अघिल्लो बर्ष ९२ करोड खुद नाफा कमाएको चिलिमेले गत बर्ष ७१ करोडमात्र खुद नाफा कमाउँन सकेको छ । विद्युत बिक्रीबाट अघिल्लो बर्षको भन्दा पाँच करोडले बढी अर्थात एक अर्ब १७ करोड आम्दानी गर्न, बैंक निक्षेपबाट ब्याज आम्दानी बढाउँन र विद्युत आयोजनाको संचालन खर्च घटाउँन सकिए पनि सरकारलाई तिर्नुपर्ने रोयल्टी दुई करोड ४९ लाखबाट १२ करोड ५१ लाख पुग्दा र सरकारलाई तिर्ने कर १२ करोडबाट १९ करोड नाघ्दा चिलिमेको खुद नाफामा संकुचन देखिएको हो । आयोजनाले १५ बर्षसम्म रोयल्टी र करमा पाएको छुट समाप्त हुँदा चिलिमेलाई मार परेको हो ।
चार अर्ब ७५ करोड चुक्ता पूँजी र चार अर्ब ५५ करोड शेयरधनी कोष रहेको चिलिमे रसुवागढी, मध्य भोटेकोशी, सान्जेन, माथिल्लो सान्जेन गरी २७० मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ ।
चिलिमेको प्रतिशेयर आम्दानी २३ रुपैयाँबाट १५ रुपैयाँमा झर्दा शेयरको मूल्य आम्दानी अनुपात ३३.७४ गुणाबाट ३४.६३ गुणा पुगेको छ । उसको प्रतिशेयर नेटवर्थ पनि २२५ रुपैयाबाट १९५ रुपैयाँमा झरेको छ । गत वर्ष २० प्रतिशत बोनस शेयर समेत वितरण गरी पूँजी बढाएको तर खुद नाफा उल्टै घटेकोले प्रतिशेयर आम्दानी लगायतका सूचकमा नकारात्मक प्रभाव परेको छ ।
उसले निर्माण गरेका २७० मेगावाटका चार वटा आयोजनाहरुले विद्युत बिक्री थालेपछि आम्दानीमा फड्को मार्ने आशा गरिएको छ । त्यसैगरी ४२० मेगावाटको बुढढीगण्डकी आयोजना, १६० मेगावाटको सेतीनदी आयोजना र ६० मेगावाटको चुमचेत स्यार आयोजना निर्माणमा जुट्नुपर्ने र त्यसका लागि पूँजीको जोहो गर्नुपर्ने बाध्यता चिलिमेलाई छ । तत्कालको प्रतिफल भन्दा पनि दीर्घकालीन लगानीका लागि भने चिलिमे उपयुक्त कम्पनी हो ।