तत्कालीन नेकपा एमाले निकटका एक हजार दुई सय संस्थापकहरुको संलग्नतामा दुई अर्ब ३३ करोड चुक्ता पूँजीसहित स्थापना भएको बैंकले आफुसँग सामिप्यता राख्ने र सोच मिल्ने बैंकसँग मर्जरमा जाने भन्नु अर्थपूर्ण रहेको छ ।
मेगा बैंकका संस्थापकहरुमा नेकपाका बरिष्ठ नेता माधव नेपाललगायतका धेरै नेता तथा कार्यकर्ताहरु छन् तर कसैको पनि डेढ प्रतिशत भन्दा बढी स्वामित्व छैन ।
हाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेका डा. पुष्प कंडेलले नेतृत्व गरेको टुरिजम डेभ्लपमेन्ट बैंक गाभिएपछि मेगा बैंकमा नेकपा निकटहरुको बाहुल्यता अरु बढेर संस्थापक शेयरधनीको संख्या दुई हजार पाँच सय पुगेको छ ।
मेगा बैंकले साउन ७ गते मंगलबार नवौं बार्षिकोत्सव मनाउँन आफ्नो केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले सरकारको मर्जर नीतिलाई आत्मसाथ गर्दै मर्जर समिति बनाईसकेको बताए ।
उनले भने "मर्जरलाई हामीले नजिकबाट नियालीरहेका छौ, सोही अनुरुप मर्जर कमिटी बनिसकेको छ । मेगा बैंकले बित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विस्वासलाई कायम राख्न हामीसँग सामिप्यता राख्ने र सोच मिल्ने बित्तीय संस्थाहरुलाई आबद्ध गर्दै अझ सशक्त र ब्यवस्थित ढ्रगले अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।"
अध्यक्ष शाहले मर्जरपछि बन्ने बैंकमा धेरै संचालकहरु हुनुपर्ने ब्यवस्था गरे मर्जर प्रक्रिया सहज हुने बताए ।
बैंकले खुद नाफा नौ बर्षमा ७० गुणाले बढाएको दावी प्रस्तुत गरेको छ ।
कार्यक्रममा अध्यक्ष शाहले नौ बर्षको अवधिमा राज्यलाई कर बृद्धि ७८ गुणा, खुद नाफा ७० गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा बिस्तार १५ गुणा, रोजगारी सिर्जना ११ गुणा, शाखा बिस्तार ८ गुणा र एटीएम संजालको विस्तार ६ गुणाले बढाएको दावी प्रस्तुत गरे ।
शाहले जुन उद्धेश्यका साथ बैंक स्थापना गरिएको हो, त्यो उद्धेश्य हासिल भईसकेको दावी पनि गरे ।
प्रमुख कार्यकारी अनुपमा खुँजेलीले मेगा बैंकले लगानीको उचित प्रतिफल हासिल गर्न सफल भएको भन्दै एक दशकमा समकालीन बैंकहरुको प्रतिस्पर्धामा खरो उत्रिन सक्नु पनि ठूलो सफलता भएको बताईन ।