अहिले सञ्चालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीको विकास हुने समयमा शेयर बजारलाई प्यानको दायरामा ल्याउने विषयमा केही चर्चा परिचर्चाहरु भएका थिए । तर अहिलेको जस्तो मुर्त रुप प्यानले पाएको थिएन ।
जसका कारण अनलाइन कारोबार प्रणालीको विकास गर्दा प्यानलाई कसरी इन्टिग्रेट गर्न सकिन्छ भन्ने सम्बन्धमा कुनै गृहकार्य भएन । फलतः अहिले प्यान कार्यान्वायनमा ल्याउने निर्णय भए पनि अलपत्र पर्ने देखिएको हो ।
यस सम्बन्धमा अनलाइन प्रणालीको विकास गरेको वाइकोसँग कुनै जवाफ छैन । शुक्रबार नेप्सेमा भएको विशेष र गोप्य भनिएको छलफलमा प्यानका सम्बन्धमा वाइकोलाई सहभागिहरुले सोधेका थिए । तर वाईकोका प्रतिनिधिले यस सम्बन्धमा कुनै जवाफ दिन सकेनन् ।
‘नयाँ विषय आयो, यसमा हामी बुझ्ने काम गर्छौं ।’ योमरी अर्थात वाइकाले प्यानलाई अनलाइन इन्टिग्रेट गर्ने सम्बन्धमा दिएको अभिव्यक्ति यति मात्र हो । न त उसले प्यान अनलाइनमा इण्टिग्रेट हुन्छ भन्न सक्यो, न त हुँदैन नै भन्न सक्यो । यसले छलफलमा सहभागि भएका सबै अलमलमा परे ।
प्रणालीको विकास गरेको भेण्डर कम्पनीले नै प्यानलाई कसरी अनलाइनमा आबद्ध गर्ने भन्न नसके पछि नेप्सेले पनि केही बोल्न सक्ने अवस्था देखिएन । र छलफपल अनलाइन प्रणालीको समस्याका बारेमा केन्द्रित भयो ।
अनलाइन प्रणाली माथि प्रश्न उठिरहेका बेला प्यानको विषय पनि जोडिएपछि अबका दिनमा वाइकोलाई झनै कामको दवाव पर्ने निश्चित छ । किनकी उसले एक पटक अनलाइन प्रणाली बनाएर नेप्सेलाई हस्तान्तरण गरे पछि फर्केर नहेर्ने गरी काम गरेको हैन ।
अब नेप्सेले दोस्रो बजारमा प्यान कार्यान्वयनको प्राविधिक पाटो सहित वाइकोलाई काममा लगाउने समय आएको बुझ्न सकिन्छ । हैन भने यही अनलाइन प्रणालीमा प्यानलाई आबद्ध गर्ने सम्बन्धमा नेप्सेले आन्तरिक गृहकार्य सुरु गर्नु पर्ने हुन्छ । तर अहिले समस्या तत्काल पहिचान नै हुन नसकिरहेको अवस्थामा नेप्से आफैंले मात्र थप केही गर्न सक्ने देखिँदैन ।