कम्पनीको राम्रो समाचार आएको बेला शेयर किन्ने कि बेच्ने ?

Jun 02, 2019 Merolagani

- तिलक कोइराला।
कम्पनीले आकर्षक लाभांश घोषणा गर्यो वा अरु नै राम्रो समाचार आयो भने शेयर बजारका कयौं लगानीकर्ताहरु त्यस कम्पनीको शेयर किन्न दौडिन्छन्। त्यस्तो समाचार प्रबाह भएको बेलामा सो कम्पनीको शेयर कारोबार ह्वात्तै बढेको हुन्छ तर यस्तो बेलामा शेयर किन्न दौडिने हैन, बेच्नतिर लाग्ने हो भने लगानीकर्तालाई तुलनात्मक रुपमा बढी फाईदा हुन्छ। कसरी? हेरौं:

कम्पनीले घोषणा गर्ने लाभांशको पूर्व अनुमान कतिपय लगानीकर्ताहरुले पहिले नै गरिसकेका हुन्छन् । कुन कम्पनीले कति चुक्ता पूँजी बढाउनुपर्छ र उसले के के विकल्पहरु उपयोग गर्ला भन्ने कुरा खुला बिषय हुन् ।

यस्तो खालको अध्ययन गरेकाहरुले पहिले नै सस्तो मूल्यमा शेयर किनेर बसेका हुन्छन्, जब लाभांश घोषणा हुन्छ, धेरै लगानीकर्ताहरु शेयर किन्न दौडिदा शेयरको मूल्य बढ्छ, पहिले नै सस्तोमा शेयर धारण गरेर बसेकाहरु भने बढेको मूल्यमा नाफा गरेर शेयर बिक्री गर्न दौडिन्छन् ।

 

कम्पनीले गर्ने सार्वजनिक घोषणा नेप्सेको वेभसाईट र संचार माध्यममा आउँनु अघि कम्तिमा एक हजार जना मानिसहरुलाई थाहा भईसकेको हुने गर्छ । कम्पनीको संचालक समितिमा प्रस्ताब जानु अघि नै उच्च तहका कर्मचारी र ठूला शेयरधनीहरुलाई त्यस्तो सूचनाको पहुँच पुगिसकेको हुने गर्छ । जब निर्णय हुन्छ, कम्पनीका संस्थापक शेयरधनी, पहुँचवाला कर्मचारी र शेयर बजारका ठूला खेलाडीहरुले तत्कालैै थाहा पाउँछन् र आफ्नो रणनीति तय गर्छन । कम्पनीले गरेको त्यो निर्णय जानकारी गराउँन नियमनकारी निकायहरुमा पत्र पठाईन्छ र त्यहाँका उपल्लोस्तरका कर्मचारीले पनि सार्वजनिक हुनु पहिले नै सूचना हात पार्छन । जब संचार माध्यम हुँदै सूचना सार्वजनिक हुन्छ, चिया पसलहरुमा समेत चर्चा हुन थाल्छ र आमधारणा निर्माण हुन्छ । कम्पनीको राम्रो वा नराम्रो समाचारको प्रभाव त्यसपछि पर्छ । त्यसैले संचार माध्यममा आउने समाचार हेरेर सबैभन्दा पहिले मैले समाचार थाहा पाएँ भनी लगानी रणनीति बनाउँनु हानिकारक छ ।

कम्पनीको नराम्रो समाचार आउँदैछ भन्ने थाहा पाएका सूचनाका पहुँचवालाहरुले पहिले नै शेयर बिक्री गरेर आफु सुरक्षित भईसकेका हुन्छन् भने कम्पनीको राम्रो समाचार आउने थाहा पाएकाहरुले पहिले नै सस्तोमा शेयर किनेर महंगोमा बिक्री गर्न बसेका हुन्छन् । यसरी भित्री सूचनामा खेल्नेहरुका कारणले सर्बसाधारण लगानीकर्तामा जोखिम सिर्जना गराईदिन्छ ।

