रसुवागढी र सान्जेनको आइपिओमा लगानी गर्नेले कहिले पाउँछन् प्रतिफल ?

Apr 25, 2019 Parmeshwor Adhikari

- परमेश्वर अधिकारी
जलविद्युतमा जनताको लगानी कार्यक्रम अन्तरगत निष्काशन भएको रसुवागढी र सान्जेन जलविद्युतको शेयरमा लगानीकर्ता अपेक्षित हुनु स्वभाविक हो । जलविद्युत कम्पनीहरुको शेयर बिक्री नभएर सास्ती खेपिरहेका बेला यी २ ठूला निष्काशनमा लगानीकर्ताको अधिक रुची देखिनुले प्रतिफलको अपेक्षालाई उत्तिकै विम्बित गर्छ ।

दुर्व कम्पनीले स्वपुँजी अन्तर्गत सर्वसाधारण समुहका सेयरधनीलाई छुट्याइएको ४९ प्रतिशत शेयर विभिन्न चरणमा गरेर बिक्री गरेका हुन् । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीका संस्थापक संस्थाका कर्मचारीहरु तथा ऋणदाता कर्मचारीहरुलाई पहिलो चरणमा, दोस्रो चरणमा आयोजना प्रभावितका लागि र तेस्रो चरणमा सर्वसाधारणलाई गरी १५ प्रतिशत शेयर निष्काश गरिएको हो ।

दुवै कम्पनीको शेयरमा लगानीकर्ताको निकै आकर्षण देखियो । शेयर आवेदन गर्ने अनलाइन प्रणाली मेरो शेयरमा समस्या हुँदा हुँदै पनि निर्धारित मितिमा दुवै कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन गर्नुले नै लगानीकर्ताको आकर्षणलाई चित्रण गर्छ । यस्तो अवस्थामा कम्पनीका शेयरधनीको अपेक्षित प्रतिफल अनि वास्तविकतामा धेरै फरक पर्न सक्छ ।

रसुवागढी हाइड्रोपावर

अधिकृत पूँजी ७ अर्व तथा जारी पूँजी ६ अर्व ८४ करोड २१ लाख रुपैंया छ । संस्थापक सेयरधनी समूहले कबोल गरेको ५१ प्रतिशत अर्थात १०० रुपैंया अंकित दरका ३ करोड ४८ लाख ९४ हजार ७१० कित्ता शेयरको ३ अर्ब ४८ करोड ९४ लाख ७१ हजार रुपैंया यस अघि नै चुक्ता भैसकेको छ ।

संस्थापक सेयरमा चिलिमे जलविद्युतको ३२.७९ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत र रसुवा जिल्लाका स्थानीय तहको ०.२१ प्रतिशत स्वामित्व छ ।

चिलिमे जलविद्युत कम्पनीलाई दोस्रो बजारमा विशेष किसिमले लिने गरिएको छ । यस्तो अवस्थामा चिलिमेको ठुलो लगानी र व्यवस्थापकीय नतिजा रसुवागढीमा पनि देखिने आशा लगानीकर्तामा छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधिन आयोजना १११ मेगावाटको हो । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) मा उल्लेख भए अनुसार आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ हुने अनुमान छ । माथिको तथ्यांकका आधारमा मात्र हेर्दा आयोजनाको प्रतिमेगावाट लागत साढे १२ करोड रुपैंया हाराहारी हुन्छ ।

तर आयोजनाको प्रतिमेगावाट लागत १५ करोड १२ लाख १२ हजार रुपैंया पुगेको रसुवागढीको विबरणपत्रमा उल्लेख छ । विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, भूकम्प, नाकाबन्दी लगायतका कारणहरुले निर्माण कार्य प्रभावित हुँदा अवधि लम्बिए पछि लागत बढेको बुझ्न सकिन्छ । अझै निर्माण कार्य पुरा भैनसकेका कारण उल्लेखित लागत मूल्यलाई नै अन्तिम मूल्य मान्न सकिँदैन ।

आयोजनाले अघिल्लो पटक २०७६ साल पुस १५ देखि विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखेकोमा विबरण पत्रमा फागुन ७ देखि विद्युत उत्पादन सुरु हुने उल्लेख छ ।

