यस्तै आर्थिक बर्ष २०७४/७५ मा पेनेट्रेसन दर ३ प्रतिशतले बढेर १४ प्रतिशत पुगेको थियो। यो पेनेट्रेसन दर पनि बढ्ने क्रम रहेको बीमा समितिले जनाएको छ । यस अवधिमा नयाँ बीमा कम्पनी आगमनसँगै शाखा विस्तार र बैंक तथा वित्तीय संस्थाहरूबाट बीमाको सेवा दिन थालेपछि बीमाको पहूँचमा वृद्धि भएको हो ।
सबैभन्दा कान्छो बीमा कम्पनीकाे रूपमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले माघ २७ गते आफ्नो व्यवसायिक कारोबार सुरू गरेको थियो। यस अवधिमा नयाँ तथा पुराना कम्पनीहरूले आफ्नो व्यवसाय विस्तार गर्न शाखा संजाल विस्तारमा तिब्र पारेका छन्।
हालसम्म बीमा समितिबाट इजाजत लिई सञ्चालनमा रहेका बीमा कम्पनीहरू ३९ रहेका छन्। जीवन बीमातर्फ १९ कम्पनी रहेका छन्। निर्जीवन बीमातर्फ भने २० वटा कम्पनी रहेका छन्। नेपाल पुर्नबीमा कम्पनी सहित गणना गर्दा बीमा कम्पनीहरूको संख्या ४० पुग्छ ।
बीमा विद्येयक संघिय संसदमा दर्ता, दफावार छलफलको क्रममा बीमा विद्येयक २०७५ संघीय संसदमा दर्ता भएको छ। हालको बीमा समितिलाई प्राधिकरणमा रूपान्तरण गर्ने गरी बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा छलफलका क्रममा रहेको छ ।
बीमक कम्पनीलाई लगनीको लागि थप बाटो खुल्ला
यस अवधीमा बीमा समितिले बीमक कम्पनीको लागि लगानीको थप बाटो खुल्ला गरेको छ। समितिले बीमकको लगानी निर्देशिका संसोधन गरी घरजग्गामा समेत लगानी गर्न सकिने व्यवस्था गरेको हो। घरजग्गामा व्यवसायमा बीमक कम्पनीले कुल टेक्निकल रिजर्भको ५ प्रतिशत लगानी गर्न सकिने व्यवस्था छ।
यस्तै बीमा कम्पनीहरूले साधारण शेयर, अग्राधिकार शेयर, ऋणपत्र, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वधारमा ऋण वा पूँजी लगानी गर्न सकिने व्यवस्था गरेको छ । नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरू, बैंक तथा वित्तीय संस्थाहरूको मुद्धति निक्षेपमा लगानी गर्न सकिनेछ । बीमा समितिले जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीका लागि एउटै लगानी निर्देशिका जारी गरेको हो ।
सम्पत्ति बीमा निर्देशिका परिमार्जित, एक करोडको घर चार हजारमा बीमा
यस वर्ष बीमा समितिले सम्पत्ति बीमा निर्देशिका परिमार्जित गरी एक करोड पर्ने घरको चार हजार रूपैयाँमा बीमा गर्न सकिने व्यवस्था गरेको छ ।
गत माघ १ गते देखि लागु भएका सम्पत्ति बीमा निर्देशिकाले घर बीमा अन्र्तगत हुलदंगा र आतंकबाद जोखिम बाहेक सबै जोखिम समेटिनेछ ।
समितिले निर्जीवन बीमा अन्र्तगत अग्नी बीमालेख र गार्हस्थ बीमालेखलाई एकै निर्देशिका (सम्पत्ति बीमा निर्देशिका) को अधिनमा रहि सम्पत्ति बीमालेख र घर बीमा लेखले प्रतिस्थापन गरिएको हो ।
सम्पत्ति बीमालेख तथा घर बीमालेख अन्तर्गत सबै प्रकारका बीमायोग्य जोखिमको बीमा एउटै बीमालेखमा रक्षावरण हुने तथा व्यावसायिक प्रयोजनका लागि सम्पत्ति बीमा लेख र आवासीय घरको घर बीमा लेख लिन सकिने व्यवस्था छ ।
बीमालेख अन्तर्गत अग्नीजन्य, चट्याङजन्य, विस्फोटनजन्य, आतंकबादजन्य र मिसाईल टेस्टिङ अपरेशन लगायतका कारणले हुने क्षतिको रक्षावरण गर्दछ ।
वैदेशिक रोजगार (म्यादी बीमा) मा पुल प्रणाली
माघ १ गते देखि बैदेशिक रोजगार (म्यादी जीवन बीमा) व्यवसाय पुल (एकद्धार प्रणली) मार्फत संचालन आएको छ । यसले म्यादी जीवन बीमा व्यवसायलाई पारदर्शी, मर्यादित, व्यवस्थित तथा बढीभन्दा बढी ग्राहक सेवाउन्मुख बनाउने बीमा समितिको दाबी छ ।
पछिल्लो समय बैदेशिक रोजगार (म्यादी बीमा) मा नक्कली बीमालेख जारी भएको भेटिएपछि बीमा समितिले एकद्धार प्रणली अपनाईएको हो। वैदेशिक रोजगारमा जाने कामदारको म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको पनि बीमा समितिको ठहर छ।
यस वर्ष समितिले लघुबीमा निर्देशिका, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवरण सम्बन्धी निर्देशन पनि जारी गरेको छ ।