्राबिधिक समस्याले पूँजीबजारमा सर्बसाधारण जनताको सम्पत्ति जोखिममा पर्ने सम्भावना हुँदाहुँदै पनि लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जलाई सामान्य ध्यानाकर्षण गराउने बाहेक केही गरेनन् । तर, प्रणालीमा देखिएको समस्याका कारण हुनसक्ने भयावह अवस्थालाई नेप्सेले भने सामान्य रुपमा लिँदै केवल प्राबिधिक समस्यामात्र भनिरहेको छ आजसम्म पनि । एउटा बिज्ञप्ति निकाल्छ र आफना कुरा अलिकति थप्छ, प्रणालीलाई सुधार गर्ने काम भइरहेछ । यति भनेर उ उम्कन्छ ।
तर जब अपर तामाकोसीको सेयर कारोवार शुरु भयो । यसमा गंभीर त्रुटी देखा पर्न थाल्यो । अब भने नेप्सेले निकालेको प्राविधिक त्रुटि उल्लेखित बिज्ञप्तिलाई लगानीकर्ताले मान्ने या पत्याउने अवस्था रहेन ।
अनलाइनप्रणालीले ठूलो भोलुमको कारोवारलाई धान्न नसक्ने अवस्था रहनु, एउटै कम्पनीको शेयर कुनै ब्रोकरबाट राम्ररी कारोवार हुनु अर्को ब्रोकरकोबाट नहनु, एकैदिन कम्पनीको शेयरमूल्य ५० प्रतिशतसम्म बढ्नु, मार्केट डेप्थ नखुल्नु, दिउसो खरीद तथा बिक्री आदेश स्कीकृत हुनु तर साँझ हेर्दा अस्वीकृत भएको देखिनु,ु एक पटकमा बिक्री नभएको देखिनु फेरि बिक्री गर्दा दोहोरो बिक्री भएको विवरण आउनु यो सामान्य कमजोरी होइन । उल्लेखित सबै अवस्था अपर तामाकोसीको शेयर खरीद बिक्रीका क्रममा देखिएका उदाहरण हुन ।
एक सेकेण्डमा ८ हजार कारोवार हुने दावी गरिएको प्रणाली २५ सय कारोवार नहुँदै अफ भएपछि लगानीकर्ता आन्दोलित हुनु स्वभाविकै हो । पूँजीबजारका इन्भेष्टर्स फोरम सहितका संघ संस्थाले नेप्सेमै पुगेर ध्यानाकर्षण गराईसकेको अवस्था छ ।
प्रणालीमा गंभीर समस्या भोलीपल्ट दवावमुलक समूहले ३२ बुँदेमाग सहित अर्को चरणको आन्दोलनको घोषणा गरेको छ । निश्चय पनि आन्दोलन भनेको त्यति प्रिय बिषय होइन । आन्दोलनले साथ पाए एउटा परिणाम दिन्छ । अनलाइन प्रणालीमा धेरै लगानीकर्ता आजित भएकोले यस बिषयमा नेप्सेले झारा टार्ने विज्ञप्तिको साटो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने देखिन्छ ।
नेप्सेले देखाउनु पर्ने बिश्वास
१. अनलाइन प्रणालीमा देखिएको समस्या यो मितिदेखि देखिने छैन
या
२. यो समस्याको कारण यो हो, यसरी समाधान गरिँदै छ, यसमा पनि लगानीकर्तालाई समय तालिका दिने
या
३. अहिले प्रचलनमा ल्याएको प्रणाली भरपर्दो भएन, अर्को व्यवस्था नहुन्जेल पुरानै प्रणालीबाट काम गरिने
४. प्रणालीमा समस्या सिर्जित हुनुमा अन्य पक्ष पनि जिम्मेवार भए सो को कारण सहितको जानकारी लगानीकर्तालाई दिने । जस्तै सफ्टवेयर कम्पनीको गुणस्तर, ब्रोकरहरुको भूमिका, लगानीकर्ताको चलखेल आदि ।
५. माथिका चारवटा बुँदामा केहीपनि नभन्ने र प्रणालीलाई पनि यस्तै निकम्मा बनाइ राख्ने हो भने नैतिकताको आधारमा राजीनामा दिने
समयमै माथि उल्लेख गरिएका बुँदाहरुलाई बिचार गरिएन भने लगानीकर्ताहरुले नेप्सेको भूमिकामा प्रश्न गर्नेमात्र छैनन । अनलाइन प्रणाली संचालनका लागि सफटवेयर कम्पनीसँग गरिएको सम्झौता सार्वजनिक गर्नपनि माग गर्न सक्नेछन् । प्रणालीमा कुनै कमजोरी दोहोरिएमा त्यसबाट सिर्जना भएको हानी नोक्सानीको जिम्मेवारी नेप्से र सफ्टवेयर निर्माता कम्पनी हुनुपर्ने ब्यवस्था गर्नुपर्ने त उनीहरुले ३२ बुँदा मै समेटेका पनि छन् ।
अनलाइन प्रणालीले कुन कम्पनीको कति शेयर कारोवार भयो भनेर भन्न नसक्ने अवस्था हुनु लाजमर्दो अवस्था हो । नेप्सेले अनलाइन प्रणालीका नाममा आफूपनि कुहिरोको काग बन्ने र लगानीकर्तालाई पनि बन्धक बनाउने काम लामो समयसम्म रहनु हुँदैन । समस्याको समाधान चाँडै देखियोस भन्ने आशामा लगानीकर्ता छन ।