बैंकले फागुन १७ गते शुक्रबार रितिपूर्वक आवेदन दिने सर्वसाधारण र व्यक्तिगत तवरबाट आवेदन गरेका लगानीकर्तालाई माग अनुसार नै ऋणपत्र बाँडफाँड गरेको जनाएको छ।
बैंकले सर्वसाधारणतर्फ निष्काशन गरेको १६ लाख कित्ता ऋणपत्रमध्ये एक लाख ४१ हजार ८१ कित्ता ऋणपत्र बिक्री भएको छ। यो सर्वसाधारणमा निष्काशन गरिएमध्ये ८.८२ प्रतिशत मात्र हो।सर्वसाधारणतर्फ एक हजार ९९ जना आवेदकले ऋणपत्र खरिद गरेका हुन्।
यसैगरि व्यक्तिगत तवरबाट निष्काशन गरिएको २४ लाख कित्ता ऋणपत्रमध्ये व्यक्तिगत तथा संस्थागत लगानीकर्ताबाट माग भए बमोजिम नै २२ लाख ६३ हजार ६०० कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ। व्यक्तिगत तवरतर्फ भने बैंकको ऋणपत्र ९४.३२ प्रतिशत बिक्री भएको छ। व्यक्तिगत तवरमा २४ वटा आवेदन परेकाे थियाे।
व्यक्तिगत तवरबाट निष्काशन गरिएकाे ऋणपत्र ९४ प्रतिशत बिक्री हुने तर व्यक्तिगत तवरबाट बिक्री गरिएकाे ऋणपत्र १० प्रतिशत पनि बिक्री नहुनुले के देखाउँछ भने सर्वसाधारण लगानीकर्ता ऋणपत्रमा लगानी गर्न अझै तत्पर देखिँदैनन्।
बैंक मुद्दती बचतमा भन्दा ऋणपत्रमा उच्च ब्याजदर पाइने भएपनि ज्ञानकाे अभावका कारण ऋणपत्र बिक्री गर्न बैंकहरूलाइ थप चुनाैती थपिन थालेकाे छ। यसअघि जारी हुने ऋणपत्र भने सबै बिक्री हुने गरेकाे थियाे ।
लगानीका लागि दीर्घकालीन स्राेत संकलनका दृष्टिले ऋणपत्र जारी गर्ने गरिन्छ। केन्द्रीय बैंकले चालु आवकाे माैद्रिक नीतिकाे मध्यावधि समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुको साधन परिचालनमा देखिने असन्तुलनलाई न्यूनीकरण गर्न दीर्घकालीन ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ। तर सर्वसाधारणमा ऋणपत्र र यसकाे फाइदा बुझाउन नसक्दा निष्काशित सबै ऋणपत्र बिक्री नहुने अवस्था सृजना भएकाे छ । यसले केन्द्रीय बैंकको नीति नै असफल हुने संकेत गर्दछ।
बैंकले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको बिक्री प्रबन्धकत्वमा गत माघ १३ गतेदेखि फागुन १३ गतेसम्म ४ अर्ब रुपैयाँको बराबरको ४० लाख कित्ता ‘१०% एनआइसी एशिया ऋणपत्र २०८५।८६’ बिक्री गरेको थियो । दश वर्ष अवधिको उक्त्त ऋणपत्रमा वार्षिक १० प्रतिशत नै ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ।
ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम २० लाख कित्ता अर्थात दुई अर्ब रुपैयाँसम्मको आवेदन दिने व्यवस्था रहेको थियो ।
बैंकले निष्काशन गर्ने ऋणपत्रलाई केयर रेटिङ्गस् नेपालले पुस २० गते लो क्रेडिट रिक्स जनाउने ’केयर एनपि ए’ ग्रेडिङ्ग प्रदान गरेको थियो । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।