नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले एक औपचारिक कार्यक्रम बीच एकिकृत कारोबारको शुभारम्भ गरेका थिए। प्रमुख अतिथि रेग्मीले ज्योति विकास बैंक एउटा सबल विकास बैंक भएकोमा हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने विश्वास व्यक्त गर्नु हुदै बैंकको सफलताको कामना गरेका छन् ।
ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले दुई बैंक बीच एकिकृत कारोबार शुभारम्भ भएकोमा खुसी लागेको र थप जिम्मेवारी बढेको बताउनु हुँदै अझ विस्तारित सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। उता हाम्रो विकास बैंकका अध्यक्ष हरि प्रसादले नागरिकलाई सरल र सहज सेवा प्रदान गर्न १० वर्ष अगाडि स्थापना भएको हाम्रो विकास बैंकले नागरिक र देशको लागि योगदान दिएको र उक्त कार्य अब अझ विस्तारित रुपमा अघि बढ्ने बताए ।
ज्योतिका प्रमूख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रिय स्तरको बैंकहरुमा चुक्ता पूँजीको हिसाबले सबै भन्दा ठूलो विकास बैंक भएको, शाखा सञ्जाल र बैंङ्गिग सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउनु हुँदै लघु कर्जा देखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।
चुक्ता पूँजीको हिसाबले सबैभन्दा ठूलो विकास बैंक
हाम्रो विकास बैंकलाई प्राप्ती गरेसँगै ज्योति विकास बैंक चुक्ता पूँजीको हिसाबले देशकै सबैभन्दा ठूलो विकास बैंक बनेको छ । एकीकृत बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
यसैगरि एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढी पुगेको छ भने निक्षेप सकलन २६ अर्ब ३८ करोड र कर्जा २३ अर्ब ५७ करोड पुगेको छ भने शाखा संख्या ९५, एटीएम संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ ।
साथै यसै आर्थिक वर्ष भित्र थप २ वटा नयाँ शाखा तथा थप २६ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ। शुक्रबार देखि नै ज्योति विकास बैंकले नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत सञ्चालनमा ल्याएको छ।