सूचकमा निरन्तर दबाब पर्दा ठूलो कित्ता शेयर धारण गरेका व्यक्तिहरुको बिक्रीमा राखिएको मूल्यमा शेयर बिक्री नै हुन छाडेको छ भने सूचक अझ घट्ने त्रासले साना कित्ता धारण गर्ने लगानीकर्ताले घट्दो मूल्यमा नै शेयर बिक्रीमा राख्दा ठूला कारोबारीको शेयर बिक्रीमा कठीनाई देखिन थालेको हो।
बजारमा सक्रिय रुपमा कारोबार गरिरहेका एक लगानीकर्ताले भने:- 'ठूलो कित्तामा शेयर बिक्रीमा राख्दा शेयरमूल्य उच्च घटेर मात्र बिक्री हुने अवस्थाले ठूला कारोबारीहरुको शेयर अहिलेको प्यानिक बजारमा बिक्री हुने अवस्था रहेको छैन। तोकिएको मूल्यमा धेरै कित्ता बिक्री नहुने र ठूला परिमाणमा शेयर बिक्रीमा आउँदा बिक्री चाप बढेर लगानीकर्ताको मनोविज्ञान थप कमजोर हुने हुँदा ठूला कित्ता धारण गरेका लगानीकर्ताले चाहेर पनि आफ्नो शेयर बिक्री गर्न सक्ने अवस्था छैन।'
गत साता पाँच कारोबार नै घटेको नेप्से सूचक यस साताको पहिलो दिन भदौ २९ गते आइतबार पनि शेयर बजारमा १७.८७ अंकको गिरावट देखिको छ। दोहोरो अंकले ओरालो लागेपछि यस दिन नेप्से ११४०.०१ बिन्दुमा ओर्लिएको छ। गत सातामा पनि पाँचैदिन सूचक घट्दा नेप्से ३३.१९ अंकले तल झरेको थियो।
सूचकमा उच्च गिरावटसँगै आइतबार कारोबार कित्ता र रकम पनि घटेको छ। कारोबार रकम अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ८ करोड ८० लाख रुपैयाँले घटेर २८ करोड ८१ लाख रुपैयाँमा झरेको छ भने कारोबार कित्ता समेत ४ लाख ६६ हजार कित्ता बढीले घटेको छ। आइतबार १६२ कम्पनीका १० लाख ९० हजार २१८ कित्ता शेयर किनेबेच भए। बिहीबार १५ लाख ५६ हजार ७९० कित्ता शेयर ३७ करोड ६१ लाख रुपैयाँको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएका ११ उपसमूहका सबै सूचक ऋणात्मक देखिएका छन्। जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ६६.०८ अंकले घटेको छ। यस्तै निर्जीवन बीमा ५८.२५, उत्पादन तथा प्रशोधन २७.९३, होटल्सको २४.२४ र बाणिज्य बैंकको सूचक १९.६९ अंकले ओरालो लागेको छ।
आइतबार सबैभन्दा धेरै कारोबार भएको नेपाल लाईफ इन्स्योरेन्सको १ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ। यस्तै नेपाल बैंकको १ करोड ७४ लाख, सानिमा बैंकको १ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बाँकी कुनैपनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेनन्।
यस दिन रिलायन्स फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ३.५१ प्रतिशतले बढेको छ। यस्तै सिन्धु विकास बैंकको ३.२३ र नबिल इक्वीटी फण्डको इकाई मूल्य २ प्रतिशतले सुधार भएको छ।
आइतबारको कारोबारबाट गणपति माइक्रोफाइनान्सको शेयरधनीहरुले सबै भन्दा धेरै ८.३८ प्रतिशतले गुमाएका छन् । यस्तै हिमालयन उर्जाको शेयरमूल्य ६.०८ प्रतिशले घटेको छ। हिमालयन जनरल इन्स्योरेन्स, दिब्यश्वरी हाइड्रोपावर, स्ट्यान्डर्ड चार्टर्ड बैंक, आँधिखोला लघुवित्त र वल्ड मर्चेन्ट फाइनान्सको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ।