राम्रा कम्पनीको शेयरको मूल्य बढ्नु अघि नै मौका छोप्नुहोस्, त्यसपछि त अर्कै रणनीति

Jul 15, 2019 08:07 AM Merolagani

- तिलक कोइराला। 
दोस्रो बजारमा लगानी गर्दै आएका लगानीकर्ताहरु शेयरको मूल्य बढ्न थालेपछि उचालिएर किन्ने प्रवृत्ति छ। जब मूल्य ह्वारह्वारती बढ्न थाल्छ, उचालिएर शेयर किन्नेहरु तछाड मछाड गर्छन्, यो शेयर बजारको आम प्रवृत्ति हो।

जब शेयर बजारमा राम्रा कम्पनीको शेयरको मूल्य घटेर तल्लो बिन्दुमा आएको हुन्छ, त्यो बेला राम्रा एक भन्दा बढी कम्पनीहरुको शेयर सस्तोमा किनेर लगानी विविधिकरण गर्नेहरु कमै हुने गर्छन्  ।

यसपल्ट असार मसान्त अघिको बजारमा शेयरको मूल्य उल्लेखनीय रुपमा घटेर राम्रा कम्पनीहरुको शेयर मूल्य सस्तिए। तेस्रो त्रैमासको बित्तीय विवरणको आधारमा विश्लेषण गर्दा कयौं राम्रा कम्पनीहरु जसले ढिलोमा चार महिनापछि दोहोरो अंकको लाभांश वितरण थाल्नेछन्, उनीहरुको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम हुने गरी तल नै रहेको अवस्था छ । चार महिनाको अवधिमा सात प्रतिशत लाभांशको प्रतिफल पाउन सकिने सम्भावना कमजोर हैन, त्यसमाथि शेयरको मूल्य बढेर हुने पूँजीगत लाभ त छदैछ ।

असार लागेपछि कयौं बैंक तथा बित्तीय संस्थाहरुले नयाँ शेयर कर्जा वितरण गरेनन् भने पुराना कर्जावालाहरु पनि सावाँ र ब्याज भुक्तान गर्नुपर्ने चापमा परे । उद्योग ब्यवसाय गर्नेहरुले सरकारलाई कर समेत बुझाउनु पर्दा दोहोरो चाप पर्न गयो । त्यसैले शेयर बजारमा किन्ने भन्दा बेच्नेको चाप परेको हो । अब असार समाप्त हुनै लाग्दा बेच्ने भन्दा किन्नेको चाप पर्दा शेयरको मूल्यमा देख्न र अनुभुति गर्न सकिने गरी बदली हुनसक्छ ।

एकातिर बैंक तथा बित्तीय संस्थाहरुले नयाँ कर्जा वितरण गर्न थाल्नु र अर्कोतिर हातमा पैसा लिएर बसेका लगानीकर्ताहरुमा शेयर बजारको मनोविज्ञानले काम गर्नुको असर हुनसक्छ । असार २९ गते कारोबार रकम घटेर धेरै तल आउँनु र शेयरको मूल्य केही बढ्नुलाई असारे प्रभाव समाप्तिको संकेतको रुपमा लिन सकिन्छ ।

गत बर्षभरि लगानीयोग्य रकमको अभाव झेलेका बैंक तथा बित्तीय संस्थाहरु असारको अन्तिम सातामा भएको धेरै सरकारी खर्च र भुक्तानीको कारणले केही सहज अवस्थामा पुगेका हुनसक्छन् । साउन १ गते बैंकहरुमा देखिने तरलताको अबस्थाले उनीहरु कस्तो अबस्थामा रहेछन् भन्ने स्पष्ट हुन्छ । त्यस कारण कर्जा लिएर शेयर बजारमा लगानी बढाउँनेहरु पनि त्यसपछि सक्रिय हुनसक्छन् ।

अर्कोतर्फ कम्पनीहरुले बर्षभरि गरेको प्रगतिको विवरण चौथो त्रैमाशिक विवरणको रुपमा पस्कन थाल्दा त्यसले शेयर बजारमा नयाँ माहौल सिर्जना गर्नसक्छ । चौथो त्रैमाशिक वित्तीय विवरणका गोप्य सूचनाहरु चुहिन थाल्दा शेयर बजार तरंगित हुने गरेको पहिलेका घटनाहरु पनि छन् । कम्पनीको अबस्था, लाभांश क्षमता र प्रतिफलले लगानीलाई धान्न सक्छ कि सक्दैन भनेर तौलिनेहरुले साउनको पहिलो साताबाट राम्रा कम्पनीमा बढी आँखा गाढ्छन, त्यो भन्दा अगाडि नै पनि मौका छोप्नेहरुको गतिविधि तीब्र हुनसक्छ ।

साउनको पहिलो साता आउँने मौद्रिक नीति र त्यसमा समाबेश हुने बिग मर्जरको प्रभाव पनि शेयर बजारमा पर्नसक्ने संभावना छदैछ । कस्तो नीति आउँछ, कुन बैंक कोसँग गाभिन्छ वा बेचिन्छ र स्वाप लगायतका कारणले आफुलाई कसरी फाईदा हुन्छ भनी सूचनामा विश्लेषण गर्नेहरुले मर्जर तथा एक्विजिशनको कुरालाई आधार बनाएर पनि लगानी गर्नसक्छन् ।

