नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावला सुनको मूल्य ७१ हजार ३०० रुपैयाँमा काराबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सुनको मुल्य बढेर ७१ हजार ५०० रुपैयाँसम्म पुगेको थियो ।
त्यसैगरी सुनको मूल्यय संगसंगै चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। बुधबार चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले बढेर ८३० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो। सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध मुख्य हो। सुनको मूल्य बढ्दै जाँदा कारोबारमा भने कमी आएको व्यवसायी बताउँछन्।
सुनको मूल्य बढेसँगै सुन खरिद गर्ने भन्दा बिक्री गर्नेहरुको सँख्या बढ्दै गएको व्यवसायीहरुको भनाई छ। डलरको भाउ बढ्दा पनि सुनको भाउ बढ्न सहयोग पुगेको हो ।
डलरको भाउमा समेत निरन्तर वृद्धि
केहि दिनदेखि डलरको भाउ समेत बढ्दै गएको छ । भदौ ४ गते डलरको भाउ ४३ पैसाले बढेर ११५ रुपैयाँ ३ पैसा पुगेको छ। विश्व बजारमा डलरको मूल्य बढ्न थालेपछि नेपालीहरुले महंगोमा डलर किन्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरीकी डलर खरिद दर ११४ रुपैयाँ ४३ पैसा छ भने बिक्री मुल्य ११५ रुपैयाँ ३ पैसा छ । गत तीन सातामा डलरको भाउ ४ रुपैयाँ ६६ पैसाले बढेको छ।
डलरको भाउ बढ्दै जाँदा विदेशबाट नेपाल पैसा पठाउनेहरुको रेमिट्यान्स बढेको देखिए पनि यसले देशको व्यापार घाटा भने अझै बढाउँछ।