सञ्चय कोषका बचतकर्ताका लागि शेयर निष्काशन गर्ने प्रकृया चल्दै गर्दा १५ महिना पहिले आयोजनाको निर्माण ६० प्रतिशत सकिएको आयोजनाले बताएको थियो । अहिले ७० प्रतिशत मात्र काम सकिएको आयोजनाले बताएको छ । अर्थात १५ महिनाको अवधिमा आयोजना निर्माणको काम १० प्रतिशत मात्र पुरा भएको छ ।

आयोजना निर्माणमा देखिएको यो सुस्तताले विबरण पत्रमा उल्लेख भएको मितिमा नै विद्युत उत्पादन हुनेमा विश्वस्त हुन सक्ने देखिँदैन । अबको ११ महिनामा ३० प्रतिशत निर्माणको काम पुरा गर्न सकेको खण्डमा मात्र लगानीकर्ताले आफ्नो लगानी भएको कम्पनीले आम्दानी गर्न थालेको देख्न पाउने छन् ।

कम्पनीको विबरण पत्रलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षमा ११ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीले आगामी आर्थिक वर्षमा ५ रुपैंया ६७ पैसा प्रतिशेयर आम्दानी बनाउने छ । तर आयोजना निर्माणको काम लक्षित अवधिमा नसकिने निश्चित छ । यस्तो अवस्थामा कम्पनीको आम्दानीको प्रक्षेपण गलत सावित हुनेमा कुनै द्धिविधा हुने छैन ।

अहिलेकै गतिमा निर्माणको काम पुरा गर्न कम्पनीलाई कम्तीमा पनि ३ वर्ष समय लाग्ने देखिन्छ । यो गतिलाई तिब्रता दिएर ११ महिनामा निर्माण पुरा गरेको खण्डमा मात्र विबरण पत्रमा उल्लेख भए अनुसारको प्रगति हुने पक्का छ । मेरो लगानीसँग कुरा गर्दै रसुवागढीका प्रमुख कार्यकारी अधिकृत विश्व मल्ले लक्ष्य अनुसार लगानीकर्तालाई प्रतिफल दिने आधार बनाउने बताए ।

विबरण पत्रमा आर्थिक वर्ष २०७६ ०७७ मा ५ रुपैंया ६७ पैसा प्रतिशेयर आम्दानी कायम हुने उल्लेख छ । त्यसै गरी आर्थिक वर्ष २०७७ ०७८ मा १९ रुपैंया २४ पैसा, आर्थिक वर्ष २०७८ ०७९ मा २२ रुपैंया ४० पैसा तथा आर्थिक वर्ष २०७९ ०८० मा २५ रुपैंया ९ पैसा प्रतिशेयर आम्दानी कायम हुने प्रक्षेपण गरिएको छ ।

क्रेडिट रेटिगंका दौरान रसुवागढीलाई इक्रा नेपालले रेटिगं ४ मात्र दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । यस्तो अवस्थामा कम्पनीले लक्ष्य अनुसार विद्युत उत्पादन तथा बिक्री बितरण गर्न नसकेको अवस्थामा लगानीकर्ताले प्रतिफलमा धोका पाउने छन् ।

आयोजना निर्माण सम्पन्न भईसकेपछिको अवस्थामा भने वार्षिक ६१ करोड ३० लाख युनिट विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा ८ रुपैंया ४० पैसा प्रतियुनिट र वर्षयाममा ४ रुपैंया ८० पैसा प्रतियुनिटको दरमा विद्युत खरिद गर्नेछ । यसबाट कम्पनीले वार्षिक ३ अर्ब २५ करोड रुपैंयाभन्दा धेरै रकम आम्दानी गर्नेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्व मल्ल भन्छन्, हामी योजना अनुसार विद्युत उत्पादन गर्नेमा हरहमेशा पहल गरिरहेका छौं । जसरी हामीलाई लगानीकर्ताहरुले विश्वासका साथ लगानी उपलब्ध गराई दिनु भएको त्यसलाई निराशामा बदल्ने काम हामीबाट हुने छैन ।

