सार्वजनिक यातायातामा अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गर्दै कामपा

Jul 15, 2019 02:55 PM RSS

–शरद शर्मा
काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला। महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरेकोले यात्रुले अनिवार्य टिकट लिनुपर्ने भएको हो।

ऐनको दफा ४ मा सार्वजनिक यातायात साधनमा चढ्नुभन्दा पहिले वा चढेलगत्तै यात्रीसँग तोकिएको भाडा लिइ अनिवार्यरुपमा टिकट दिनुपर्ने सम्बन्धित परिचालकको दायित्व रहेको उल्लेख छ।

दफा ५ मा टिकट अनिवार्य लिनुपर्ने व्यवस्थामा महानगर क्षेत्रभित्र रुट कायम भई सञ्चालन हुने सार्वजनिक यातायात साधन प्रयोग गर्ने यात्रुले आफू चढ्ने बस बिसौनीमा वा सवारी साधन चढे लगत्तै निर्धारित भाडा तिरेर टिकट लिनुपर्ने व्यवस्था गरेको छ। तर ऐन जारी भएको तीन महीना बित्दा पनि न सार्वजनिक यातायातका परिचालकले यात्रुलाई टिकट दिन्छन् न यात्रुले नै टिकट माग्दछन्।

दिनहुँ लाखौँ रुपैयाँ यात्रुबाट उठाए पनि यातायातका परिचालकले टिकट दिने गरेका छैनन्। महानगरभित्र साझा यातायात बाहेक अहिले अन्य यातायातले यात्रुलाई टिकट दिने गरेका छैनन्। ऐनमा यात्रुलाई ई–टिकट र टिकट दिनुपर्ने व्यवस्था रहेको छ।

सार्वजनिक यातायातमा यात्रा गरेपछि अनिवार्य रुपमा टिकट दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनको चरणमा महानगरपालिका रहेको छ। महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले महानगरभित्र चल्ने यातायातलाई व्यवस्थित गर्न टिकट अनिवार्य गर्न थालिएको बताए।

“सार्वजनिक यात्रा गर्दा यात्रु पनि नठगिउन् भन्नका लागि टिकटको व्यवस्था अनिवार्य गर्न थालेका हौँ”, उन भने “यात्रुलाई पनि कहाँसम्म कति भाडा पर्दछ भन्ने कुरा टिकटमा नै उल्लेख गर्ने हुनाले ठगिँदैनन्।” अहिले २० लिने भाडामा २५ पनि लिने गरेको पाइएको उनले बताए।

अहिले काठमाडौँमा दैनिक लाखौँ यात्रुले काठमाडौँका विभिन्न सडकमा यात्रा गरे पनि त्यसको एकिन तथ्याङ्क रहेको छैन। वास्तविकरुपमा कति यात्रुले यात्रा गर्दा रहेछन् भन्ने कुराको पनि उक्त व्यवस्थाबाट थाहा हुने बताइएको छ। प्रवक्ता डङ्गोलले साउन महीनादेखि यात्रा गर्दा टिकट दिने÷लिने विषयमा यातायात व्यवसायीसँग छलफल गर्ने बताए।

“हामीले भर्खरै ऐन ल्याएकाले यातायात व्यवसायीसँग छलफल गर्न पाएका छैनौँ”, उनले भने। “हामी अहिले आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित गरेपछि टिकटका बारेमा व्यवसायीसँग छलफल गर्नेछौँ ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले टिकट प्रणालीका पक्षमा आफूहरु रहेको भन्दै तर छलफल नै नगरि ऐन ल्याइएको बताए। उनले आफूहरुसँग छलफल गरेर ल्याएको भए कार्यान्वयनमा समस्या नआउने समेत बताए।

टिकट लागू नगर्दा यात्रु भन्दा बढी मार गाडी मालिक पर्ने गर्छन् । “टिकट प्रणाली लागू गर्न स्वयं हामी नै चाहन्छौँ। टिकट प्रणाली लागू नगर्दा कति यात्रु चढे भन्ने कुराको थाहा हुँदैन ।” महासचिव सिटौलाले भने। “टिकट हामीले दिँदा टिकट काटेका आधारमा भाडा बापतको पैसा पाउने थियौँ। गाडी चालक र सहचालकले विना टिकटका आधारमा भाडा बुझिरहेका छन्।”

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।