चैत मसान्तको वित्तीय विवरण अनुसार धेरै म्युचअल फण्डको खुद सम्पत्ति योजनाको आकारभन्दा घटेर प्रति इकाई अंकित मूल्यभन्दा तल झरेको अवस्था छ।
हिमालयन बैंकको उच्च पदमा २२ वर्ष कार्यअनुभव संगालेर हालै मात्र सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी सिआइबिएल क्यापिटलको नेतृत्व सम्हाल्न आइपुगेको सिआईबिएल क्यापिटलको प्रमूख कार्यकारी अधिकृत नवराज गिरीसँग कोषको सम्भावना तथा चुनौति, समग्र म्युचुअल फण्डहरुको अवस्था, लगानीमा प्राप्त हुने प्रतिफल र सिटिजन्स म्युच्युअल फण्ड–२ मा केन्द्रीत रहेर गरिएको कुराकानी:-
- बिहीबारदेखि एक अर्बको सामूहिक लगानी कोषको एकाई बिक्रीमा ल्याउँदै हुनुहुन्छ। यसअघि बिक्रीमा ल्याउनुभएको तपाईहरुको क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्यूच्यूअल फण्ड १ आकार पनि घटेको थियो, दोस्रो योजना सबै बिक्री हुनेमा आशावादी हुनुहुन्छ ?
सिटिजन्स म्युच्युअल फण्ड–२ हाम्रो क्यापिटलको व्यवस्थापनमा निष्काशन हुन लागेको दोस्रो सामूहिक लगानी कोष योजना हो। पहिलो योजना बिक्री हुँदा पूँजी बजारमा आकर्षण नरहेको अवस्था थियो। पहिलो योजनाबाट पाठ सिकेर नै हामीले अहिले दोस्रो योजना बिक्रीमा ल्याइरहेका छौं। यस योजनामा हामीले बैंक, बीमा कम्पनी, संस्थागत लगानीकर्ताहरुसँग सहकार्य गर्नुका साथै स–साना लगानीकर्ताहरुलाई समेत बुझाउने प्रयास गरेका छौं।
साथै धितोपत्रको दोस्रो बजारमा जोखिम लिन नसक्ने लगानीकर्तालाई सामूहिक लगानी बुझाएर लगानी गर्न प्रेरित गरेका छौं, र हामीले बिक्रीमा ल्याउने सामूहिक लगानी कोषको विशेषता, लगानीको क्षेत्र, योजनाको एकाइमा लगानी गर्दा हुने फाइदा आदीको बारेमा धेरै साना देखि ठूला लगानीकर्तासम्म स्पष्ट पार्न खोजेका छौं ।
हाम्रो कुशल ब्यवस्थापनले पहिलो योजनाको आकारभन्दा खुद सम्पत्ति बढी छ । पूँजी बजारमा रहेका अन्य सामूहिक लगानी कोषको तुलनामा प्रतिएकाई खुद सम्पत्ति मूल्य पनि राम्रै रहेकाले बिक्री गर्न समस्या हुन्छ जस्तो लाग्दैन ।
हामीले धितोपत्र बजार सम्बन्धि ज्ञान कम भएका सानो भन्दा सानो लगानीकर्तालाई प्राथामिकतामा राखेर ठूला लगानीकर्तासम्म यस योजनामा सहभागी गराउछौं ।
- योजनाबाट संकलन गरेको रकम लगानीको क्षेत्र छुट्टाएर लगानी गर्ने भन्नुभयो, कुन– कुन क्षेत्रमा लगानी गर्नुहुन्छ ?
