मंगलबार कोषको आफ्नै भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्रीले निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना भएर निक्षेप सुरक्षणको व्यवस्था भएसँगै बैंकको बारेमा ठूल्ठुला अखबारहरुमा समाचार छापिएपनि बैंकको काउन्टरमा दौेडेर रकम झिक्न जानेहरुको लर्को नलागेको बताए।
- नेपालको बैंकिङ्ग प्रणाली दक्षिण एशियाकै सुदृढ
कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ्ग प्रणाली दक्षिण एशियामा नै सुदृढ रहेको बताए।
बैंकहरुमा निक्षेपको बीमामात्र नगरी बैंकहरुको प्रणाली बलियो बनाउने, क्षमता बढाउने कारोबारलाई बलियो बनाउने, बैंकहरुप्रतिको विश्वसनियता बढाउने,व्यवस्थापनमा सुधार गरेर पारदर्शिता ल्याउने, निष्कृय कर्जाको अनुपात घटाउने र राष्ट्र बैंकले तोकेको मान्नुपर्ने केही परिसूचकहरु पालना गराउन थालेपछि नेपालका बैंकलाई विदेशी बैंकहरुले समेत ऋण दिन थालेको उनको दाबी गरे।
- अस्तित्वविहीन संस्थालाई बचाएँ
कार्यक्रममा अर्थमन्त्री खतिवडाले पछिल्ला कालखण्डमा प्राथमिकता क्षेत्रमा प्रवाहमा गरिएको कर्जा जोखिमलाई व्यवस्थापन गर्न त्यस्तो कर्जालाई सुरक्षण दिनुपर्छ वा अर्को भाषामा भन्ने हो भने बीमा गर्नुपर्छ भन्ने अभिप्रायले यो कोष स्थापना भएपनि सो अनुरुप काम नपाएपछि संस्था अस्तिविहीन हुने अवस्थामा पुगेको बताए।
प्राथमिकताका कार्यक्रम हट्दै गएपछि विपन्नवर्ग कर्जा कार्यक्रम मात्र कायम रहेको अवस्थामा आफु गर्भनर हुँदा कर्जा सुरक्षण गर्ने यस संस्थाको कारोबार (व्यवसाय) झण्डै झण्डै फेज आउट भैसकेको अवस्थामा आफुले संस्थालाई जोगाएको उनले दाबी गरे। कोषको आफ्नै भवन निमार्ण हुने अवस्थामा पुग्दा आफुलाई खुशी लागेको उनले बताए।
अर्थमन्त्री खतिवडाले विपन्नवर्ग कर्जा कार्यक्रम जोगाउन तत्कालीन सुधारको चरणमा बैंकहरुलाई निश्चित क्षेत्र तोकेर लगानी गर वा नगर भनेर भन्नु हुँदैन भन्ने विश्वव्यापी दबावका बीच आफुले नेपालमा गरीबी रहेको र विपन्नवर्ग धेरै रहेकाले बैंकिङ्ग पहुँचभन्दा बाहिर धेरै रहेकाले उनीहरुलाई कर्जाको सेवा र सुनिश्चित गर्न विपन्नवर्ग कर्जा चाहिन्छ भनेर विश्वलाई बुझाएको बताए।
आफुले दुई वटा कुरालाई प्राथमिकतामा राखेर विपन्नवर्ग कर्जालाई सम्पूर्ण बैंकहरुको ३ प्रतिशत जाने व्यवस्था कायम भएको र आफु गर्भनर भएर आएपछि क्रमश प्रत्येक वर्ष ०.५ प्रतिशतले बढाएर अहिले पाँच प्रतिशतभन्दा धेरै कर्जा प्रवाह हुने अवस्था आएको उनको भनाई छ ।
