हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल (तत्कालिन काठमाडौं क्यापिटल) का अनुसार आईपिओमा एक हजार २१६ जना आवेदकबाट एक लाख तीन हजार ६०० कित्ताका लागि मात्र आवेदन परेको हो।
कम्पनीले निष्काशन गरेको आइपिओको यो ५.७५५५ प्रतिशत मात्र हो। निष्काशित ९४.२४४ प्रतिशत अर्थात १६ लाख ९६ हजार ४०० कित्ता आईपिओ बिक्री हुन नसकेको हो। ग्रीनलाईफले स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत अर्थात १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो।
स्थानीयबाट अवितरित भएको उक्त आईपिओ अब सर्वसाधारणका लागि निष्काशन हुने १८लाख कित्तामा थप भएर निष्काशन हुनेछ ।
आईपिओमा समूह क अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत), समूह ख अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार (४० प्रतिशत) कित्ता, र समूह ग अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयरमा माग आवेदन गरिएको थियो । सो आईपिओमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने व्यवस्था थियो।
हाइड्रोपावर कम्पनीहरुले आयोजनाबाट प्रभावित बासिन्दाका लागि पहिलो चरणमा निष्काशन गर्ने शेयर आरक्षित गरेर निष्काशन गर्न गर्दछन्। स्थानीय बासिन्दाहरु त्यस क्षेत्रमा आयोजना सञ्चालन हुँदा त्यस आयोजनाबाट प्रत्यक्ष रुपमा आयोजनाले प्रभाव पार्ने हुँदा आयोजनाबाट हुने आम्दानीमा स्थानीय जनताको हिस्सेदारी कायम रहोस् भन्ने उदेश्यले कानूनी रुपमा नै आरक्षण गर्ने व्यवस्था गरिएको छ ।
आरक्षणमा प्राप्त हुने भएकाले यस्तो शेयर बिक्री भएर बाँडफाँड गरेको तीन वर्षसम्म बिक्री वितरणका लागि बन्देज लगाइएको हुन्छ। यसले पनि स्थानीयका लागि आरक्षित शेयरमा लगानीकर्ताको आकर्षढण घट्दो छ।
केयर रेटिङ्ग नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको कारण पनि लगानीकर्ताले वित्तीय अवस्था औसतभन्दा कमजोर रहँदा कम माग गर्ने गरेका हुन्।
अर्कोतर्फ हाइड्रोपावर कम्पनीबाट लामो समय पश्चात मात्र प्रतिफल प्राप्त हुनाले पनि अन्यको तुलनामा जलविद्युत कम्पनीको शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण घट्दो छ। यसअघि जारी गरेका अन्य धेरै कम्पनीहरूकाे पनि यस्तै अवस्था रहेकाे थियाे।
ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कूल लागत ६ अर्ब ३९ करोड ३८ लाख अनुमान गरिएको छ । यसअनुसार प्रतिमेगावाट लागत १७ करोड ३३ लाख पर्ने देखिन्छ ।
आयोजनाबाट साधारण लगानी फिर्ता हुन ७.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.१६ वर्ष रहेको छ। नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच यस आयोजनाबाट उत्पादन हुने विद्युत २०६८ भदौ १९ गते २०७५ चैत व्यापारिक विद्युत उत्पादन गर्नेगरि खरिद बिक्री सम्झौता भएकोमा २०७४ साउन १ गते पाँचौं संसोधन गरेको छ।
ग्रीनलाईफ हाइड्रोपावर २०६६ असोज ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपामा दर्ता भई २०७४ असार ९ गतेदेखि पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।
कम्पनीले विद्युत विकास विभागबाट वि.सं.२०६८ बैशाखमा विद्युत उत्पादन गर्ने अनुमति पाएको छ। यसअनुसार उक्त अनुमति प्राप्त भएको मितिले ३५ वर्ष अर्थात विं.स. २१०१ बैशाखसम्म कायम रहनेछ।