बैंकको गत आर्थिक वर्षको साधारण सभाबाट बैंकले ६.३१ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । सो अनुसार बैंकको ५६ लाख ११ हजार २७१ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण गरिएको थियो । यसरी रुपान्तरण भएको शेयर सम्बन्धित लगातनीकर्ताको डिम्याट खातामा जम्मा भए पछि नाफा उठाउने क्रम बढ्दा बैंकको अधिक शेयर कारोबार भएको हो ।
संस्थापक शेयर कारोबार नहुने र मूल्यांकन पनि तल्लो मूल्यमा हुने भएका कारण रुपान्तरण भएको साधारण शेयर पौने तीन सय रुपैंयाभन्दा माथिको मूल्यमा बिक्री गर्नेको चाप मंगलबार आएको छ ।
मंगलबार कारोबार रकम तथा कारोबार भएको शेयर संख्याका आधारमा पहिलो स्थानमा रहेको बैंकको २ बजेर ४१ मिनेटको अवधिमा ५ लाख ८५ हजार ५२७ कित्ता शेयर ३०९ पटकको कारोबारबाट १६ करोड रुपैंयामा किन बेच भएका छन् ।
कारोबार रकमका आधारमा पहिलो स्थानमा रहेको प्रभु बैंकको शेयर कारोबार भएको शेयर संख्याका आधारमा पनि पहिलो स्थानमा परेको छ भने कारोबार संख्याका आधारमा चौथो स्थानमा रहेको छ ।
मंगलबार शेयर ब्रोकर ३४ अर्थात भिजन सेक्युरिटिजबाट प्रभुको अधिक शेयर कारोबार भएको छ । उक्त ब्रोकरबाट झण्डै डेढ दर्जन हाराहारीमा रहेका लगानीकर्ताका बिचमा ५ लाख कित्ताभन्दा धेरै कारोबार भएको छ ।
एकै पटक अधिक बिक्री चाप आउँदा पनि खरिद चाप धेरै देखिनुका साथै शेयर मूल्यमा पनि सामान्य बढोत्तरी देखिएको छ । यसले संस्थापक शेयर धारण गरेकाहरुको बिचमा नै साधारण शेयर कारोबार भएको हुन सक्ने आँकलन गर्न सकिन्छ । यस्तो नभएको अवस्थामा भने साधारणमा रुपान्तरण भएको संस्थापक शेयर बेच्नेहरुले राम्रो कमाई गरेको देखिन्छ ।