लघुवित्त संस्थाहरुमा यस कारण चल्यो मर्जरको लहर, उचालिएर शेयर किन्नुमा जोखिम

Jun 10, 2019 Merolagani

केही अघि स्थापना भएको स्वेडा लघुवित्तले प्रथम साधारणसभाको आब्हान गर्दै गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव अघि सारेको छ। जन्मनै नपाई मर्जर तथा एक्विजिशनमा जान स्वेडा मात्रै हैन, कयौं लघुवित्त हतारिएका छन् । किन पर्यो यो बाध्यता ?

केही साता यता लघुवित्त कम्पनीहरुमा मर्जर सम्झौता गर्ने लहर नै चलेको छ। अहिले १६ वटा  लघुवित्त संस्थाहरुले मर्जर र प्राप्तिमा जाने सम्झौता गरिसकेका छन भने त्यति नै संस्थाहरु सम्झौता गर्ने तयारीमा रहेका छन्।

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजीसनबाट पूँजी जुटाउने वित्तीय संस्थालाई स्तरोन्नतिमा प्राथमिकता दिने घोषणा गरे यता लघुवित्त कम्पनीहरुमा मर्जरको लहर सुरु भएको हो। शेयर बजारमा सूचीकृत मात्र नभई आइपीओ नै जारी नगरेका संस्थाहरु समेत अहिले धमाधम मर्जर र एक्विजीशनमा जुटेका छन् 

  • राष्ट्र बैंकले दिदैछ भित्रैदेखि दबाब 

लघुवित्त संस्थाहरुमा ब्याप्त रहेको दोहारो कर्जा, कर्जा प्रबाहमा अनियमितता, राम्ररी अनुगमन तथा सुपरीवेक्षण गरिएमा निस्क्रिय कर्जाको दर ह्वात्तै बढ्ने अबस्था, संस्थागत सुशासनको अभाव लगायतका समस्या देखिएपछि राष्ट्र बैंक आफैँ संस्थाहरुलाई गाभ्ने अभियानमा जुटेको छ ।

जिल्ला जिल्लामा खुलेका यस्ता संस्थाहरुलाई स्थलगत अनुगमन गर्न समेत  समस्या भएपछि राष्ट्र बैंकले मर्जर र एक्विजिशनको रणनीति अख्तियार गर्दै भित्रभित्रै दबाब दिएको छ। राष्ट्र बैंकको दबाब सामु टिक्न नसकेका संस्थाहरु धमाधम मर्जरको प्रस्ताव पारित गरेर आफ्नो जोडी खोज्न लागेका छन्। 

त्यस्तै राष्ट्र बैंकले तोकेको मापदण्ड नपुर्याएका वित्तीय संस्थालाई मर्जरमा जान दबाबमुलक निर्देशन दिनसक्ने संकेत गरेपछि लघुवित्त कम्पनीहरुले धमाधम स्वेच्छिक मर्जरको बाटो समातेका हुन् ।

  • कति छन् लघुवित्त संस्था ?

कूल ९१ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेकोमा राष्ट्रिय स्तरको कारोबार गर्ने लघुवित्तको संख्या ४० छ । अहिलो नेप्सेमा तीन दर्जन बढी संस्थाहरु सूचीकृत रहेका छन् ।

लघुवित्तको कारोबार गर्ने गैरसरकारी संस्था समेत कम्पनीमा रुपान्तरण भएर राष्ट्र बैंकबाट स्वीकृति पाउँदा लघुवित्तको  संख्या ११५ हाराहारीमा पुगने आँकलन गरिएको छ । 

राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था प्रवद्र्धन तथा नियमन विभागका अनुसार केही लघुवित्त कम्पनीहरु कार्यालय सञ्चालनका लागि प्रक्रियामै छन्। सञ्चालनमा रहेका ६८ वटा लघुवित्त कम्पनीहरुले असोज मसान्तसम्म कुल ७ खर्ब ६१ अर्ब कर्जा प्रवाह गरेका छन्। हाल मुलुकभर सञ्चालित लघुवित्त संस्थाहरूबाट २५ लाखभन्दा बढी घरपरिवारमा सेवा पुगेको छ । ती संस्थाले करिब साढे १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

लघुवित्त कम्पनीहरुको संख्या धेरै हुँदा  नियमन गर्न कठिन भएको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका छन् । यसैले राष्ट्र बैंकले नयाँ लघुवित्त सञ्चालनका लागि आवेदन लिन समेत बन्द गरेको छ। 

हाल थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड, राष्ट्रियस्तरको १० करोड, क्षेत्रीय स्तरको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लास्तरका लघुवित्तको चुक्ता पूँजी १ करोड रुपैयाँ छ।

वित्तीय पहुँच विस्तार, गरिबी न्यूनीकरण तथा सामाजिक उत्थानमा योगदान पुर्याउने हेतुले स्थापना हुने गरेका लघुवित्त संस्था  केही समय यता नाफामूलक बन्दै आएका छन् ।

  •  कुन - कुन संस्था जाँदै छन् मर्जर र एक्विजिशनमा ?

