नेपाल चेम्बर अफ कमर्शले आज आयोजना गरेको वाणिज्य नीतिसम्बन्धी छलफलमा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजार अनुगमनमा मात्र सीमित नभई व्यापार सहजीकरणमा समेत ध्यान दिइने बताए।
उनले उपभोक्ता संरक्षण ऐन अनुसार लेबल लगाइएका वस्तु बिक्री गर्न उद्यमी व्यवसायीलाई आग्रह गर्दै बजार अुनगमन निरन्तर रहने बताए। खरीद बिक्रीमा बिलविजक जारी गर्नु अनिवार्य भएको प्रष्ट पार्दै महानिर्देशक गौचनले बिजक जारी नगरेको भेटिए कारबाही हुने भन्दै व्यवसायीलाई सचेत गराए।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गराउन सकिए कानूनी प्रावधानको कार्यान्वयनमा कठिनाइ नआउने बताए।
उनले उपभोक्ता नियमावली निर्माणको क्रममा चेम्बरलाई सहभागी गराउन आग्रह गरे। अध्यक्ष श्रेष्ठले बजार अनुगमन गर्दा डर त्रासको वातावरण हटाउनुपर्नेमा जोड दिए।