धितोपत्र बोर्डको सञ्चालकमा अध्यक्ष सहित ५ जना रहने
अर्थमन्त्रालयले धितोपत्र बोर्डको सञ्चालक समितिमा ५ जना सदस्य रहने गरी संशोधन विधेयक संसदमा दर्ता गराएको छ। मन्त्रालयले चार्टर्ड एकाउन्टेन्ट्स संस्था र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिलाई बोर्डको सञ्चालक समितिबाट हटाउने प्रस्ताव गरेको छ।
हालको व्यवस्था अनुसार धितोपत्र बोर्डमा धितोपत्र बोर्डको अध्यक्ष सहित अर्थ मन्त्रालयको सहसचिव, कानुन मन्त्रालयको सहसचिव, उद्योग वाणिज्य महासंघको उपाध्यक्ष, आइक्यानको उपाध्यक्ष, राष्ट्र बैंकको कार्यकारी निर्देशक र स्वतन्त्र सदस्यका रूपमा विज्ञ गरि सात सदस्य रहने व्यवस्था रहेको छ। अहिले सात सदस्यीय सञ्चालक समिति रहेकोमा प्रस्तावित ऐनमा त्यसलाई घटाएर पाँच सदस्यको बनाउन प्रस्ताव गरिएको हो ।
धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरुको वित्तीय विवरण चार्टर्ड एकाउन्टेन्टहरुले नै अडिट गर्ने र उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु शेयर कारोबार हुने संस्थामा आवद्ध हुनसक्ने तथा उनीहरु माफर्त सञ्चालित कम्पनी नै शेयर सूचीकृत हुने हुँदा समितिबाट हटाउन लागेको हो ।
हाल बोर्डको सञ्चालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघ र चार्टर्ड एकाउन्टेन्ट्स सस्थाको उपाध्यक्ष बोर्डको रहने व्यवस्था रहेको छ ।
त्यसैगरी संसदमा प्रस्तावित उक्त विधेयकमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त केन्द्रीय निक्षेप सेवा सञ्चालन सम्बन्धी नवीकरण आर्थिक वर्ष समाप्त हुने भन्दा १५ दिन अगावै गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
दफा खारेजी
संसदमा प्रस्तुत संशोधित विधेयकको दफा ३० ले मुल ऐनको दफा ६४, ६५ र ६९ खारेज गर्ने प्रस्ताव गरेको छ ।
खारेजको प्रस्ताव गरिएको दफा ६४ मा प्रतिनिधि नतोकी धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र नदिइने, दफा ६५ आधिकारिक प्रतिनिधि र दफा ६९ आधिकारिक प्रतिनिधिको अभिलेखको व्यवस्था गरिएको थियो।
धितोपत्र खरिद बिक्री अनलाईन प्रणाली मार्फत हुने थालेकाले परम्परागत व्यवस्थामा रहेको धितोपत्र व्यवसाय गर्न प्रतिनिधि अब आवश्यक नरहेकाले खारेजीको प्रस्ताव राखिएको धितोपत्र बोर्डको भनाई छ ।