नेशनल लाइफको साधारण भन्दा संस्थापक शेयर किन भयो उच्च मूल्यमा कारोबार ?

Mar 15, 2019 Merolagani

बिहीबार नेपाल स्टक एक्सचेञ्जमा नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर साधारण शेयरको भन्दा उच्च मूल्यमा कारोबार भयो । झण्डै दुई लाख कित्ता शेयर बजारमूल्य भन्दा उच्च मूल्यमा कारोबार भएपछि लगानीकर्ता अलमलमा परेका छन् ।

नेप्सेको तथ्यांक अनुसार नेशनल लाइफको साधारण तर्फको शेयरको मूल्य प्रतिकित्ता ६६९ रुपैयाँ छ । यसै दिन नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर प्रतिकित्ता १०७० रुपैयाँमा कारोबार भयो ।

नेप्सेका अनुसार अहिले संस्थापक शेयरको बजार भाउ प्रतिकित्ता ४०० रुपैयाँ छ । गत कार्तिक ८ गते नेशनल लाइफको संस्थापक शेयर प्रतिकित्ता ४०० रुपैयाँदरले कारोबार भएको थियो ।

प्रतिकित्ता ४०० रुपैयाँ रहेको शेयर एकाएक प्रतिकित्ता १०७० रुपैयाँका दरले झण्डै दुई लाख कित्ता शेयर किनबेच भएपछि लगानीकर्तामा चासोको बिषय बनेको छ ।

विहीबार नेशनल लाइफको संस्थापक शेयरको कारोबार दुई वटा ब्रोकर मार्फत भएको देखिन्छ । कुल २१ करोड रुपैयाँ बराबरको एक लाख ९६ हजार २६२ कित्ता शेयर किनबेच भएकोमा उक्त शेयर ब्रोकर नं २० र ब्रोकर नं ४९ बाट मात्र खरिदबिक्री भएको छ ।

नेशनल लाइफको उक्त परिमाणको संस्थापक शेयर गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टको टिबिआई ग्रुप नेपालले खरिद गरेको हो । झण्डै डेढबर्ष पहिले भएको सम्झौता अनुसार विहिबार नेप्सेमा म्यानुअल कारोबार गराईएको हो । यो कारोबारपछि टिबिआईको शेयर हिस्सा ०.७४ प्रतिशत कायम हुनेछ। कम्पनीको हालको चुक्ता पूँजी दुई अर्ब ६४ करोड रुपैयाँ रहेको छ।

नेशनल लाइफ इन्स्योरेन्सले गत असारमा ६० प्रतिशत हकप्रद बिक्री गरेको थियो । कम्पनीले हकप्रद बिक्री गर्नुपूर्व नै टिबिआईले शेयर खरिद सम्झौता गरिसकेको थियो ।

नेप्सेका अनुसार विहीबार नेशनल लाइफको 'बल्क' कारोबार भएको हो । शेयर खरिद बिक्री सम्झौता अनुसार हुने यस्तो कारोबारले बजार मूल्यमा कुनै फरक नपार्ने नेप्सेको भनाई छ । दुई पक्षबिच भएको खरिद बिक्री सम्झौताका आधारमा नेप्सेले कारोबार गराईदिने हो । यसको नियमित बजार प्रणालीसँग कुनै सम्बद्ध हुदैन । नेप्सेका एक अधिकारीले  मेरोलगानसँग भने ।

यस किसिमको कारोबार गराउनका लागि नेप्सेले नेगोसिएशन विण्डो प्रयोग गर्ने गर्छ । जसका कारण दोस्रो बजारमा कारोबार भईरहेको शेयरमूल्यलाई यस्तो कारोबारले कुनै असर पार्दैन ।

 

नेशनल लाईफ इन्स्योरेन्सले यही चैत्र १५ गते बार्षिक साधारणसभा राखेको छ । बाषिक साधारणसभाका लागि चैत्र एक गते शेयर धनी किताब बन्द हुने भएपछि लामो समयदेखि अड्किएको म्यानुअल कारोबार बुक क्लोजको एक दिन पहिले सेटल गरिएको हो ।

साधारणसभामा भाग लिन फागुन ३० गतेसम्म शेयरधनी बन्नु पर्ने भएपछि विहिबार नै पुरानो सम्झौता अनुसार शेयर कारोबार गराइएको हो ।

नेशनल लाइफले चैत्र १५ गते हुने साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयरको प्रस्ताव समेत लग्दैछ ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गरी जारी पूँजी ४ अर्ब पुर्याउने तथा हाल कायम रहेको संस्थापक समूह ’क’ र विदेशी लगानीकर्ता समूह ’ख’ लाई एउटै समूह ’क’ मा राख्ने र ’ख’ हटाउने प्रस्ताव पनि रहेको छ’ ।

यसपछि ’ख’ बाट प्रतिनिधित्व हुने संस्थापक सञ्चालक पनि ’क’ बाटै प्रतिनिधित्व हुने प्रस्ताव साधारणसभामा लगिदैछ । बिहिवारको शेयर कारोबारले संस्थापक शेयरधनीका तर्फबाट व्यवस्थापन समितिमा टिबिआईले समेत स्थान ओगट्ने अनुमान गरिएको छ ।

हाल कम्पनीको दुई अर्ब ६४ करोड ९७ लाख रूपैयाँ रहेको चुक्ता पूँजी बोनस शेयर वितरण पश्चात तीन अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा नेशनल इन्स्योरेन्सले २ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रो त्रैमास सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी अनुपात ५४.८७ गुणा बढी छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।