सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा आह्वान, मुख्य एजेण्डा यस्ता

Jun 06, 2019 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको १५.४८ प्रतिशत बोनस लाभांश पारित गर्न असार १३ गते १७ औं वार्षिक साधारण सभा बोलाएको हो।

इन्स्योरेन्सको जेठ २१ गते बसेको सञ्चालक समितिको १४७ औं बैठकले असार १३ गते बिहान ११ बजे रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा साधारण सभा बोलाएको हो।

साधारण सभाले हाल कायम चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँको १५.४८ प्रतिशत अर्थात १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

बोनस शेयरमा लाग्ने लाभांश कर भने शेयरधनीले ब्योहोर्नुपर्ने इन्स्योरेन्सले जनाएको छ। बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।

यस्तै साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालकहरुको निर्वाचन समेत गर्ने लगायतका मुख्य एजेण्डा छन्।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले जेठ ३० गते बिहीबारदेखि बुकक्लोज गर्ने जनाएको छ । जस अनुसार जेठ २९ गते बुधबारसम्म कायम इन्स्योरेन्सका शेयरधनीले मात्रै गत आवको लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।


comments powered by Disqus