बिहीबार सार्वजनिक चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण बैंकको निक्षेप संकलनको आकार बढाएर एक खर्ब नघाएको बैंकको कर्जा परिचालनको आकार पनि १८ प्रतिशतले वृद्धि भएको छ। जसले खुद ब्याज आम्दानीमा १६ प्रतिशतले सुधार आउँदा नाफा वृद्धिमा टेवा पुगेको देखिन्छ ।
यद्यपी बैंकको वित्तीय विवरणमा कोषको लागत र खराब कर्जा अनुपात गत आवको यसै अवधिको तुलनामा केही वृद्धि भएको छ भने पूँजी कोष घट्दा दबाब सृजना भएको छ ।
तीन महिनामा बढायो पौने ५८ करोड खुद नाफा
नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरणमा एसबिआई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ५७ करोड ७८ लाख ५६ हजार रुपैयाँले खुद नाफा बढाएको छ।
दोस्रो त्रैमाससम्म एक अर्ब २ करोड २८ लाख खुद नाफा कमाएको यस बैंकले नाफा चैत मसान्तसम्ममा एक अर्ब ६० करोड ६ लाख ४७ हजार रुपैयाँ पुगेको हो।
गत आवको ९ महिना अवधिमा बैंकले एक अर्ब ३७ करोड ९७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आवको यसै अवधिको तुलनामा बैंकले १६.०१ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो।
वितरण योग्य नाफा एक अर्ब १७ करोड
एनएफआरएस प्रतिवेदन अनुसार बैंकले खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्था पश्चात बैंकले एक अर्ब १७ करोड ८३ लाख ७६ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ। जुन खुद नाफाभन्दा ४२ करोड २२ लाख कम हो।
एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ३२ करोड एक लाख, पूँजीगत रिजर्बमा ५ करोड ७० लाख, संस्थागत समाजिक उत्तरदायित्वमा ८० लाख ७० हजार र रेगुलेटरी रिर्जब कोषमा २ करोड ९० लाख छुट्टाएको छ।
९ महिना अवधिमा गरेको नाफाअनुसार चालु आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई १८.६० प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।
निक्षेप संकलन र कर्जा लगानी दुबै १८ प्रतिशत बढ्यो
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको कर्जा विस्तार र निक्षेप संकलन दुबै १८ प्रतिशत बढीले विस्तार गरेको छ। बैंकहरुको मुख्य आम्दानी नै निक्षेप संकलन गरि कर्जा लगानीबाट प्राप्त हुने नै प्रमुख आम्दानी हो। यसबाट नै बैंकको खुद नाफा निर्धारण हुने गर्दछ।
गत चैत मसान्तको निक्षेप संकलन एक खर्ब ८ लाख र कर्जा प्रवाह रकम ८५ अर्ब ७९ करोड ४३ लाख पुगेको छ । गत आवको यसै अवधिमा बैंकको निक्षेप संकलन ८४ अर्ब २२ करोड ७३ लाख र कर्जा लगानी ७२ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ रहेको थियो।
गत आवको चैतमा दुई अर्ब ८९ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको चैत मसान्त आइपुग्दा तीन अर्ब ३५ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो। बैंकले ८ अर्ब १६ करोड ९५ लाख ब्याज आम्दानी गरेर ४ अर्ब ८१ करोड २२ लाख ब्याज खर्च गरेको हो।
प्रतिशेयर आम्दानी २ रुपैयाँ ४० पैसा बढ्यो
गत आर्थिक वर्षको नाफाबाट १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस वितरण गरेर पूँजी वृद्धि गरेको एसबिआईको पूँजी भन्दा नाफा वृद्धि उच्च हुँदा प्रतिशेयर आम्दानीमा २ रुपैयाँ ४० पैसा सुधार आएको छ।
चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८६ पैसाबाट २५ रुपैयाँ २६ पैसामा बढेको हो। बैंकको जगेडा कोष ५.८४ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष ४ अर्ब ७५ करोड ४१ लाख रहेकोमा हाल ५ अर्ब ३ करोड २० लाखमा वृद्धि भएको हो।
आधार ब्याजदर घट्यो, कोषको लागतमा बढोत्तरी
गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर घटेको छ भने निक्षेप संकलन लागत भने वृद्धि भएको छ।
यस अवधिमा बैंकको आधार ब्याजदर घटेकोले ऋणीलाई केही सस्तो ब्याजमा नै ऋण पाउन सहज बनेको छ भने लगानीयोग्य तरलता संकटका कारण प्रतिस्पर्धि ब्याजदरमा निक्षेप संकलन गर्दा धेरै वाणिज्य बैंकहरुको निक्षेप संकलन लागत भने बढेको छ।
गत वर्षको चैत मसान्तमा ९.८९ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ९.७३ प्रतिशतमा झरेको छ भने कोषको लागत ५.२६ बाट ५.८६ प्रतिशतमा बढेको छ।
समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात पनि केही बढेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा ०.१३ प्रतिशत मात्रै रहेको खराब कर्जा अनुपात बढेर ०.१९ प्रतिशतमा बढेको हो। बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ५६ पैसा, मूल्य आम्दानी अनुपात १६.४६ गुणा र कर्जा निक्षेप अनुपात घटेर ७५.५८प्रतिशतमा झरेको छ।