यसै क्रममा हामीले कुन बीमा कम्पनीहरुले घातक रोग विरुद्ध के कस्तो सुविधा दिदै आइरहका छन् भन्ने बारे चर्चा गर्दैछौं ।
कुन बीमा कम्पनीको कस्तो सुविधा ?
ज्योति लाइफ इन्स्योरेन्स अहिले सम्मकै सर्वाधिक ३५ घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दै आइरहेको छ । पहिला ११ वटा घातक रोग विरुद्ध १० लाख सम्मको आर्थिक सुरक्षा दिदै आइरहेको इन्स्योरेन्सले त्यसलाई थप गरी ३५ घातक रोग विरुद्ध ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षा प्रदान गर्दै आइरहेको छ ।
यो योजना इन्स्योरेन्सले हाल प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरुसंग ऐच्छिक सुविधाको रुपमा लिन सकिने छ । न्युनतम १८ वर्ष देखि ५५ वर्ष सम्मका व्यक्तिहरुलाई यस योजनाले समेट्ने छ भने अधिकतम बीमा अवधि २० वर्ष तोकिएको छ ।
जीबन बीमा कम्पनीहरुमध्ये अब्बल मानिएको नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न घातक रोगहरूको जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले १८ रोग विरुद्ध ५० लाखसम्मको जोखिम बहन हुने ‘घातक रोग सुविधा योजना’ बीमा योजना संचालनमा ल्याएको छ ।
एशियन लाइफ इन्स्योरेन्सले १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्दै आएको छ । कम्पनीले घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्न मुल बीमा योजनामा एशियन क्रिटिकल केयर अन्र्तगत घातक रोग निरुपण भएमा उपचार खर्चबापत एकमुष्ठ ५० हजारदेखि ५० लाख रुपैयाँसम्म भुक्तानी पाउनेछ ।
एशियनको यस्तो सुविधा लिन १६ देखि ६० वर्ष सम्मका व्यक्ति सहभागि हुन पाउने र बीमा रकम भुक्तानी लिनका लागि अस्पतालको बिल पेश गर्नु नपर्ने कम्पनीले जनाएको छ ।
यस्तै रिलायबल लाइफ इन्स्योरेन्सलेले १५ घातक रोग वापतको सुविधा सञ्चालनमा रहेको छ । यो सुविधा अन्र्तगत ५० हजार देखि १० लाख रुपैयाँ बराबर सुरक्षण प्राप्त गर्न सकिनेछ । १८ वर्ष देखि ६५ वर्ष उमेरका व्यक्ति यो योजनामा सहभागि हुन सक्नेछ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले आम सर्वसाधारणको जोखिम सुरक्षित गर्ने उद्देश्यले म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । पाँच बर्ष अवधिको लागि दैनिक पाँच रुपैयाँ भन्दा कम लागतमा खरिद गर्न सकिने व्यवस्था छ ।
यस योजनाबाट ५ लाख बराबर जोखिम र १८ घातक रोगको जोखिम विरुद्ध ५ लाख गरी १० लाख रुपैयाँ बराबर सुरक्षण हुन्छ ।
युनियन लाइफ इन्स्योरेन्स १८ प्रकारका घातक रोगको उपचारार्थ सम्बन्धी बीमा सुविधा योजना सार्वजनिक गरेको छ । बाल बच्चा जीवन बीमा बाहेक अन्य सबै जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको हो ।
यस योजनाको बीमांक रकम न्युनतम बीमाङ्क योजना अनुसार र अधिकतम ५० लाख सम्म निर्धारण गर्न सकिन्छ ।
न्युनतम १६ वर्ष देखि ६० वर्ष उमेर समुहका व्यक्ति यस योजनामा समेटछ । बीमा अवधि न्यूनतम ५ वर्ष देखि ३५ वर्षको हुने यस योजनामा बीमा शुल्क भुक्तानी भने बीमा योजना अनुसार हुनेछ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले पनि घातक रोग सम्बन्धि अतिरिक्त सुविधाहरु सार्वजनिक गरेको छ । कम्पनीले १८ विभिन्न घातक रोगबाट हुन सक्ने मानवीय हानीलाई कभर गर्ने गरी अतिरिक्ता सुविधा सार्वजनिक गरेको हो । घातक रोग प्रमाणित भएमा अधिकतम ५० लाख रुपैयाँसम्मको एकमुस्ट रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स २० घातक रोग विरुद्ध ५० लाख रुपैयाँ सम्म रकम भुक्तानी गर्ने जनाएको छ । इन्स्योरेन्सले क्रिटिकल केयर प्लसमार्फत बीमितले २० घातक रोगहरु विरुद्ध ५० लाखसम्मको औषधि उपचार खर्च प्रदान गर्नेछन् ।
नेपालकै पहिलो र अग्रणी जीवन बीमा कम्पनीले नेशनल लाइफ इन्स्योरेन्सले १५ घातक रोग विरुद्ध ५० लाख रुपैयाँ सम्मको सुरक्षा प्रदान गर्दै आइरहेको छ ।
कस्ता घातक रोग समेटिन्छन् ?
हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यस्ता योजनाले सेवाग्राहीहरूलाई ठूलो सहयोग पुग्ने बीमा कम्पनीहरुको भनाई छ ।
क्यान्सर, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अङ्गहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, जस्ता घातक रोगहरूविरुद्ध यस्ता योजनाले सुरक्षण प्रदान गर्नेछ ।
घातक रोग विरुद्धको सुविधा भने मुल बीमा योजनामा मात्रै थप सुविधाको रुपमा लिन सकिन्छ । मुल बीमा योजनाको अवधिसम्म यस्तो सुविधा चालू रहनेछ । ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बीमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सकिने व्यवस्था छ ।
यस्ता सुविधा अन्तर्गत बीमालेख खरिद गर्ने कुनै पनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमको अन्त्य हुने बीमा कम्पनीहरुको विश्वास छ ।