आकर्षक आम्दानी गर्ने आधारले कम्पनीले विबरण पत्रमा प्रत्येक वर्ष फराकिलो अन्तरमा प्रतिशेयर नेटवर्थ, प्रतिशेयर आम्दानी लगायतका सूचक बढ्ने प्रक्षेपण गरेको हो । यसै आधारमा लगानीकर्ताले कम्तीमा पनि चालु आर्थिक वर्ष समेत गरी ३ आर्थिक वर्षको समाप्तिमा राम्रो प्रतिफल पाउन सक्छन् । तर निर्माण अवधि र लागत बढेको खण्डमा भने अझै ४ वर्ष पछि मात्र अकार्षक प्रतिफल पाउने छन् । यसमा आयोजनाले विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।

सान्जेन जलविद्युत

सान्जेन जलविद्युतलाई पनि इक्रम नेपालले रेटिगं ४ प्लस दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । अर्थात जसरी साधारण शेयरमा लगानीकर्ता उत्साहित बनेका थिए, त्यस अनुरुपको प्रतिफल पाउन केही वर्ष पर्खिनु पर्ने अवस्था देिखन्छ ।

सान्जेनको अधिकृत पूँजी ३ अर्ब ७५ करोड तथा जारी पूँजी ३ अर्व ६५ करोड रुपैंया छ । कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १०.३६ प्रतिशत र रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक स्वामित्व छ ।

सान्जेनले रसुवाको आमाछोदिङमो गाउँपालिका ४ र ५ मा १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र रसुवाकै आमाछोदिङमो गाउँपालिकामा ४२.५ मेगावाट क्षमताका २ वटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणाधिन माथिल्लो सान्जेनको अनुमानित लागत दुई अर्ब २२ करोड रुपैंया तथा दोस्रो आयोजना सान्जेनको ५ अर्ब २ करोड रुपैंया छ । यो लागत अनुमान बैशाखमा प्रक्षेपण गरिएको हो । तत्कालिन अवस्थामा दुवै आयोजनाहरुको औषत प्रति मेगावाट लागत १२ करोड ५० लाखभन्दा बढी हुने अनुमान गरिएकोमा सबै खर्च समेत जोड्दा प्रतिमेगावाट लागत १५ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

नाकाबन्दी विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन लगायतका
कारणले लागत अनुमान बढ्ने अवस्था आएको कम्पनीको भनाई छ । अघिल्लो वर्षको मंसिर महिनामा माथिल्लो सान्जेनको ६८ प्रतिशत निर्माणकार्य पुरा भएको कम्पनीले बताएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार अहिले यो आयोजनको ७७ प्रतिशत निर्माण सकिएको छ । सिभिलतर्फको काम धेरै सकिएकाले निर्धारित समयमा निर्माण पुरा हुनेमा आफु विश्वस्त रहेको श्रेष्ठले मेरोलगानीलाई बताए ।

१५ महिना पहिले ५८ प्रतिशत निर्माण पुरा भएको सान्जेनको पनि अहिले ७० प्रतिशत काम पुरा भएको श्रेष्ठले जानकारी दिए ।

१५ महिना पहिले शेयर निष्काशनको बारेमा जानकारी दिने क्रममा २०१९ को अप्रिल महिना अर्थात अबको एक महिनामा माथिल्लो सान्जेनले विद्युत उत्पादन सुरु गर्ने बताइएको थियो । अहिले विबरण पत्रमा भने ढिलोमा २०७६ को चैत मसान्तसम्ममा विद्युत उत्पादन सुरु हुने उल्लेख छ ।

उक्त अवधिमा नेपाल विद्युत प्राधिकरणले ट्रान्समिशन लाइन निर्माण गरेको अवस्थामा सहजै १४.८ मेगावाट विद्युत बितरण हुन सक्छ । यस्तो हुन नसकेको अवस्थामा आफैंले निर्माण गरेको ११ केभीको वैकल्पिक प्रशारण लाइनबाट विद्युत प्रवाह गरिने प्रमुख कार्यकारी श्रेष्ठले मेरोलगानीलाई बताए ।

४२.५ मेगावाटको सान्जेन जलविद्युतको निर्माण भने अबको डेढ वर्ष पछि अर्थात २०७७ सालको असोजमा मात्र निर्माण सम्पन्न हुने श्रोष्ठको भनाई छ । यो आयोजनाको विद्युत भने प्राधिकरणले प्रशारण लाइन निर्माण गरे पछि मात्र व्यवसायिक प्रयोगमा आउने छ ।

