अमेरिकाले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्स (जीएसपी) कार्यक्रम अन्तर्गत भारतीय सामानको आयातमा विशेष छुट दिदैँ आएको थियो ।
भारतले अमेरिकी सामग्रीलाई आफ्नो बजारमा बराबरीको अवसर नदिएको र मुनासिव पहुँच उपलब्ध नगराएको भन्दै उक्त सूचीबाट हटाउने निर्णय गरिएको बताइएको छ । ट्रम्पले ४ मार्चमा नै भारतलाई जीएसपीबाट हटाउने घोषणा गरेका थिए । यसका लागि ६० दिनको नोटिस जारी गरिएको थियो । जुन समयसीमा मे ३ मै सकिसकेको छ ।
भारतले भने अमेरिकाको यो निर्णयले खासै असर नपर्ने बताएको थियो । तर, अमेरिकाको यो निर्णयसँगै भारत कमजोर आर्थिक वृद्धि तथा अहिलेसम्मकै उच्च बेरोजगारी रहेको अवस्थामा आएको छ ।
यो सूचीमा रहेका मुलुकबाट आयात हुने केही सामग्रीमा अमेरिकाले आयात कर छूट दिँदै आएको छ । यो योजनाबाट सबैभन्दा बढी भारत नै लाभान्वित हुदैँ आइरहेको थियो ।
अहिलेसम्म भारतले अमेरिकाबाट जीएसपी कार्यक्रम अन्तर्गत ५ अर्ब ७० करोड डलर बराबरको निर्यातमा आयात शुल्कमा छूट पाउँदै आएको छ । ट्रम्पले अमेरिकासँगको अस्वस्थ व्यापारिक सम्बन्धबारे पुनर्विचार गरिने बताउँदै आएका छन् ।
मोदी सरकार दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै अब भारतले अमेरिकासँगको व्यापार र सम्बन्धलाई कुन मोडमा लैजाला भन्ने कुरा चर्चामा रहेको छ । एजेन्सी