पाकिस्तानले आईएमएफसँग बेलआउट प्याकेजमा सम्झौता गरेसँगै हरेक बस्तुको मूल्य लगातार बढिरहेको बताइएको छ । यसका साथै पाकिस्तानबाट आयात हुने सामानमा भारतले २०० प्रतिशत शुल्क लगाएसँगै पाकिस्तानमा केही बस्तुहरूको मूल्य उच्च हुन पुगेको थियो ।
पाकिस्तानको अखबार एक्सप्रेसका अनुसार, गत हप्ता मात्र पाकिस्तानमा पेट्रोलको मूल्य ४ रूपैयाँ २६ पैसा र डिजेलको मूल्य ४ रूपैयाँ ५० पैसा बढाइएको छ ।
पाकिस्तानमा अब पेट्रोल प्रतिलिटर १८० रूपैयाँ ३५ पैसा पुगेको छ । पाकिस्तानको सरकारले भने यो समस्या केही समयका लागि मात्र भएको र दुई महिनापछि उक्त अवस्थामा सुधार हुने बताउँदै आएको छ । तर विपक्षी पार्टीका अनुसार, आम जनताहरू यस महंगीलाई झेलिरहेका छन् र सरकारलाई भने महंगी कसरी नियन्त्रण गर्ने भन्ने बारेमा कुनै उपाय थाहा छैन ।
आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानको अवस्था लगातार कमजोर भइरहेको र उसमाथि ऋणको बोझ पनि लगातार बढिरहेको छ ।
योसँगै पाकिस्तानको शेयर बजारको अवस्था पनि एकदमै खराब भइरहेको बताइएको छ । केही दिन पहिले मात्र पाकिस्तानको बेञ्चमार्क केएसई¬–१०० परिसूचक १ हजार ५ सय ५० अंक (साढे ४ प्रतिशत) ले घटेको थियो । यो विगत ३० हप्तायताकै उच्च कमी होे ।
पाकिस्तान स्टक मार्केटका सीईओले पनि शेयर बजारको बिग्रदो अवस्थालाई सम्हाल्न नसकेर आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल समाप्त हुनुभन्दा केही समय पहिले नै पदबाट राजीनामा दिएका हुन् ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशको आर्थिक संकटबाट निस्कनका लागि केन्द्र सरकार र राज्य सरकारले मिलेर काम गर्नुपर्ने बताएका छन् । एजेन्सी