उल्लेखित घटनाक्रम हेर्ने हो भने एक महिना पछिबाट व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु हुने भनेर गरिएको घोषणा कम्पनीले नै एकदेखि डेढ वर्ष पछि मात्र हुने भनी बताएको छ ।

अर्कातिर १५ महिनाको अवधिमा औसतमा १४ प्रतिशत मात्र निर्माणको काम भएको कम्पनीको भनाईले नै देखाउँछ । २०७५ चैतसम्ममा माथिल्लो सान्जेन तथा २०७६ असोजसम्ममा सान्जेनको निर्माण पुरा हुन औसतमा झण्डै २५ प्रतिशत काम गर्नु पर्ने हुन्छ । अहिलेकै आधारमा हेर्ने हो भने यो सम्भव हुँदैन ।

अर्कातिर विद्युत प्राधिकरणले निर्माण गर्ने चिलिमे हव–त्रिसूली ३ बी २२० केभी प्रसारण लाइन निर्माण गर्न ढिलाई गरेको खण्डमा आयोजनाले विद्युत उत्पादन सुरु गरे पनि व्यवसायिक प्रयोग हुन सक्ने छैन । यस्तो अवस्थामा कम्पनीले विबरण पत्रमा गरेको आम्दानीको प्रक्षेपणले नतिजा नदेखाउने पक्का छ । किनकी लक्ष्य अनुसार निर्माण पुरा हुन नसक्दा प्रक्षेपित आम्दानी सुरु हुने मिति पनि पर धकेलिन्छ ।

कम्पनीको विबरण पत्रलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षमा १ रुपैंया ३७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीले आगामी आर्थिक वर्षमा ६ रुपैंया ७९ पैसा प्रतिशेयर आम्दानी बनाउने छ ।

आर्थिक वर्ष २०७६ ०७७ मा ६ रुपैंया ७९ पैसा प्रतिशेयर आम्दानी कायम हुने प्रक्षेपण गरेको कम्पनीले आर्थिक वर्ष २०७७ ०७८ मा २० रुपैंया ८७ पैसा, आर्थिक वर्ष २०७८ ०७९ मा २३ रुपैंया ५० पैसा तथा आर्थिक वर्ष २०७९ ०८० मा २६ रुपैंया २१ पैसा प्रतिशेयर आम्दानी कायम हुने प्रक्षेपण गरेको छ । लक्ष्य अनुसार विद्युत उत्पादन तथा बिक्री बितरण हुन नसक्ने निश्चितप्राय अवस्थामा छिट्टै राम्रो प्रतिफला पाउने लगानीकर्ताको आशा निराशामा बदलिनेछ ।

दुवै आयोजनाको निर्माण कार्यले पुर्णता पाए पछि भने माथिल्लो सान्जेनबाट वार्षिक ८ करोड २४ लाख र सान्जेनबाट २४ करोड १८ लाख युनिट विद्युत उत्पादन हुन्छ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा ८ रुपैंया ४० पैसा प्रतियुनिट र वर्षयाममा ४ रुपैंया ८० पैसा प्रतियुनिटको दरमा खरिद गर्नेछ । यसबाट कम्पनीले वार्षिक १ अर्ब हाराहारी आम्दानी गर्नेछ ।

पटक पटक निर्माणका विषयमा आउने फरक कुरा अनि नतिजाका अलग अलग तथ्यहरुले लगानीकर्ता दुवै कम्पनीमा आशावादी हुन नसक्ने देखिन्छ । रसुवागढी र साञ्जेनका ३ वटै आयोजनाको निर्माणको काम औसतमा झण्डै ३० प्रतिशत बाँकी नै छ । यसले लगानीकर्तालाई अझै पनि कम्पतीमा ४ वर्षको पर्खाई पछि मात्र लाभांसको आश गर्न सक्ने अवस्थामा पुर्याउला भन्ने अनुमान गर्न सकिन्छ । ४ वर्षभन्दा पहिले भने रसुवागढी र सान्जेनका शेयरधनीले प्रतिफल नपाउने कुरामा दुईमत छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।