६ वटा कम्पनीले को एक अर्ब ७६ करोड ८४ लाख ९२ हजार ८ सय रुपैयाँ बराबरको १३ करोड ६४ लाख ८४ हजार ९२८ कित्ता आईपिओ निष्काशन गर्न लागेका हुन् । यसमा नबिल व्यालेन्स फण्ड २, रसुवागढी र साञ्जेन जलविद्युतको आईपिओ बिक्री खुल्ला भईसकेको छ ।
गत चैत २७ गते धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न सक्ने व्यवस्था गरेको छ । जसले गर्दा आईपिओमा लगाानी गर्न थोरै रकम भए पनि हुने भएको हो । यो व्यवस्था अनुसार एउटा कम्पनीमा १ हजार रुपैंयाको दरले ६ वटाको आईपिओमा जम्मा ६ हजार मात्र लगानी गर्न सकिन्छ । यस अघि सार्वजनिक निष्काशनमा न्यूनतम ५० कित्तासम्मका लागि एउटै कम्पनीमा ५ हजार रुपैंयाको आवेदन गर्नु पर्ने व्यवस्था थियो ।
आईपिओ निष्काशन गर्न लागेका मध्ये ५ कम्पनीले आईपिओ बिक्री निष्काशनको मिति सार्वजनिक गरिसकेका छन् भने गुराँस लघुवित्तले आईपिओ निष्काशनको मिति सार्वजनिक गरेको छैन् । दुई हाइड्रोपावर कम्पनी, तीन वटा लघुवित्त र एउटा म्युचुअल फण्डले आईपिओ निष्काशन गर्दै छन् ।
यसरी एक हप्ताको अन्तरालमा धेरै कम्पनीले आईपिओ निष्काशन गर्दा दोस्रो बजारमा शेयरको संख्या एकै पटक झण्डै १३ करोड कित्ताले बढ्नेछ । यसले समग्र बजार पूँजीकरणको आकार बढाउन धेरै टेवा पुर्याउनेछ ।
१११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युतले सर्वसाधारणको लागि बैशाख ६ गते देखि १० गतेसम्म आईपिओ बिक्री गर्ने भएका छन् । २ वटा हाइड्रोपावरले अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै रकमको शेयर निष्काशन गर्न लागेका हुन् । २ कम्पनीले मात्र एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्री गरिरहेका छन् ।
पोखरामा केन्द्रिय कार्यालय रहेको नेपाल एग्रो लघुवित्तले बैंशाख ८ गते देखि ११ गतेसम्म आईपिओ निष्काशन गर्ने भएको छ । लघुवित्तले एक करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको एक लाख ६१ हजार ७७८ कित्ता शेयरको बिक्रि खुल्ला गर्ने भएको हो ।
त्यस्तै गणपति माइक्रोफाइनान्सले तीन करोड ३५ लाख रुपैयाँ बराबरको तीन लाख ३५ हजार कित्ता शेयर यही बैशाख ९ गतेदेखि १३ गतेसम्म निष्काशन गर्दैछ ।
नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा सञ्चालित नबिल ब्यालेन्स फण्ड २ ले बैंशाख ५ गते देखि सर्वसाधारणको लागि इकाइ निष्काशन गरिरहेको छ । फण्डले प्रतिइकाई १० रुपैयाँका दरले १२ करोड रुपैयाँको एक करोड २० लाख इकाई जारी गरेको हो ।
यता गुराँस लघुवित्तले धितोपत्र बोर्डबाट आईपिओ निष्काशनको अनुमति प्राप्त गरे पनि निष्काशन मिति तोकेको छैन् । लघुवित्तले दुई करोड ५० लाख रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न बोर्डबाट स्वीकृती प्राप्त गरेको हो ।