पियुषबहादुर अमात्यको फूलबारी रिसोर्टमा नेपाल बैंक, एनआईडीसी र कर्मचारी संचय कोषले एक अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा त्यसको ब्याजसहितको हिसाब अहिले तीन अर्ब ५० करोड पुगिसकेको छ। हर्जानाहरुको समेत हिसाब गर्दा धेरै रकम हुने भए पनि प्रक्रिया अनुसार अगाडि बढेपछि त्यसमा छुट हुनसक्ने नेपाल बैंकका अधिकारीले बताए।
लामो समयदेखि बन्द रहेको फूलबारीलाई म्यारियट चेन होटलले संचालन गर्ने प्रारम्भिक सम्झौता भईसकेको छ भने केही पुनर्निमाण गर्ने प्रयोजनका लागि पोखराको सराङकोट, पर्साको बीरगंज र काठमाडौमा पियुषबहादुर अमात्य र निजकी श्रीमतिको नाममा स्वामित्व कायम रहि बैंकहरुले रोक्का राखेको जग्गाहरु बिक्री गर्न दिने प्रक्रिया शुरु भएको छ।
अमात्य परिवारको नाममा सराङकोटमा रहेको १० रोपनी, पर्साको दुई कठ्ठा र काठमाडौको पाँच रोपनी जग्गा बिक्रीबाट आउँने ४० करोड रुपैयाँ बैंकहरुलाई बुझाउनुपर्ने गरी तोकिएको छ । सो रकम मध्ये १० करोड रुपैयाँ बैंकको सावाँ ब्याजका लागि र बाँकी ३० करोड रुपैयाँ बैंकहरुकै सुपरीवेक्षणमा होटल पुनर्निमाणमा खर्च हुने बताईएको छ । पुनर्निमाण सकिएपछि म्यारियटले होटल संचालन गर्ने छ ।
स्रोतका अनुसार नेपाल बैंकले कर्जा पुनर्सरचना प्रक्रियालाई स्वीकृति दिईसकेको छ भने एनआईडीसी गाभिएको राष्ट्रिय बाणिज्य बैंक र कर्मचारी संचय कोषले पनि स्वीकृत गरेपछि मात्र प्रक्रियाले मुर्त रुप लिनेछ ।
फूलबारीमा कर्जा लगानी गर्दा नेपाल बैंकको ७० प्रतिशत लगानीमा सहवित्तीयकरण कर्जाको रुपमा गरिएको हुँदा यो पुनर्सरचना हुँदा पनि सबैभन्दा धेरै राहत नेपाल बैंकले नै पाउने पक्का छ तर आर्थिक बर्ष समाप्त हुन पाँच दिन मात्र बाँकी भएकाले प्रक्रिया पुरा गर्न यो आर्थिक बर्षमा भ्याउने संभावना छैन । त्यसो हुँदा यही आर्थिक बर्षको वित्तीय विवरणमा नेपाल बैंकले फूलबारीको नयाँ हिसाब समाबेश गर्न गाह्रो छ ।