विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले वृद्धि, चुहावट १५.३२ प्रतिशतमा झर्यो

Aug 13, 2019 05:08 PM Merolagani

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/०७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष ०७४/०७५ मा २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले यसलाई ४ अर्ब ३० करोड अर्थात १४९ प्रतिशतले बढाएर ७ अर्ब २० करोड रुपैयाँ पुर्याएको हो।

विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट प्राधिकरण गत आवमा पनि खुद नाफा कमाउन सफल भएको हो ।

आव ०७२/०७३मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि तीन वर्षदेखि निरन्तर खुद नाफामा छ । नाफा बढ्दै गएको छ ।

कार्यकारी निर्देशक नियुक्त भएको पहिलो वर्ष घिसिङले प्राधिकरणलाई १ अर्ब ५० करोड, दोस्रो वर्ष २ अर्ब ९० र तेस्रो वर्ष ७ अर्ब २० करोड रुपैयाँ खुद नाफामा लगेका हुन्। उनी २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवं प्राधिकरण सञ्चालक  समितिका अध्यक्ष वर्षमान पुनले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी प्राधिकरणको एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन्। उनले विद्युत् चुहावट नियन्त्रण, प्रसारण तथा वितरण लाइनको निर्माण, वित्तीय सुधार लगायतमा प्राधिकरणको राम्रो प्रगति भएको बताए।

‘सरोकारवालासँगको व्यापक छलफलपछि नयाँ ऐनमार्फत प्राधिकरणलाई अझै प्रतिश्पर्धी संस्थाको रुपमा अगाडि बढाउने छौं’मन्त्री पुनले भने । ‘एक वर्षभित्र प्रणालीमा थपिने एक हजार मेगावाट विद्युत खपत गर्नु हाम्रो लागि चुनौतीपूर्ण छ, ऊर्जाका पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसजस्ता अन्य स्रोतलाई विस्थापित गर्ने लगायतका योजनाका साथ त्यो एक हजार मेगावाट विद्युत् मुलुकभित्रै खपत गर्ने वातावरण बनाउँदैछौं ।’

यसका लागि मुलुकभर विद्युतीय गाडी संचालनका लागि चार्जिङ स्टेसनको स्थापना गर्न मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको, घरघरमा विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका नीति सरकारको रहेको मन्त्री पुनले बताए । उनले थपे,‘नेपालगंज, भैरहवाजस्ता औद्योगिक नगरमा तत्काल २ सय मेगावाटभन्दा बढी विद्युत्को माग छ तर वितरण प्रणालीको संरचनागत समस्याका कारण दिन सकिरहेका छैनौ, खपत बढाउने र उत्पादन बचत भयो भने भारतीय तथा क्षेत्रीय विद्युत बजारमा सजिलै पढाउन सक्छौं र पढाइरहेका पनि छौं ।’

  • विद्युत चुहावट १५.३२ प्रतिशतमा झर्यो

गत आर्थिक वर्षमा विद्युत चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आथिर्क बर्ष ०७४÷७५मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत  आथिर्क बर्ष ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएकाे छ। 

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको जनाएकाे छ । कार्यकारी निर्देशक घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा इतिहासमै काम बनाउन सफल भएको बताए ।
 ‘वितरणतर्फको चुहावट ११ प्रतिशत र प्राविधिकतर्फको करिब ४ प्रतिशत चुहावट छ, विद्युत चुहावटमा दक्षीण एसियाकाको मापदण्डमा पुगेका छौं, अब धेरै प्राविधिक चुहावटमा ध्यान केन्द्रीत गर्नु पर्ने छ तर यसका लागि थप लगानी आवश्यक पर्छ ।’ घिसिङले भने ।

प्राधिकरणले गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लागयतका काम अभियानकै रुपमा चलाइ रहेको वताएकाे छ ।

मिटर लिन प्रोत्साहित गर्न सुकुम्वासीलाई पनि मीटर सहज रुपमा दिने, स्थानीय तहको सिफारिस विनानै मिटर जडान गर्ने, अति विपन्नहरुलाई निशुल्क मिटर वितरण गरिरहेको जनाएकाे छ ।

गत आवसम्ममा ग्रीडमा आवद्ध भै विद्युत उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत अर्थात ४५ लाख पुगेको छ । यो आव ०७४/०७५ को तुलनामा करिब १० प्रतिशतले वृद्धि हो । गत आवमा ७ अर्ब ५५ करोड युनिट ऊर्जा प्रणालीमा उपलब्ध भएको थियो । प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, निजी ऊर्जा उत्पादकहरुको २ अर्ब १९ करोड र भारतबाट २ अर्ब ८१ करोड युनिट आयात गरिएको थियो । प्रणालीमा प्राधिकरणको ३४, निजी क्षेत्रको २९ र आयतको ३७ हिस्सा प्रतिशत रहेको छ । भारतर्फ विद्युत निर्यात ३ करोड ४७ लाख युनिट रहेको छ । निजी क्षेत्रको विद्युत किन्नका लागि १४ अर्ब १३ करोड र आयाततर्फ २३ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ । ३२ करोड रुपैयाँको विद्युत निर्यात भएको छ ।

गत आवमा ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । त्यसमध्ये ६०६ सर्किट किलोमिटर संचालनमा (चार्ज) आएको छ । ३३ केभी र सोभन्दा मुनिका करिब ९ हजार ७२२ सर्किट किमी वितरण लाइन निर्माण सम्पन्न भई चार्ज भएका छन् । प्रसारण तथा वितरण गरी ४० सबस्टेसन नयाँ विस्तार एवं स्तरोन्नति गरिएको छ । करिब ९२० एमभीए क्षमता थप भएको छ । ६ हजार ५८१ वितरण ट्रान्सफर्मर थप गरिएको छ ।

लामो समयदेखि निर्माण सम्पन्न नभएर रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र काबेली करिडोर प्रसारण लाइन सहित ३ आयोजना, वितरणतर्फ ३४ गरी ३८ आयोजना सम्पन्न भएका छन् । १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरि पुनः ठेक्का प्रक्रिया सुरु गरिएको छ ।

देशभरी रहेका थ्री फेज मिटर तथा टिओडी मिटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्यको थालनी भएको भएको छ । काठमाडौंबाट सिंगल फेज मिटरलाई स्मार्ट सिंगल फेज मिटरले प्रतिस्थापन गर्न प्रारम्भिक कार्य सुरु भैसकेको छ । काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियानअन्तर्गत भूमिगत तार विद्ध्याउन ठेकेदार छनौट भै प्रारम्भिक तयारी पूरा भइसकेको छ।


comments powered by Disqus

नेपाल फाइनान्स ५ वर्षपछि समस्याग्रस्त अवस्थाबाट फकुवा

Dec 11, 2019 09:00 AM

नेपाल फाइनान्स (NFS) लाई नेपाल राष्ट्र बैंकले करिब ५ वर्षपछि समस्याग्रस्त अवस्थाबाट फकुवा गरेको छ। राष्ट्र बैंकको मंसिर २० गते सम्पन्न सञ्चालक समितिको बैठकले फाइनान्सलाई समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय गरेको हो।