सामूहिक लगानी कोषको मुख्य उदेश्य नै शेयर बजारमा मुख्य लगानी गर्ने हो । यसअनुसार हाम्रो दोस्रो योजनाबाट संकलन हुने ७० प्रतिशत रकम प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्ने सोच बनाएका छौं ।
हरेक कम्पनीले सार्वजनिक निष्काशन गर्दा ५ प्रतिशत अनिवार्य रुपमा सामूहिक लगानी कोषहरुलाइ छुट्याउनुपर्ने प्रावधान रहेको छ । जुन सामूहिक लगानीकोषहरुका लागि थप सकारात्मक पक्ष हो ।
यसैगरि संकलित रकमको १० देखि २० प्रतिशतसम्म डिबेञ्चर तथा वण्ड जस्ता निश्चित आम्दानी हुने आय उपकरणमा लगानी गछौं । र सर्बसाधारणवाट संकलन गरेको रकमको १० प्रतिशत मुद्धती निक्षेपमा लगानी गर्नेछौं । हाम्रो जोड योजनाको प्रतिफल बढी भन्दा बढी होस् भन्ने हिसाबले प्राथामिक तथा दोस्रो बजार वित्तीय औजारहरुमा बजारको अवस्था हेरेर लगानी संरचनामा परिवर्तन गरेर लगानी व्यवस्थापना गर्ने योजना छ ।
- सिटिजन्स म्युच्युअल फण्ड–२ मा लगानी गर्ने लगानीकर्तालाई कतिसम्म प्रतिफल वितरण गर्ने सोच राख्नुभएको छ ?
सामुहिक लगानी कोष नियमावली, बमोजिम कुनै पनि योजनाको ब्यवस्थापकले हामी यति नै प्रतिफल दिन्छौं भनेर योजनाको एकाई बिक्रीको समयमा नै सुनिश्चित गर्न पाइँदैन । यद्यपी अबको समय भनेको शेयर बजारमा वियरिस प्रवृति सकिएर बुलिसमा तर्फ लागेको अवस्था छ ।
हामी अहिले पहिलो योजनाबाट एकाईधनीलाई १५ प्रतिशत प्रतिफल दिने अवस्थामा छौं । बजेटमा हुने सम्बोधन र अनलाईन कारोबार प्रणालीले आगामी दिनमा शेयर बजार अझ बढ्छ । यसअनुसार हामी दोस्रो योजनाबाट पनि लगानीकर्तालाई हरेक वर्ष १५ देखि २० प्रतिशतको प्रतिफल वितरण गर्नसक्ने सम्भावना रहेको छ ।
दोस्रो योजना ७ वर्ष अवधिको रहेको छ । यस समयमा बजार सुधारको काम धेरै हुने देखिन्छ । यस्तो समयमा हामीले योजना बिक्री गर्न लागेकाले दोस्रो योजनाबाट संकलित रकम धितोपत्र बजारमा परिचालन गर्न उपयुक्त समय पनि देखिन्छ । ७ वर्षमा दुई वटासम्म बुलिस टे«ण्ड शेयर बजारमा आउने सम्भावना धेरै छ । यसो भएको खण्डमा दोस्रो योजनाका एकाइधनीले लगानी गरेको भन्दा तेब्बर सम्मको सम्पत्ति फिर्ता पाउने सम्भावना देखिन्छ ।
- पछिल्लो समय धेरै सामूहिक लगानी कोषको योजनाको मूल्य अंकित मूल्यभन्दा तल झरेको छ, यस्तो अवस्थामा कतै तपाईको दोस्रो योजना पनि त्यस्तै त हुँदैन भन्ने डर लगानीकर्तामा छ, के भन्नुहुन्छ ?
