राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निराैलाले नेप्सेमा रहेको राष्ट्र बैंकको कूल शेयर ३४.६० प्रतिशत मध्ये तीन संस्थागत लगानीकर्ताबाट करिब २० प्रतिशत शेयरका लागि मात्र आवेदन परेको जानकारी दिए।
कुन संस्थाले कति मुल्यमा कति परिमाण कबुल गरेर बोलपत्र पेश गरेका थिए भन्नेबारे भने उनले बताउन चाहेनन्।
यससँगै नेप्सेमा अब कर्मचारी सञ्चकोष सहित दुई वाणिज्य बैंकहरु लक्ष्मी बैंक र प्रभु बैंक शेयरधनी बनेका छन्।
राष्ट्र बैंकले १७ लाख २९ हजार ९८९ कित्ता शेयरमा बोलपत्र आह्वान गरेकोमा १० लाख कित्ता हाराहारीमा मात्र आवेदन परेको हो। ७ लाख बढी कित्ता शेयर भने अवितरित भएको छ। एक महिना अवधि दिएर सार्वजनिक बोलपत्र आह्वान गरेपनि सबै शेयर बिक्री हुन नसकेको हो।
केन्द्रीय बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा रहेको ३४.६० प्रतिशत बराबरको १७ लाख २९ हजार ९८९ कित्ता शेयरका लागि असार ३१ गतेदेखि भदौ २ गतेसम्म बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको थियो।
बोलपत्र मार्फत शेयर किन्ने संस्थाबाट नेप्सेको चुक्ता पूँजीको पाँच प्रतिशत देखि १० प्रतिशत शेयर न्यूनतम १०३२ रूपैयाँ वा सो भन्दा बढी बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र आह्वान गरिएको थियो।
- अवितरित शेयर बारे बाेर्ड बैठकले निर्णय गर्ने
प्रवक्ता निराैलाका अनुसार लिलामीमा ल्याइएको अवितरित शेयर फेरि कहिले लिलामीमा ल्याउने सम्बन्धमा राष्ट्र बैंककाे बाेर्ड बैठकले छिट्टै निर्णय गर्ने मेरोलगानीलाई जानकारी दिए। उनले राष्ट्र बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा रहेको सबै शेयर बिक्री गर्ने समेत बताए।
राष्ट्र बैंकले १०० रूपैयाँ अंकित दरका लगानी गरेको नेप्सेको शेयरलाई ९३२ रूपैयाँ प्रिमियम सहित न्यूनतम १०३२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा लिलामी बिक्रीमा ल्याएको थियो। हाल बिक्री भएको शेयरबाट राष्ट्र बैंकले कम्तिमा ९३ करोड २० लाख प्रिमियम संकलन गरेको छ भने सबै शेयर बेच्दा राष्ट्र बैंकले कम्तिमा एक अर्ब ७१ करोड ६१ लाख प्रिमियम संकलन गर्नेछ।
पचास करोड रूपैयाँ चुक्ता पूँजी रहेको नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायी ब्रोकर को ०.६२ प्रतिशत शेयर स्वामित्व रहेको छ।