नयाँ वर्ष लागे पछि वैशाख महिनाको बजारमा अर्ब बढीको कारोबार हुने गरेको थियो ।
बजेटपछि भने कारोबार रकम सुस्ताउन थालेको हाे । मंगलबार नेप्से २.१० अंकले घट्दा कारोबार ३५ करोड ३७ लाखमा खुम्चिएको छ ।
तर मजदुर र व्यवस्थापनको विवादले बन्द रहेको तारागाँउ रेजन्सी होटल्सको शेयर मूल्य घटेर उच्च कारोबार भयो । सो होटलको शेयरमूल्य प्रतिकित्ता ९ रुपैयाँले झरेको छ । शेयरमूल्य झर्दा सबैभन्दा धेरै ४ करोड २४ लाख रुपैयाँको कारोबार भयो । मार्केट डेप्थमा कम्पनीको शेयर मूल्य घटाएर खरिद गर्न चाहाने लगानीकर्ता बढी देखिन्थे ।
होटल बन्द भएको खबरले केही लगानीकर्ता शेयर बिक्री गर्न हतारिँदा, विवाद साम्य हुने आशमा रहेका लगानीकर्ताले भने खरिदको क्रम बढाएका छन् । मजूदर र होटल व्यवस्थापनबीच पटक पटक वार्ता भएपनि अझै निष्कर्षमा भने पुग्न सकेको छैन ।
मंगलबारको बजारमा १७७ वटा कम्पनीको कारोबार भएको बजारमा ६८ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको ओरालो झरेको छ। बाणिज्य बैंक, विकास बैंक र माइक्रोफाइनान्सको सूचकमा सामान्य सुधार देखिए पनि बाँकी सूचक ओरालो झरेका छन्।
यसदिन सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ६.९४ प्रतिशतले बढेको छ भने समता लघुवित्तका शेयरमूल्य सबैभन्दा धेरै ५.३८ प्रतिशतले घटेको छ ।
नयाँ बजेट पछिको दुई दिन बाहेक अधिकांस दिनमा शेयर बजार ओरालो लागेको छ भने कारोबार रकम समेत घट्न थालेको छ । बजेटले बजारका विषय समेटेपनि वित्तीय प्रणालीमा तरलता सहज नहुँदा शेयर कारोबारमा कमी हुँदै आएको छ ।
केन्द्रिय बैंकले आगामी वर्षको मौद्रिक नीति तथा धितोपत्र बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रमको तयारी गरिरहदा लगानीकर्ताको ध्यान यसतर्फ समेत मोडिएको छ जसले गर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । शेयर बजारका लगानीकर्ताबिच एक रुपैयाँमा चर्को बार्गेनिङ हुन थालेको छ । कतिपय कम्पनीको शेयर मूल्य एक रुपैयाँ तलमाथि पारेर किनबेच गर्न लगानीकर्ता लागि परेको देखिन्छ ।