तपाइले ठीक भन्नुभयो, शेयर बजारमा आउने उतार चढाबसँगै सामूहिक लगानी कोष योजनाहरुको खुद सम्पत्ति घट्ने वा बढ्ने हुन्छ । अहिले भर्खरै बजारले बुलिस प्रवृत्ति लिएकाले चैत मसान्तको वित्तीय विवरणमा केही सामूहिक लगानी कोष योजनाका एकाइहरुको मूल्य अंकित मूल्य भन्दा पनि तल झरेको अवस्था छ । तर, सबै योजनाहरुको खुद सम्पत्ति मूल्यङ्कन प्रति एकाइ १० रुपैयाँ भन्दा तल गएको पनि छैन ।
कुशल व्यवस्थापन र लगानी विविधिकरण गरेका कतिपय योजनाको खुद सम्पत्ती मूल्याङ्कन प्रति एकाइ १० रुपैयाँ माथि नै छ । सुचीकृत सामूहिक लगानी कोष योजनाहरु मध्ये सिटिजन्स म्यूच्यूअल फण्ड–१ अग्र स्थानमा नै छ । योजनाको चैत मसान्तमा पनि खुद सम्पत्ति मूल्याङ्कन दश रुपैयाँ माथि थियो, अहिले ११ रुपैयाँ भन्दा माथि छ । अहिलेको शेयर बजारको अवस्था अनुसार हामीले धेरै राम्रो व्यवस्थापन गरेको छौं।
यसअनुसार दोस्रो योजना व्यवस्थापन गरेर एकाईधनीलाई आकर्षक प्रतिफल दिन चुनौतिपुर्ण होला जस्तो लाग्दैन । बजारमा अवसर जुनसुकै बेला पनि आउन सक्ने भएकाले लगानीका लागि कुन समय उपयुक्त हो, होइन भन्नु त्यति ठिक नहोला । त्यसैले सबै समय उपयुक्त हो भन्ने लाग्छ । हाम्रो व्यवस्थापनलाई हेरेर लगानीको निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुनुहुन्छ ।
- अन्त्यमा योजनामा लगानी गर्ने आधारहरु के के हुन् त ?
जोखिम लिने क्षमता नभएकाले लगानीकर्तालाइ लगानी गर्न सामूहिक लगानी कोषको योजनाहरु नै उपयुक्त माध्यम हो । बिना जोखिम उपयुक्त प्रतिफलका लागि यस्ता योजनाहरु उपयुक्त मानिन्छन् ।
सबै लगानीकर्तामा बजार तथा आफुले लगानी गर्ने शेयरको प्रयाप्त विश्लेषण गर्ने क्षमता कम हुनसक्छ । सामूहिक लगानी कोष मार्फत लगानी गर्दा बजार सम्बन्धी प्रयाप्त ज्ञान हुन जरुरी हुँदैन ।
सबै लगानीकर्तामा बजार तथा आफुले लगानी गर्ने शेयरको प्रयाप्त विश्लेषण गर्ने क्षमता कम हुनसक्छ । सामूहिक लगानी कोष मार्फत लगानी गर्दा बजार सम्बन्धी प्रयाप्त ज्ञान हुन जरुरी हँुदैन। सानो रकम लगानीका गर्न कम्पनी तथा बजार विश्लेषण गरेर लगानी गर्न सम्भव हुँदैन सामूहिक लगानी कोषले अनुसन्धानात्मक रुपमा टीम बनाएर कम्पनीको विश्लोषण गरि संस्थागत रुपमा लगानी गर्ने गर्छ ।
यस्ता योजनाहरुले धेरै क्षेत्रका कम्पनीमा लगानीमा विविधिकरण गरेर जोखिम व्यवस्थापन गर्ने हुँदा एउटा कम्पनीको शेयरमूल्य घट्दैमा नोक्सानी भएर योजनाको प्रतिफल वितरणमा असर गर्दैन, निश्चित जस्तै हुन्छ ।
यी सवै कारणहरुले गर्दा जोखिम सीमित गरि बढी भन्दा बढी प्रतिफल प्राप्त गर्न सकिने पूँजी बजारको माध्यमको रुपमा विश्वभरी नै म्युचुअल फण्डलाई लिने गरिएको हो ।
सिटिजन्स म्यूच्यूअल फण्डको दोस्रो योजनामा छिटोमा १३ गते र यो अवधिमा सबै एकाई बिक्री नभए असार ८ गतेसम्म आवेदन गन सकिन्छ।