सेयरको वास्तविक तिरेको लागतलाई आधार नलिई बजार मूल्यको आधारमा समायोजन गर्दा लागत खर्च बढी दाबी हुने गरेको र यसरी अङ्कित मूल्यभन्दा बोनस तथा हकप्रद सेयरको वास्तविक लागत बढी समायोजन भई पुँजीगत लाभकर घटी दाखिला भएको प्रतिवेदनले औल्याएको छ ।
यस वर्ष १४ अर्ब ८० करोड २१ लाख रुपैयाँको हकप्रद र बोनस सेयरको बिक्री गरेकोमा अथार्थ लागत २ अर्ब ३० करोड ४४ लाख कट्टा गरी १२ अर्ब ४९ करोड ७६ लाख आयकर ऐन २०५८ को अनुसूची १९४० बमोजिम ५ प्रतिशत हुने कर ६२ करोड ४८ लाख ८१ हजार असुल हुनुपर्ने थियो ।
तर सेयर बजारमा हकप्रद र बोनस सेयरमा कर नलाउँदा ४ करोड ९० लाख १० हजार रुपैयाँ मात्र असुल भएको महालेखाले जनाएको छ । महालेखाले लाभकर नलगाउँदा परेको असरको यकिनगरी राजश्व असुलिमा प्रकावकारीता ल्याउन सरकारलाई भनेको छ ।
संस्थापक सेयर बिक्रीको लाभकर गणना विधि पुनरावलोकन गर
महालेखाको प्रतिवेदनले संस्थापक शेयर बिक्रीमा न्यून मूल्याङ्कन हुँदा राज्यलाई २५ करोड १३ लाख नोक्सानी भएको पनि औल्याएको छ । प्रतिवेदनका अनुसार यस वर्ष ७२ कम्पनीले २ करोड ५५ लाख २० हजार ३२२ कित्ता संस्थापक सेयर बिक्री गरेका थिए ।
खुद कारोबार रकम १० अर्ब ६४ करोड १४ लाखमा सेयर कारोबार भएको दिनको साधारण सेयर न्यूनतम मूल्यमा बिक्री गर्दा पनि १५ अर्ब ६६ करोड ८७ लाख हुने प्रतिवेदनमा उल्लेख छ ।
बिक्रीमा फरक परेको ५ अर्ब २ करोड ७२ लाखमा समेत पुँजीगत लाभकर गणना एवं असुल गर्नुपर्नेमा लाभकर गणनाको २०६४ चैत्र ५ को अर्थ मन्त्रीस्तरीय निर्णयका कारण ५ प्रतिशत लाभकर बापत २५ करोड १३ लाख घटी हुनपुगेको उल्लेख छ । प्रतिवेदनमा लाभकर गणना सम्बन्धमा भएको मन्त्रीस्तरीय निर्णय पुनरावलोकन गर्न पनि सुझाइएको छ ।