हिमालयन बैंकको खुद नाफा दुई अर्ब माथि, लाभांश क्षमता २१ प्रतिशत

May 10, 2019 Merolagani

हिमालयन बैंक(HBL) को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रगतिउन्मुख देखिएको छ। खर्च नियन्त्रण गरि आम्दानीका अधिकांश सूचकहरुमा प्रगति गर्दै दुई अर्ब माथि नाफा आर्जन गरेको बैंकको गत आवको यसै अवधिको तुलनामा पूँजी कोष अनुपात घटेको छ भने कोषको लागत र खराब कर्जा अनुपातमा वृद्धि भएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा १०.२४ प्रतिशतले खुद नाफा वृद्धि गरेको बैंकको पूँजी वृद्धिदर उच्च हुँदा प्रतिशेयर आम्दानी दुई रुपैयाँ ५० पैसाले बढेको छ ।

खुद नाफा दुई अर्ब एक करोड

नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण अनुसार हिमालयन बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई अर्ब एक करोड ४० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ।

गत आवको यसै अवधिमा बैंकको खुद नाफा एक अर्ब ८२ करोड ७० लाख २८ हजार रुपैयाँ रहेको थियो।

तीन महिनामा बढ्यो ६४ करोड ७० लाखले खुद नाफा

एनएफआरएस अनुसारको वित्तीय विवरणमा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ६४ करोड ७० लाख ३२ हजार रुपैयाँले खुद नाफा बढाएको छ।

पुस मसान्तसम्ममा एक अर्ब ३६ करोड ७० लाख खुद नाफा कमाएको यस बैंकको नाफा चैत मसान्तसम्ममा दुई अर्ब एक करोड पुगेको हो।

वितरण योग्य नाफा एक अर्ब ३३ करोड, कूल २१ प्रतिशत लाभांश बाँड्नसक्ने

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्था पश्चात बैंकले एक अर्ब ३३ करोड ४८ लाख ९७ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ।

बैंकले कूल दुई अर्ब एक करोड ४० लाख रुपैयाँ खुद नाफा गरेकोमा कूल ६७ करोड ९१ लाख ७८ हजार रुपैयाँ बराबरको व्यवस्था गरेको छ। एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ४० करोड २८ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा दुई करोड एक लाख ३४ हजार र रेगुलेटरी रिर्जब कोषमा २५ करोड ६८ लाख छुट्टाएको छ।

चालु आवको ९ महिना अवधिमा गरेको नाफाअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म एक अर्ब ७८ करोड लाभांश क्षमता कायम हुँदा बैंकले नाफाबाट शेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता निमार्ण हुने देखिन्छ ।

राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

निक्षेप संकलन खर्ब माथि र कर्जा लगानी ९३ अर्ब

तेस्रो त्रैमाससम्मको अवधिसम्ममा बैंकको निक्षेप संकलन एक खर्ब ८ अर्ब ५८ करोड २१ लाख माथि पुर्याउँदा र कर्जा विस्तार ९३ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ रहेको छ । करिब १० प्रतिशतले बचत संकलन बढाएको बैंकको ऋण लगानीको विस्तार १३.७० प्रतिशत छ ।

व्यवसायको आकारमा गरेको वृद्धिले बैंकको खुद ब्याज आम्दानी १७ प्रतिशतले वृद्धि हूँदा सञ्चालन नाफा साढे ३२ प्रतिशतले सुधारिएको छ । यस अवधिमा बैंकले तीन अर्ब ७५ करोड ३४ लाख खुद ब्याज आम्दानी गरि दुई अर्ब ८६ करोड ५४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

पूँजी कोषमा संकुचन, कर्जा विस्तारमा रोक लाग्ने अवस्था

हिमालयन बैंकलाई पूँजी कोषमा दबाब देखिएको छ । कर्जा प्रवाहले बैंकको पूँजी कोष अनुपात १२.४४ बाट ११.८२ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकको प्रावधान अनुरुप वाणिज्य बैंकहरुले न्यूनतम ११ प्रतिशत पूँजी कोष अनुपात कायम गर्नुपर्छ ।

गत आवको नाफाबाट नगद भन्दा थोरै बोनस वितरण गरेको यस बैंकलाई लगानी विस्तारका लागि पूँजी अभाव भएको हो । बैंकले पूँजी कोष बढाउन ऋणपत्र बिक्रीलाई माध्यम बनाउन पनि सक्दछ ।

कर्जा लगानी र नयाँ सम्भावनाको क्षेत्रको खोजी गरि मुनाफा आर्जन गर्ने नै बैंकको मुख्य काम भएकाले बैंकलाई थप लगानी बढाउन पूँजीकोषमा बढोत्तरी अनिवार्य देखिन्छ।

अर्कोतर्फ बैंकको कर्जा निक्षेप अनुपात ७९.०१ प्रतिशत रहेको छ। राष्ट्र बैंकले यस्तो अनुपात ८० प्रतिशत नाघेमा फेरि कारवाही गर्ने भएकाले बैंकलाई बचत संकलन र पूँजी कोष बढाउनुपर्ने भएको हो ।

प्रतिशेयर आम्दानी साढे दुई रुपैयाँ बढ्यो

बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ३२ पैसा कायम भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा दुई रुपैयाँ ५० पैसा इपिएस बढेको हो।

गत आर्थिक वर्षको नाफाबाट पाँच प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गरेको बैंकको पूँजी वृद्धि अनुपातमा नाफा वृद्धिदर बढ्दा इपिएसमा सुधार आएको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ छ ।

शेयरधनी कोषहरुमा सुधार
गत चैत मसान्तको तुलामा बैंकको सबै शेयरधनी कोषहरुमा सुधार देखिएको छ। करिब १५ प्रतिशतले जगेडा कोषको आकार सुधार गरेको बैंकको रिटेन्ड अर्निङ्गमा समेत सोढ ३ प्रतिशत बढीले सुधार देखिएको छ ।

बैंकको जगेडा कोषमा पाँच अर्ब १९ करोड ९ लाख र रिटेन्ड अर्निङ्ग एक अर्ब ५५ करोड ४७ लाख रहेको छ ।
जगेडा कोष मजबुत गत चैतमा १७४ रुपैयाँ २४ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ पनि घटेर १७९ रुपैयाँ १७ पैसामा आएको छ ।

आधार ब्याजदरमा सुधार, कोषको लागत भने बढ्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदरमा सुधार आएको छ भने कोषको लागत बढेको छ ।

बैंकको आधार ब्याजदर घटेपनि लागत कम नभएकाले बैंकको मुनाफा ब्याज खर्चमै सकिने अवस्था छ भने आधार ब्याजदरमा देखिएको सुधारले बैंकबाट कर्जा लिएका ऋणीहरुलाई पनि ब्याजदरमा बढ्ने संन्त्रासबाट भने मुक्त गर्नसक्छ ।

गत वर्षको चैत मसान्तमा ९.४२ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ९.१० प्रतिशतमा झरेको छ भने कोषको लागत ६.०८ बाट ६.६८ प्रतिशतमा बढेको छ।

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात भने केही बढेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा १.१९ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा १.३१ प्रतिशतमा बढेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।