राष्ट्र बैंकले लघुवित्तलाई मर्जरमा लग्ने प्रोत्साहन नीति ल्याएपछि सबैभन्दा पहिला साधना लघुवित्त वित्तीय संस्थाले र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्झौता गरेको थियो । गत फागुन ८ गते गोरखाको साधना लघुवित्तले तनहुँको आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो ।

यस्तै वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपमामा गाभिने सम्झौतामा हस्ताक्षर गरेका छन्। शेयर बजारमा सूचीकृत वोमी र आइपिओ जारी नगरेको नागरिक लघुवित्त एक आपसमा मर्जरमा सहमति गरेका थिए। यी दुई संस्थालाई मर्जरमा जान राष्ट्र बैंकले स्वीकृति प्रदान गरिसकेको छ।

यसैगरी जनसेवी लघुवित्त र कालिका माइक्रोफाइनान्स पनि गाभिन लागेका छन्। उन्नति माइक्रोफाइनान्सको गत माघमा सम्पन्न चौथो वार्षिक साधारण सभाले पनि मर्जर वा प्राप्तिमा जाने प्रस्ताव पारित गरिसकेको छ।

त्यस्तै स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाले पनि उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने वा गाभिने, एक्विीजिशन प्रयोजनका लागि आवश्यक सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ। यस लघुवित्तले पनि सर्वसाधारणमा शेयर जारी गरिसकेको छैन।

हालै मात्र साधारण शेयर निष्काशन गरि बाँडफाँड गरेको चौतारी लघुवित्त वित्तीय संस्थाले आरम्भ माइक्रोफाइनान्सँग मर्जरमा जाने सहमति गरिसकेको छ। यसबाहेक, एनआरएन लघुवित्तसँग रामारोशन लघुवित्त र क्रिएटिभ माइक्रोफाइनान्स गाभिन लागेका छन्। किसान माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र नागबेली लघुवित्त पनि गाभिँदै छन् । 

तनहूँमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त र कपिलवस्तुको सत्यवती लघुवित्त मर्जरमा जाने भएका छन्। यी दुई संस्थाले पनि मर्जरमा जाने सहमति गरिसकेका छन् ।

आदर्श लघुवित्त कम्पनी स्थापना भएको एक वर्ष नपुग्दै मर्जर प्राप्ति गर्न जान इच्छुक देखिएको छ। बनेपामा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त कम्पनीले उपयुक्त लघुवित्त संस्थासँग मर्जर तथा प्राप्ति दुबैमा बाटो खुला राखेको हो।

नेपाल सेवा लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्त,  उन्नति माइक्रोफाइनान्स, विजय लघुवित्त, नागवेली लघुवित्त, लक्ष्मी लघुवित्त, स्वदेशी लघुवित्त, ग्लोबल आइएमई माइक्रोफाइनान्स, गणपति माइक्रोफाइनान्स लगायतका संस्थाहरुले पनि मर्जरमा जाने प्रस्ताव पारित गरिसकेका छन् ।

सञ्चालनमा रहेका बहुसंख्यक लघुवित्त संस्था शहर बजार र सुविधा सम्पन्न क्षेत्रमा केन्द्रित भएको, बहुबैंकिङ्ग (डुप्लिकेसन) बढ्दै गएको, उच्च ब्याजदरसहित विभिन्न किसिमका शुल्क असुल्दै आएकोलगायत कारण लघुवित्त संस्थाको आलोचना बढ्दै गएको छ ।

  • उचालियर शेयर किन्नु घातक

माग र आपुर्तिको सन्तुलन नमिल्दा दोस्रो बजारमा कमजोर अबस्थाका लघुवित्तहरुको शेयर निकै महङ्गो मूल्यमा किनबेच हुँदै आएको छ। अति कमजोर अबस्थाका कम्पनीहरुको शेयर मूल्य सबैभन्दा धेरै छ । कतिपयले यसमा कर्नरिङ्ग पनि गर्ने गरेका छन् ।

भर्खर संचालनमा आएका र शेयर मूल्य महंगो रहेका कमजोर लघुवित्तहरु मर्जरमा गए शेयर कारोबार लामो समय रोकिदा दोस्रो बजारबाट उचालिएर शेयर किन्नेहरु फस्न सक्छन्। भर्खर आईपीओ जारी गरेका लघुवित्तको शेयर धितो राखेर बैंकबाट कर्जा लिन नसकिने अवस्था छँदैछ भने मर्जर सकिएपछि शेयर कारोबार खुल्दा मूल्यमा ठूलो अन्तर पर्नसक्ने सम्भावना हुन्छ।

मर्जरमा जाँदाको स्वाप के हुन्छ भन्ने अर्को महत्वपूर्ण प्रश्न हो। मर्जर सकिएपछि त्यतिबेला बजारमा देखिने फेरबदलले शेयरको मूल्य घट्नसक्ने जोखिम हुने हुँदा अहिले नै महङ्गोमा शेयर किनेर मर्जर अवधिभर बन्धक बनेर बस्नु घातक हुनसक्छ ।

आईपीओमा हात परेको शेयर छ भने कुनै ठूलो समस्या नहुनसक्छ तर दोस्रो बजारको उतार चढावलाई ख्याल गर्ने हो भने मर्जरमा जाने कम्पनीको शेयर दोस्रो बजारमा उचालिएर किन्दा विचार पुर्याउनै पर्छ । लघुवित्त सुनको फूल पार्ने कुखुरी नभएकाले कमजोर कम्पनीहरुको शेयर हुरुक्कै भएरर महंगोमा उठाउनु अघि १० पटक सोचौं ।

लघुवित्तको शेयर किन्ने परे पूँजी आधार बलियो भएको, राम्रो लाभांश दिँदै आएका र मर्जरमा नजाने राम्रो कम्पनीको सस्तो शेयर किनेर ढुुक्कसँग बसौं ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।