अजोड, सानिमा र जनरल इन्स्योरेन्स गत वर्ष देखि सञ्चालनमा आएका नयाँ निर्जीवन बीमा कम्पनीहरु हुन् । सबै कम्पनीको चुक्ता पूँजी समान ७० करोड रुपैयाँ छ ।
बीमा समितिको निदेशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्नेछ। त्यस अनुसार हरेक कम्पनीहरुले जारी पूँजीको ३० प्रतिशत सार्वसाधारणलाई आईपिओ जारी गरी न्युनतम चुक्ता पूँजी पुर्याउनेछ।
खुद बीमा शुल्क संकलनमा जनरल इन्स्योरेन्सको ५१ प्रतिशत योगदान
तीन नयाँ निर्जीबन बीमा कम्पनीहरुले चालु आवको ६ महिना अवधिमा कुल १० करोड ९१ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । जसमा जनरल इन्स्योरेन्सको मात्रै ५१.५ प्रतिशत योगदान छ। यस अवधिमा जनरल इन्स्योरेन्सले ५ करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका हो।
यस्तै अजोड इन्स्योरेन्सले ३ करोड ७६ लाख रुपैयाँ र सानिमा इन्स्योरेन्सले सबै भन्दा कम १ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।
जनरल इन्स्योरेन्सको ७ करोड ४३ लाख दाबी भुक्तानी गर्न बाँकी, खुद नाफामा पनि अघि
जनरल इन्स्योरेन्सले बीमा शुल्क र नाफा बढेको भएपनि ठूलो रकम दाबी परेको रकम भुक्तानी गर्नुपर्ने देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीले ७ करोड ४३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ। यस अवधिमा कम्पनीले १ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
५ करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको जनरल इन्स्योरेन्सले एक करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
सानिमाले १ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस कम्पनीले ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यस्तै यस अवधिमा अजोड इन्स्योरेन्सले एक करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने २१ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस कम्पनीले दाबी वापत परेको ५७ लाख ६९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
जगेडा कोषमा अजोड, बीमा कोषमा सानिमा अगाडि
अजोड इन्स्योरेन्सको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा मजबुत देखिएको छ । नयाँ निर्जीबन बीमा कम्पनीमध्ये कम्पनीको जगेडा कोष सबैभन्दा धेरै २ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । यो अन्य नयाँ कम्पनीको तुलनामा करिब एक करोडले बढी हो ।
जनरल इन्स्योरेन्सको जगेडा कोषको आकार एक करोड ५२ लाख रहेको छ भने सानिमा इन्स्योरेन्सको जगेडा कोषमा एक करोड ४१ लाख रुपैयाँ सञ्चित छ ।
यस्तै सानिमा इन्स्योरेन्सको बीमा कोष अन्य दुईभन्दा बलियो देखिएको छ । कम्पनीको बीमा कोषमा एक करोड ७९ लाख छ सञ्चित छ । जनरल इन्स्योरेन्सको बीमा कोषमा एक करोड ६९ लाख र अजोड इन्स्योरेन्सको ६१ लाख ९३ हजार रुपैयाँ मात्र सञ्चित छ ।