शिव श्री हाइड्रोको आईपिओमा आवेदन गर्ने समय एक साता थप

Jan 25, 2019 Merolagani

शिव श्री हाइड्रोपावर कम्पनी (SSHL) ले आईपिओमा आवेदन गर्ने समय एक साताका लागि थपेको छ । आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरुले अब माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत पुस २७ गते देखि निष्काशन गरिएको शेयरमा यसअघि माघ ११ गते आजसम्म आवेदन गर्ने समय निर्धारण गरिएको थियो । कम्पनीले स्थानीयबासिको अनुरोधमा ७ दिन समयावधि बढाएको हो

कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर (आईपिओ) बिक्रीमा ल्याएको हो।

शिव श्री हाइड्रोपावरको आईपिओ शुक्रबारदेखि खुल्यो, जान्नुहाेस् कस्तो छ कम्पनी

हाल कम्पनीले पहिलो चरणमा जारी पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत शेयर निष्काशन गरेको हो । स्थानीयका आईपिओ जारीपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ४९ लाख ४०० रुपैयाँ पुग्नेछ ।

सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको शिव श्री ले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपिओ बिक्री गर्न गत पुस १० गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

७ लाख ३८ हजार रुपैयाँसम्मको आईपिओ भर्न पाउने

सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयले यस आईपिओमा न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँदेखि अधिकतम ७ हजार ३८० कित्ता अर्थात ७ लाख ३८ हजार रुपैयाँसम्मको आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।

आवेदन गर्दा ५० हजार भन्दा माथिको आवेदन दिनेले चेक मार्फत र दश लाख रुपैयाँमाथि आवेदन गर्ने आवेदनले खनिवार्य प्यान नम्बर उल्लेख गर्नुपर्नेछ ।

आईपिओमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका (साविकको फुल्पिङकट्टी र मार्मिङ गाविस), बाह्रविसे नगरिपालिका (साविकको गाति, मानेश्वरी र राम्चे गाविस), त्रिपुरा गाउँपालिका (धस्कुन र टेकानपुर गाविस) र सुनाकोशी गाउँपालिका (साविकको पाङग्रेटार गाविस) का बासिन्दाले मात्र आवेदन गर्न पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

यस्ता छन् आवेदन गर्ने स्थान
हाइड्रोपावर कम्पनी जारी गर्ने शेयरका लागि स्थानीयले शिव श्री हाइड्रोपावरको भोटेकोशी गाँउपाललिका कार्यालय तथा हिमालयन बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक, नेपाल बंगालदेश बैंक, र सिन्धु विकास बैंकको बाह्रबिसे शाखा कार्यालयबाट आईपिओमा आवेदन गर्न सक्नेछन् ।

त्यसैगरि सिन्धु विकास बैंकको खाडीचौर शाखामा पनि आईपिओ आवेदन गर्ने सुविधा दिइएको छ । आईपिओमा माघ १८ गतेसम्म आवेदन गर्न सकिनेछ ।

इक्रा एनपि आईपिओ ग्रेड ४

स्थानीयका लागि साधारण शेयर जारी गर्नका लागि सर्वाजनिक गरेको विवरण पत्र अनुसार हाइड्रोपावर कम्पनीले इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराएको छ ।

रेटिङ्ग कम्पनी इक्राले पुस २८ गते गरेको यस हाइड्रोपावरको आईपिओलाई इक्रा एनपि आईपिओ ग्रेड ४ प्रमाणपत्र प्रदान गरेको छ । ग्रेड ४ औसत भन्दा तल आधार रहेको जनाउँछ ।

इक्राले क्रेडिट रेटिङ्ग गर्दा १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार रहेको जनाउँछ । ग्रेड २,३,४ मा उल्लेख गरिने प्लस चिन्हले सो समूहमा तुलनात्मक सकारात्मक अवस्थालाई जनाउने गर्दछ ।

सर्वसाधारणमा २२ करोड १४ लाखको आईपिओ निष्काशन हुने

कम्पनीले पब्लिकमा जारी गर्ने जारी पूँजीको २५ प्रतिशत अर्थात ३६ लाख ९१ हजार कित्तामध्ये पहिलो चरणमा स्थानीयका लागि १४ लाख ७६ हजार ४०० कित्ता आयोजना प्रभावितलाई बाँडफाँड गरेपछि दोस्रो चरणमा २२ लाख १४ हजार ६०० कित्ता शेयर सर्वसाधारण र कर्मचारीका लागि निष्काशन गर्ने जनाएको छ ।

दुई अर्ब २५ करोड रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीको जारी पूँजी एक अर्ब ४७ करोड ७४ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीमा संस्थापकको तर्फबाट ७५ प्रतिशत बराबरको एक अर्ब १० करोड ७३ लाख रुपैयाँ पूँजी चुक्ता भैसकेको छ भने २५ प्रतिशत साधारण शेयर जारी गर्नेछ ।

साधारण शेयर बिक्रीबाट प्राप्त आम्दानी कम्पनीले सिन्धुपाल्चोकमा निमाणाधिन २२.२ मेगावाट क्षमताको चाकु खोला ए जलविद्युत आयोजनाको निमार्ण सम्पन्न हुन बाँकी संरचना निमार्ण र बैंकबाट लिइएको कर्जा भुक्तानीमा उपयोग गरिने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।