श्री इन्भेष्टमेन्ट, गोर्खाज, सेन्ट्रल, र मञ्जुश्री फाइनान्सकाे यस्तो देखियो वित्तीय विवरण

Jan 30, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका चार फाइनान्सहरू सेन्ट्रल, गोर्खाज, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र मञ्जुश्रीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा तीन फाइनान्स कम्पनीको खुद नाफा सुधार हुँदा एउटाको घटेकाे छ।

जसमध्ये गत आर्थिक बर्षको तुलनामा यस अवधिमा सेन्ट्रल, गोर्खाज, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको खुद नाफा बढोत्तरी भएको छ भने मञ्जुश्रीको खुद नाफा गिरावट आएको छ ।

गोर्खाज फाईनान्सको खुद नाफा सबैभन्दा धेरै १७१ प्रतिशत बढेको छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६६ प्रतिशत र सेन्ट्रल फाइनान्सको खुद नाफा २४.७३ प्रतिशत बढेको छ। यता मञ्जुश्री फाइनान्सको खुद नाफा भने १७१ प्रतिशतले खस्किएको छ ।

गोर्खाज फाइनान्सको खुद नाफा ६ करोड ९ लाख रुपैयाँ

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गोर्खाज फाईनान्स (GUFL) ले ६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको दोस्रो त्रैमासको तुलनामा फाइनान्सको खुद नाफा १७१ प्रतिशत अर्थात् तीन करोड ८४ लाख रुपैयाँले बढोत्तरी भएको हो ।

गत वर्ष यसै अवधिमा फाइनान्सले दुई करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । फाइनान्सको आम्दानीका सूचकहरु खासै सुधारात्मक देखिँदैनन् । यद्यपि खराब कर्जा ९ करोड ६२ लाख रुपैयाँ उठाएपछि फाइनान्सको खुद मुनाफामा उल्लेख्य रुपमा बढोत्तरी भएको हो ।

चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३४ करोड ९४ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा ५ अर्ब ९० करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले ४ अर्ब ८१ करोड ५२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी दुई करोड ३२ लाख रुपैयाँले घटेको छ । चालु आवको पुसमसान्तमा फाइनान्सले ७ करोड ५४ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा ९ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा फाइनान्स एक करोड ९२ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा छ ।

फाइनान्समा निष्कृय कर्जा अनुपात ४.३२ प्रतिशत छ भने प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०४ पैसा छ र प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २६ पैसा छ। जसको मूल्यआम्दानी अनुपात ७.६९ गुणा रहेको छ ।

श्री इन्भेष्टमेन्टले बढायो ६६ प्रतिशतले खुद नाफा

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा श्री ईन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) ले ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा फाइनान्सको खुद नाफा ६६ प्रतिशत अर्थात दुई करोड २८ लाख रुपैयाँले बढेको हो ।

गत वर्षको यसै अवधिमा फाइनान्सले तीन करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थिया । फाइनान्सले खर्चका सूचकहरुलाई सन्तुलनामा राख्दै ब्याज आम्दानी वृद्धि गर्दा फाइनान्सको नाफा बढेको हो ।

चुक्ता पूँजी ८१ करोड रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा २१ करोड ७९ लाख रुपैयाँ सञ्चित छ । फाइनान्सले चालु आवको दोस्रो त्रैमाससम्मा ४ अर्ब ३५ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरि तीन अर्ब ९८ करोड २५ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

समीक्षा अवधिमा फाइनान्सले ११ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ४ करोड ६७ लाख रुपैयाँले धेरै हो । फाइनान्सको सञ्चालन नाफा ९ करोड ८ लाख रुपैयाँ छ ।

फाइनान्समा निष्कृय कर्जा अनुपात ०.१९ प्रतिशत छ भने प्रतिशेयर आम्दानी १४ रुपैयाँ २४ पैसा छ । यस्तै प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ९१ पैसा र मूल्यआम्दानी अनुपात ९.३४ गुणा बढी छ ।

सेन्ट्रलको खुद नाफा २५ प्रतिशत माथि

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सेन्ट्रल फाइनान्स (CFCL) ले दुई करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा फाइनान्सको खुद नाफा २५ प्रतिशत अर्थात ५५ लाख रुपैयाँले बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सले दुई करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १८ करोड ७२ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्ममा तीन अर्ब १२ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले दुई अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस त्रैमासमा फाइनान्सले ७ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी ५४ प्रतिशत अर्थात दुई करोड ५७ लाख रुपैयाँले बढेको हो । गत वर्ष यसैअवधिमा फाइनान्सले ४ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

फाइनान्समा खराब कर्जा अनुपात १.४९ प्रतिशत र प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८६ पैसा छ । यस्तै प्रतिशेयर नेटवर्थ १२२.७४ पैसा तथा मूल्य आम्दानी अनुपात १६.६१ गुणा छ ।

मञ्जुश्री फाइनान्सको नाफा ३ करोड घट्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मञ्जुश्री फाईनान्स (MFIL) ले एक करोड ७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा फाईनान्सको खुद नाफा ७४.०५ प्रतिशत अर्थात तीन करोड ६ लाख रुपैयाँले घटेको हो ।

गत वर्षको यसै अवधिमा फाईनान्सले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कर्मचारी खर्च र सम्भावित जोखिम व्यवस्थापन गर्दा फाइनान्सको नाफा संकुचित भएको हो । फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी दुई रुपैयाँ ६७ पैसा मात्र छ ।

८० करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको फाईनान्सको जगेडा कोषमा ११ करोड ६८ लाख रुपैयाँ सञ्चित छ । पुस मासन्तसम्ममा ६ अर्ब ४० करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले ५ अर्ब ६८ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा फाईनान्सले ११ करोड १७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गतबर्षको तुलनामा फाईनान्सको खुद ब्याज आम्दानी ५० प्रतिशत अर्थात तीन करोड ७१ लाख रुपैयाँले वृद्धि भएको हो ।

खराब कर्जा अनुपात ३.१० प्रतिशत रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात ४३.०७ गुणा बढी रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।