अर्थमन्त्री खतिवडाले भने 'कर्जा सुरक्षण गर्ने यस संस्थाको कारोबार (व्यवसाय) झण्डै झण्डै फेज आउट भैसकेका, वा संस्थाको अस्तिव्वविहीन हुने अवस्थामा पुगेको थियो। यसले आफ्नो कारोबार गर्ने मौका पायो। यसको अतिरिक्त साना जोखिम आंकलन, सूचना प्राप्त गर्न र व्यवस्थापन गर्ने नसक्ने, कुन बैंक वित्तीय संस्था कस्तो छ भनेर मूल्याङ्कन गर्न नसक्ने बचतकर्ताहरुको बचतलाई सुरक्षा दिनुपर्छ, निक्षेप बीमा गर्नुपर्छ, भनेर मैले गभर्नर भएको एक दुई महिनाभित्रै सो व्यवस्था लागू गरेको थिएँ।'
सो समयमा नेपाल राष्ट्र बैंकको नै अध्यक्ष सहित दुई जना सञ्चालक रहेकाले सरकारसँग सहकार्य गरि निर्णय गर्यो त्यहि लागू हुने अवस्थाले निक्षेपको बीमा सुरु गरेको उनले बताए। निक्षेप बीमा भएपछि बैंक वित्तीय संस्थाहरुले जोखिम व्यवस्थापन गर्न हिचकिचाउँछन् र निक्षेप बीमा भएकै छ भनेर निक्षेप दिनेले पनि राम्रो संस्था छनौट नगरी बस्न सक्छन्, माेरल हर्जाडमा पुग्न सक्छ बैंकिङ्ग प्रणाली भन्नेहरु पनि ठूला संकट आउँदै गएपछि मात्र निक्षेप बीमा गर्नुपर्ने रहेछ भन्ने अवस्थामा पुगेको बताए।
प्रतिखाता २ लाखसम्मको बीमा गर्ने व्यवस्था सुरु गरेपछि कुनैपनि बैंकमा मेरो निक्षेप डुब्छ कि, कुनै बैंकको बारेमा ठूल्ठुला अखबारहरुमा ठूल्ठुला समाचार छापिएपनि बैंकको काउन्टरमा दौेडेर जानुहुन्न। दश वर्षमा कुनैपनि बैंकमा निक्षेप फिर्ता लिने भीड देख्नुभएको छैन। हाल तीन लाखसम्म बीमित हुन थालेपछि आफ्नो पैसा डुब्दैन भनेर ढुक्कसँग बस्ने वतावरण निमार्ण भएको उनले बताए।
कर्जा सुरक्षण कोषको चुक्ता पूँजी चालु आवभित्रै १० अर्ब पुर्याउने
अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षभित्रै सरकारले कर्जा सुरक्षण कोषको चुक्ता पूँजी १० अर्ब पुर्याउन लागिएको बताए। कोषमा हालसम्म अर्थ मन्त्रालयले पाँच अर्ब लगानी गरिसकेको बताउँदै उनले चालु आवमा दुई अर्ब थपिने जानकारी दिए।
चुक्ता पूँजी बलियो भएमात्र निक्षेप बीमा र कर्जा सुरक्षण गर्नसक्ने संस्थाको रुपमा विकासित गर्न सकिने उनको बुझाई छ । यसका लागि कोषको व्यवस्थापनलाई बलियो बनाउने, संस्थागत सुदृढिकरण र जनशक्ति विकास गर्ने, सूचना प्रविधिमा आधारित कारोबारलाई बढाउने, जोखिमको निरन्तर अनुगम र विश्लेषण गरि जोखिम व्यवस्थापन गर्ने कार्ययोजना बनाएर अगाडि बढ्न कोष व्यवस्थापनलाई उनले सुझाव दिए ।
निक्षेप बीमाको रकम बढ्दै गएकाले कोषको बीमा दायित्व बढ्दै गएको र जोखिम नआएकाले र प्रिमियम राम्रो संकलन गरेकोले कुनैबेला दुई करोड नाफा नहुने संस्थाको नाफा दुई अर्ब भएको उनको भनाई छ।
अर्थमन्त्रीले कृषिमा बाली, पशु, साना जस्ता अन्य सबै खाले सहुलियपूर्ण कर्जा प्रवाह गरि सो कर्जाको बीमा कम्पनीहरु मार्फत सरकारले ७५ प्रतिशत प्रिमियम व्यहोर्ने गरेको हुनाले बीमा र कर्जा सुरक्षण गर्ने यस्तो संस्थाहरुको साथ दिएर देशमा स्वरोजगारी, उद्यमशीलता विकास गर्नमा सहयोग पुर्याउनुपर्ने आवश्यकता औल्याए।