यति भन्दाभन्दै पनि शेयर बजारमा कतिखेर कुन कुराले काम गर्छ र अब बजार कता जान्छ भन्ने कुरा कसैले भन्न सक्दैन । कसैले लगाएकोे अनुमान मिल्ने कुरा संयोग मात्रै हो तर आफ्नो जोखिमबहन क्षमता र कम्पनीको अबस्था हेरी शेयर बजारमा लगानी गर्दा पनि धेरै सोच विचार गर्नैपर्छ ।

शेयर बजारमा सुरक्षित लगानी गर्नेहरुले एउटा कम्पनी हैन, कम्तिमा १० वटा कम्पनी, शेयरको मूल्य बढेको बेला हैन, घटेर राम्रा कम्पनीको शेयर मूल्य निकै सस्तो रहेको बेला लगानी गर्ने हो । शेयरको मूल्य बढ्न थालेपछि त अर्कै रणनीति अपनाउनुपर्छ । त्यो भनेको राम्रो लाभांशले मूल्यलाई खाम्छ भने नबेचेरै राखी लाभांश खाने हो, लाभांशको आश नगर्ने हो भने बिक्री गरेर पूँजीगत लाभ हात पार्ने हो । तर यसो भन्दैमा खराब कम्पनीको शेयर सस्तोमा पाईयो भन्दै लगानी गर्नेहरु भने जतिखेर पनि अत्याँसलाग्दो जोखिममा हुने गर्छन । त्यस्तो जोखिम सर्बसाधारण लगानीकर्ताले लिनै हुन्न किनभने शेयर बजारमा १० प्रतिशतले कमाए पनि ९० प्रतिशतले गुमाउँने ठाउँ हो । जताततै जोखिम नै जोखिम छ । यहाँ कमाउँन धेरै बुद्धि लगाउँनुपर्छ, गुमाउँन सजिलो छ । यो त्यस्तो ठाउँ पनि हो जहाँ हल्ला र लहैलहैमा लाग्नेहरु धेरै फस्छन् र लगानी गुमाएर बाहिरिन्छन् । उनीहरुका कारणले सुरक्षित लगानी गर्नेहरु पनि समस्यामा परेका छन् । त्यसैले सबै जना शेयर बजारमा लगानी गर्न आउँनुपर्छ कसैले भन्नु हुँदैन, जोसँग कौशल छ र जोखिमबहन गर्नसक्छ, उ मात्र शेयर बजारमा छिर्नुपर्छ ।

भएभरको पैसा एउटै खराब कम्पनीमा हालेर डुब्नेहरुको गाथा गाउँनु जरुरी छैन । यस्ता लगानीकर्ता हजारौको संख्यामा हुनसक्छन् । सफल त त्यो हो जसले शेयर बजारमा विविधिकरणसहित सुरक्षित लगानी गरेर कमाउँछ । त्यो लगानी दीर्घकालीन नै हुनुपर्छ । शेयरमा लगानी गर्नुअघि आफ्नो अध्ययन बिश्लेषण एकदम महत्वपूर्ण छ । र आफ्नै निर्णय हुनुपर्छ । 

सुरक्षित लगानी गर्नेले पनि कम्पनीको पूँजी पर्याप्त रहेको, संस्थागत सुशासन राम्रो रहेको, चुक्ता पूँजीकै हाराहारीमा जगेडा कोष रहेको, पूँजीगत जगेडा धेरै भएको, कम्पनीले क्रमबद्ध प्रगति गर्दै गएको, प्रति शेयर आम्दानी १५ रुपैयाँमाथि र मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम रहेको, गत बर्ष दोहोरो अंकले लाभांश वितरण गरेको, प्रतिशेयर नेटवर्थकै हाराहारीमा वा केही बढी शेयर मूल्य रहेको, मर्जर तथा एक्विजिशनमा जाँदा पनि राम्रो हैसियत कायम गर्ने कम्पनीहरुमा मात्र लगानी गर्नुपर्छ ।

यहाँ लगानी गर्न खोजिएको पैसा आफ्नै कमाईको हो कि ऋण र सापटी लिईएको हो भन्ने कुरा यकिन गरेपछि मात्र कस्ता कम्पनी छनौट गर्ने भन्न सकिन्छ । चर्को ब्याजमा लिईएको पैसा लगानी गररेर शेयर बजारबाट लाभ लिन सकिन्न । त्यसो गर्ने हो भने ठूलो जोखिम लिएको मान्नुपर्छ । यस्तो जोखिम शेयर  बजारमा नलिएकै राम्रो ।

शेयरको मूल्य माथि जानु भन्दा अगाडि नै राम्रा तर सस्ता कम्पनीका शेयरमा लगानी सुरक्षित गरौं, लाभांशमा आधारित लगानी गरौं । पूँजीगत लाभ भएको बेलामा बिक्री गर्न पनि तत्पर रहौं । नआँत्तियौ, नमात्तिऔं, शेयर बजारमा शेयरको मूल्य घटबढ् भई नै रहन्छ, त्यही घटबढ नै लगानी र फाईदाको अवसर हो । नेप्से कतिले घट्यो वा बढ्यो भन्ने कुरामा कुनै मतलव नगर्नुहोस्, त्यो भुलभुलैमा लाग्नु नैै बेकार । आफुले धारण गरेको वा गर्न खोजेको शेयरमा हरपल आँखा लगाईरहनुहोस् । आँखा झिमिक्क गर्दा शेयर बजारमा अर्कै अबस्था सिर्जना भएको पनि हुनसक्छ भन्ने कुरा सदैव ख्याल गर्नुहोस् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।