जुुन दिन कम्पनीको राम्रो समाचार आएको हुन्छ, त्यो दिन त्यस कम्पनीको शेयर किन्ने हैन, फाईदा भएको मूल्यमा शेयर बिक्री गर्ने हो । खराब समाचार आएको दिन हतारिएर घाटा खाई शेयर बिक्री गर्ने हैन, केही दिन पर्खिने हो, त्यसपछि खराब समाचारको प्रभाव आफै कम भएर जान्छ र कम घाटा खाएर शेयर बिक्री गर्न सकिन्छ । राम्रो समाचार आएको दिन खरिदकर्ताहरु धेरै आउँछन् र जत्ति कित्ता पनि शेयर बिक्री गर्न सकिन्छ, मूल्य तल झर्दैन । ठूला खेलाडीहरुले यही दिन आफ्ना लाखौं कित्ता शेयर फाईदामा बेच्ने मौका हेरिरहेका हुन्छन् । नराम्रो समाचार आएको दिन बिक्रीकर्ता धेरै हुन्छन् र धेरै कित्ता शेयर बिक्री गर्न सकिदैन, बिके पनि झन् धेरै घाटा ब्यहोर्नु पर्छ ।

राम्रो समाचार आएको बेलामा आफुले धारण गरेको शेयरमा फाईदा पनि छैन, घाटा पनि छैन भने पर्खेर हेर्न सकिन्छ । तर कम्पनीको अबस्था खराब हुँदै गएको छ भने जतिसक्दो छिटो कम घाटा खाएर त्यस्तो शेयरबाट बाहिर निस्कनु नै बृद्धिमानी हुुन्छ । राम्रो तर सस्तो शेयर मूल्य भएको कम्पनीमा लगानी सारे बढी सुरक्षा र फाईदा हुनसक्छ । 

नेपालको शेयर बजारमा केही समय पहिले धेरै खराब कम्पनीले धेरै प्रतिशत हकप्रद बेच्ने निर्णय सार्वजनिक गर्यो भने सबैभन्दा धेरै उचालिएर शेयर किनी घाटा खाने रोगको महामारी थियो भने अहिले धेरै बोनस घोषणा गर्यो भने त्यसैगरी उचालिने रोगले संक्रमण गरिरहेकै छ । बोनस शेयर बितरण र हकप्रद बिक्रीपछि कम्पनीको शेयर मूल्य के होला ? लाभांश दर कति होला र आफुले हालेको मूल्यलाई त्यस कम्पनीको शेयर मूल्य र लाभांशले खाम्छ कि खाम्दैन होला भनेर धेरैले विश्लेषण गरेको पाईँदैन, त्यो गलत हो ।

कतिपय अबस्थामा कम्पनीले घोषणा गरेको लाभांश खाँदा वा हकप्रद किन्दा भन्दा मूल्य समायोजन भएपछि घट्दो मूल्यमा त्यो कम्पनीको शेयर किन्दा फाईदा हुन्छ भने पहिलेदेखि नै धारण गरेको सस्तो मूल्यको शेयरमा बढ्दो बजारमा लाभांश खाँदा नै सही कदम पनि ठहरिनसक्छ । कति जोखिम लिने भन्ने कुरा लगानीकर्ता स्वयंको अधिकार हो । तर लाभांश खाने वा हकप्रद किन्ने नाउँमा उचालिएर महंगोमा शेयर किन्नु चाँही घातक नै छ । कम्पनीले बढाएको पूँजी अनुसार ब्यवसाय बिस्तार र खुद नाफा हुन सक्दैन, लाभाँश दर कम हुन्छ र शेयरको मूल्य बढेर पूँजीगत लाभ हासिल गर्न पनि लामै समय कुर्न पर्ने हुनसक्छ ।

नोटः यहाँ कुनै पनि कम्पनीलाई लक्षित गरिएको छैन र लगानीकर्ता सचेतनाका लागि मात्र हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।