चार्टर्डको गत आवमा खुद नाफा करिब १४ प्रतिशतले बढेर दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
मुनाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा ३ रुपैयाँ ८२ पैसाले सुधार ३१ रुपैयाँ १५ पैसा पुगेको छ।
चार्टर्ड बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७५ अर्ब ७३ करोड निक्षेप संकलन गरी ५३ अर्ब ११ करोड कर्जा लगानीबाट ३ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
बैंकको सञ्चालन नाफा ३ अर्ब ४८ करोड ७ लाख छ । समीक्षा अवधिमा निक्षेप १३, कर्जा १९, खुद ब्याज आम्दानी ६.८३, र सञ्चालन नाफा १५.३५ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा बैंकको कोषको लागत बढेको छ भने निक्षेप संकलन र कर्जा विस्तारको वृद्धिदर पनि औसत नै देखिन्छ। वाणिज्य बैंकहरुमा उच्च पूँजीकोष भएको बैंकमा पर्ने यस बैंकको पूँजी कोषमा पनि गत आवमा संकुचन आएको छ । बैंकले कर्मचारी खर्च र अन्य खर्च नियन्त्रणमा नै देखिन्छ। खराब कर्जा अनुपात र आधार ब्याजदर घट्नु सकारात्मक पक्ष हुन्।
यद्यपी सीमित सहरहरुमा मात्र आफ्नो बैंकको शाखा विस्तार गरेको यस बैंकले अन्य वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धामा उत्रन नयाँ रणनीति अंगिकार गर्न आवश्यक देखिन्छ।
बैंकको जगेडा कोषमा ५ अर्ब १७ करोड २८ लाख तथा शेयरधनी कोषमा एक अर्ब ८० करोड ३४ लाख सञ्चित छ । यस अवधिमा बैंकले जगेडा १४.६७ र शेयरधनी कोष २८ प्रतिशतले विस्तार गरेको हो।
बैंकको पूँजी कोष अनुपात १९.९० प्रतिशत, सिसिडी अनुपात ७३.१३, कोषको लागत ५.५ र आधार ब्याजदर ७.६३ प्रतिशतमा रहेको छ । यसैगरि प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ०८ पैसा, निष्कृय कर्जा अनुपात ०.१५ र मूल्य आम्दानी अनुपात २१.९० गुणा छ ।