:बम्बई स्टक एक्सचेन्जको भवन र प्रधानमन्त्री मोदी
मोदीको दोस्रो कार्यकाल सुरुवातको चरणमा नै पहिलो पटक भारतीय शेयर बजारमा बीएसई सेन्सेक्सले ४० हजार र निफ्टीले १२ हजारको आँकडा पार गरेका थिए । मोदीको दोस्रो कार्यकालका लागि भएको चुनावमा अन्तिम नतिजा सार्वजनिक हुनुभन्दा पहिले नै मोदीले जित्ने संकेतसँगै भारतीय शेयर बजार सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो ।
त्यहाँको शेयर बजारमा उछाल आएर सर्वाधिक उचाई कायम गरेपछि नियमनकारी निकाय सेवीका अधिकारीहरुले केक काटेर खुशियाली बाँडेका थिए ।
मोदीको पहिलो कार्यकालदेखि दोस्रो कार्यकाल सुरुवात हुदाँको समयसम्म बीएसई सेन्सेक्स झण्डै १५ हजार अंकले बढेको छ । विगत ५ वर्षको अवधिमा भारतीय शेयर बजारले नयाँ उचाई कायम गरेको छ । मोदीले लिएको गैरआवासीय भारतीय र प्रत्यक्ष विदेशी लगानी भित्र्याउने खालको नीतिले शेयर बजारलाई आधार प्रदान गरेको बताईन्छ ।
मोदी सन् २०१४ मा पहिलो कार्यकालका लागि सपथ लिएपछिको ५ वर्षमा शेयर बजार परिसूचक सेन्सेक्स ६१ प्रतिशतले बढेको छ । २६ मे २०१४ देखि २३ मे २०१९ सम्म शेयर बजारको पूँजीकरण ७५० खर्ब (७५ लाख करोड) ले बढेर १५ सय खर्ब (१५०.२५ लाख करोड) भारु पुगेको छ ।
सन् २०१४ मा मोदी प्रधानमन्त्री हुदाँ ६ महिनाको अवधिमा शेयर बजारमा १५ प्रतिशतको वृद्धि देखिएको थियो ।
२०१४ देखि २०१९ को सुरुवातसम्ममा सेन्सेक्सले वार्षिक ९.३७ प्रतिशत प्रतिफल दिएको छ । २०१३ देखि २०१४ मा सुस्त रहेको भारतीय शेयर बजार मोदी सरकारको आगमनसँगै तीव्र देखिएको छ । यस समयमा सेन्सेक्सले ५६ प्रतिशत र निफ्टीले ५८ प्रतिशत बढोत्तरी भएको छ ।
मोदी सरकारमा आएसँगै शेयर बजारमा घरेलु लगानीकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको थियो भने सर्बसाधारण लगानीकर्ताहरुले म्यूचुअल फण्ड र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसका माध्यमबाट पूँजी बजारमा पैसा लगाएका थिए ।
५ वर्षको अवधिमा म्यूचुअल फण्ड र बीमा कम्पनीमा लगानीकर्ताहरुले ३० खर्ब ८५ अर्ब भारु बराबरको लगानी गरेका छन् । जबकि विदेशी फण्डहरुले बजारमा २० खर्ब ११ अर्ब भारु बराबरको लागनी गरेका छन् । शेयरमा घरेलु लगानीकर्ताको रुची बढेको र संस्थागत लगानीकर्ताहरुको बढ्दो बाहुल्यताका कारण बजारलाई उच्च बिन्दुमा पुर्याएको बताइएको छ । जसका कारण नोटबन्दी र जीएसटीजस्ता समस्याका बाबजुद पनि भारतीय बजार माथि उठ्न सफल भएको हो ।
उक्त पाँच वर्षको अवधिमा बीसईमा मात्र करिब ८ सय कम्पनीका शेयरले लगानीकर्ताहरुको सम्पत्ति दोब्बर बनाउन सफल भएका छन् ।
एक रिपोर्टका अनुसार, यहीँ गतिमा भारतीय शेयर बजारको वृद्धि हुदैँ जाने हो भने २०२० सम्म सेन्सेक्सले ४५००० को आँकडा पार गर्नसक्ने र निफ्टी १३५००० को बिन्दुमा पुग्नसक्ने भारतीय बजार विश्लेषकहरुले बताएका छन् ।
२०१४ को मे २६ मा साधना निट्रो केमिकल लिमिटेडको शेयर मूल्य ४.२ भारु रहेकोमा सन् २०१९ को मे १७ मा उक्त शेयरको मूल्यमा ५ हजार ६०६ प्रतिशतले वृद्धि भई २३८.५ पुगेको पाइन्छ । त्यसैगरी अन्य कयौँ कम्पनीको शेयर मूल्य एक हजारदेखि ४ हजार प्रतिशतसम्म बढेको पाइएको छ । यसलाई शेयर बजारमा मोदी सरकारको राम्रै प्रभाव बुझ्न सकिन्छ ।
यसैगरी हिन्दुस्तान यूनिलिभर एचडीएफसी बैंक, मारुती सुजुकी जस्ता कम्पनीको शेयर मूल्य क्रमशः २१०, १९६, १८७ प्रतिशतले बढेको पाइन्छ ।
सन् २०१४ को मे २६ मा मोदीले सपथ लिदाँको दिन सेन्सेक्स २५ हजारको बिन्दुका रहेको थियो । अगस्ट १४ २०१९ मा सेन्सेक्स ३७ हजार ४ सयको बिन्दुमा रहेको छ ।
एजेन्सीहरुको सहयोगमा